एनएसजेएफ स्पोर्ट्स अवार्डमा दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी, क्रिकेटर देव वर्ष उत्कृष्ट युवा खेलाडी

एनएसजेएफ स्पोर्ट्स अवार्डमा दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी, क्रिकेटर देव वर्ष उत्कृष्ट युवा खेलाडी

काठमाडौँ : नेपाल खेलकुद पत्रकार मञ्चको २० औँ संस्करणको ‘स्पोर्ट्स अवार्ड २०७९’ मा एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई वर्ष खेलाडी घोषित भए। आइतबार आयोजित कार्यक्रममा दीपक पुरुषमा र राजपुरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

आयोजकले यस संस्करणदेखि शीर्ष तीनबाट छनोट गर्ने पद्धति सुरु गरेको थियो। यो अवार्डमा क्रिकेटर रोहितकुमार पौडेल र आसिफ शेख समेत नोमिनेसनमा थिए।

महिला सूचीमा एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसार मल्ल नोमिनेसनमा परेका थिए। दीपकले १६ औँ एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण जितेका थिए। राजपुरा पनि सोही च्याम्पियनसिपमा दुई रजत पदकको विजेता भएकी थिइन्।

टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले ‘पिपुल्स च्वाइस अवार्ड’ जितिन्। सिक्काले सर्वाधिक ४४.८ प्रतिशत मत पाएकी थिइन्। यस अवार्डको मनोनयनमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ,  भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ समेत थिए।

वर्ष उत्कृष्ट प्रशिक्षक एथलेटिक्सका प्रशिक्षक चन्द्र गुरुङ घोषित भए। गुरुङको प्रशिक्षणमा १६ औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो।

क्रिकेटर देव खनाल युवा वर्ष खेलाडी घोषित भए। उनले २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपाल टिम छनोट गराउन सफल भएका कप्तान हुन्। देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुंखे सम्मानित भइन्। उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छिन्।

लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे। खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन्।

स्पेसल अवार्डबाट पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित सम्मानित भए। उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन्। सियन स्पोटर्स जर्नालिस्ट अवार्ड हङकङका रेमण्ड चुलाईले पाए। 

२८ माघ, २०८०, २३:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।