कोशीमा प्रदेश सरकारसँग वार्ता गर्न पहिचानवादीको समिति गठन

कोशीमा प्रदेश सरकारसँग वार्ता गर्न पहिचानवादीको समिति गठन

काठमाडौं : कोशीमा पहिचानवादीले प्रदेश सरकारसँग वार्ता गर्न समिति गठन गरेका छन्।

पुनः नामाकरण संघर्ष समितिको बुधबार बसेको बैठकले सरकारसँग वार्ता गर्न ११ सदस्यीय समिति गठन गरेको हो।

पुन:नामाकरणको माग गरिरहेका विभिन्न संगठनको बैठकले सरकारसँग वार्ता गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले बताए।

समितिमा संयोजक थेगिमसहित गोबिन्दबहादुर आङ्बुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङ्देन मिराक, पदम लिम्बू, अर्जुन जम्रेली राई, जेन्टल लावती, पदम जबेगु र चन्द्रकुमार चौधरी रहेका छन्।

कोशी सरकारले पहिचानवादीहरूलाई औपचारिक रूपमा पत्राचार गरेर वार्तामा आउन आग्रह गरेको थियो।

सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। यसमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य सचिव छन्।

२०७९ फागुन १७ गते बसेको प्रदेशसभा बैठकबाट प्रदेश नम्बर १ को नाम कोशी कायम गरेको थियो। त्यसबेला कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका दुई तिहाइ भन्दा बढी सांसदको बहुमतले कोशी नामाकरण भएको थियो।

लगत्तै पहिचान पक्षधरले नाम मान्य नहुने भन्दै आन्दोलन घोषणा गरेका थिए। आन्दोलनका क्रममा विराटनगरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको थियो।

२४ माघ, २०८०, २१:५०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।