पहिचानवादीसँग सकारात्मक वार्ता भएको छ, अब कुनै सांसद डराएर घरमा बस्नुपर्दैन : मुख्यमन्त्री कार्की

पहिचानवादीसँग सकारात्मक वार्ता भएको छ, अब कुनै सांसद डराएर घरमा बस्नुपर्दैन : मुख्यमन्त्री कार्की
फाइल फोटो

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहिचानवादी पक्षसँग सकारात्मक वार्ता भएको हुँदा अब स्थिति सामान्य हुने बताएका छन्।

शनिबार प्रजातान्त्रिक विचार समाज कोशी प्रदेशको दोस्रो अधिवेशनको धरानमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानवादीसँग सहज रूपमा ५ बुँदे सहमति कायम भएको भन्दै अब कुनै सांसदले डराएर घरमा बस्नु नपर्ने बताए।

मुख्यमन्त्री कार्कीले व्यक्तिगत लाभ हासिल गर्न नसक्नेहरूले कोशी सरकारको आलोचना गरेको जिकिर गरेका छन्।

उनले भने, ‘राजनीतिक नियुक्ति नपाउँदा र सरकारमा आफ्नो अनुहार नदेखेपछि विकास भएन भन्न मिल्छ? विकासलाई व्यक्तिको स्वार्थसँग जोडेर हेर्न मिल्छ?’

सरकारले गरेका कामलाई सकारात्मक रुपमा लिन नसक्ने र कामै भएन भन्नेहरूबाट समस्या उत्पन्न भएको मुख्यमन्त्री कार्कीको भनाइ छ।

उनले भने, ‘सरकारले १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार सुरू गरेर लोक कल्याणकारी राज्यको अवधारणामा अघि बढिसक्दा पनि विकास भएन भन्नेहरूलाई कस्तो विकास चाहिएको हो? सरकार र निजी क्षेत्र साझेदार नभई सिक्काको दुई पाटा भएकाले प्रदेशवासीलाई उद्यमी र व्यवसायी सरकारले बनाउन बजेट ल्याएको छ। तर, यहाँ विरोधका लागि विरोध गर्नेहरूले नकारात्मक मात्र देख्ने गरेका छन्।’

उनले प्रदेश नामांकनमा फरक मत राख्दै आएका पहिचानवादी पक्षसँग समेत सरकारले सकारात्मक रुपमा वार्ता अघि बढाएको भन्दै सरकारको काम शान्ति सुरक्षा कायम राख्नु रहेको बताए।

उनले सरकारमा प्रतिपक्षलाई समेत साथमा लिएर अघि बढेको र राजनीतिक स्थिरता कायम भएको बताए।

उनले भने, ‘कोसी प्रदेशमा अब सत्ता पक्षले प्रतिपक्षलाई हेप्ने र प्रतिपक्षले सत्ता पक्षलाई पेल्ने अवस्थाको अन्त्य भएको छ।’

२७ माघ, २०८०, २१:२८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।