बुटवलका २३ वटा चोकहरूमा हाइ मास्ट लाइट जडान गरिने

बुटवलका २३ वटा चोकहरूमा हाइ मास्ट लाइट जडान गरिने

बुटवल : बुटवल उपमहानगरपालिकाले नगर भित्रका २३ वटा चोकचौराहामा उच्च क्षमताका हाइ मास्ट लाइट जडान गर्ने भएको छ।

६५ औं स्थापना दिवसको अवसर पारेर बुधबार नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको नयाँ बसपार्क र बसपार्क नजिकैको मुख्य सडकमा हाइ मास्ट लाइट निर्माणस्थलमा शिलान्यास तथा बसपार्क सरसफाइ कार्यक्रमको शुभारम्भ गरे।

हाइ मास्ट लाइट शिलान्यास गर्दै प्रमुख पाण्डेयले उज्यालो बुटवल कार्यक्रम अन्तर्गत २३ वटा स्थानमा हाइ मास्ट लाइट जडान गर्ने बताए। उनले बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त सहर बनाउने योजनाका साथ मुख्य सडकमा सौन्दर्यीकरण, हरियाली र उच्च क्षमताका बत्ती जडान गर्ने काम अगाडि बढेको बताए।

उनले बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम गरिरहेको बताए।

बसपार्कलाई सुविधासम्पन्न बनाउनका लागि स्नानगृहसहितको शौचालय निर्माण भइरहेको, उच्च क्षमताको वाइफाइ जडान भएको र हाइ मास्ट लाइट जडान हुने क्रममा रहेको बताउँदै नगर प्रमुख पाण्डेयले छिटै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन सञ्चालन हुने बताए।

बुटवल उपमहानगरपालिकाका सहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान हुनेछन्। जसअनुसार योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पुरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान हुनेछन्।

वीपी चोक, जेसिज चोक, तिनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान हुनेछन्। त्यस्तै, नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान हुने श्रेष्ठले बताए।

उनका अनुसार टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रूपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइ मास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएको छ।

२ फागुन, २०८०, १८:००:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।