म्याद गुज्रिएका औषधि बिक्री गर्ने वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द

म्याद गुज्रिएका औषधि बिक्री गर्ने वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा कानून विपरीत महंगोमा औषधि बिक्री वितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गरिएको छ।

वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजी स्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महँगोमा विरामीलाई बिक्री वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो।

विरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महँगो औषधि किनाउने गरेको गुनासो आएपछि स्वास्थ्य मन्त्री बस्नेतले औषधि व्यवस्था विभागका विज्ञहरू र मन्त्रालयका अधिकारी लिएर बिहीबार आकस्मिक रुपमा वीर अस्पतालले सञ्चालन गरेका अस्पताल भित्र रहेका फार्मेसी र अस्पताल बाहिर निजी स्तरमा सञ्चालनमा रहेका फार्मेसीहरूको अनुगमन गरेका थिए।

स्वास्थ्य मन्त्रालयका अलावा सचिव डा. विकाश देवकोटा, डा. दीपेन्द्ररमण सिंह, डा.कृष्ण पौडेल र औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालको नेतृत्वमा सिनियर फर्मासिस्टहरू, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहितको विज्ञ टोली वीर अस्पताल पुगेको थियो।

अनुगमनमा स्वास्थ्य मन्त्री बस्नेत आफै सहभागी भएका थिए। वीर लगायत अधिकांश सरकारी अस्पतालहरूले आफूले सञ्चालन गरेका फार्मेसीहरूमा विरामीलाई चाहिने औषधि उपलब्ध नगराएर बाहिरका निजी फार्मेसीसँगको कमिसनको मिलेमतोमा महंगोमा औषधि किनाउने गरेको गुनासो आए पनि आकस्मिक निरीक्षण गर्नु परेको मन्त्री बस्नेतले बताए।

उनले भने, ‘वीर लगायतका सरकारी अस्पतालहरूका फार्मेसीमा विरामीलाई आवश्यक पर्ने औषधि नराख्नुको कारण पत्ता लगाएर समाधान खोज्न अनुगमन गरिएको हो। जनतालाई अस्पतालकै फार्मेर्सीबाट न्यूनतम् मूल्यमा सहज रुपमा औषधि उपलब्ध गराउनु पर्छ। कसैको मिलेमतो र कमिसनको चक्करमा विरामीले महंगोमा औषधि किन्नु पर्ने बाध्यता हटाउनु पर्छ।’

अनुगमनको रिपोर्ट आएपछि वीर लगायत देशभरिकै सरकारी अस्पतालहरूमा सहज रुपमा अस्पतालकै फार्मेसीबाट औषधि उपलब्ध गराइने व्यवस्था गर्ने मन्त्री बस्नेतले बताए।

अनुगमनका क्रममा वीर अस्पताल भित्र सञ्चालनमा रहेका तीन वटै फार्मेसीमा आवश्यक औषधि फेला नपरेको सचिव डा. विकाश देवकोटाले बताए।

भित्रै उपलब्ध हुने औषधिको लागि समेत बाहिरबाट किनेर ल्याउनु पर्ने बाध्यता रहेको विरामीहरूले गुनासो गरेका छन्।

सत्यम र उपकार फर्माले औषधि व्यवस्था विभागमा दर्ता नै नभएका औषधि विक्री बितरण गरिरहेको, म्याद गुज्रेका औषधि बिक्री वितरण गरिरहेको र औषधिको भण्डारण पनि सही ढंगले नगरेको पाइएपछि दुई फार्मेसी बन्द गर्ने निर्णय गरेको  औषधि व्यवस्था विभागका महानिर्देशक ढकालले जानकारी दिए।

३ फागुन, २०८०, १९:५४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।