‘श्रीलंका बन्छ’ भन्ने अवस्थाबाट अर्थतन्त्रलाई माथि उठाएका छौं : अर्थमन्त्री महत

‘श्रीलंका बन्छ’ भन्ने अवस्थाबाट अर्थतन्त्रलाई माथि उठाएका छौं : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको बेथितिलाई थितिको बाटोमा ल्याउन अझै केही समय लाग्ने बताएका छन्।

विगतका सरकारहरूले अर्थतन्त्रको अवस्था विपरीत खर्च गरेको र त्यसको असर अहिलेसम्म पनि कायम रहेको दाबी गरे।

बुधबार इकोनोमिक मिडियो एसोसिएसन नेपाल (इमान)को पहिलो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले सरकारले बिग्रिएको अर्थतन्त्रलाई सुधारको बाटोमा ल्याउने प्रयास गरिरहेको बताए।

‘पहिलेदेखि बानी परेको बेथितिलाई थितीको बाटोमा ल्याउन अझै समय लाग्छ। तर कम्तिमा श्रीलंका बन्छ भन्ने अवस्थाबाट हामीले माथि उठाएर ल्याएका छौँ,’ उनले भने, ‘समग्रमा देशको अर्थतन्त्रमा सुधार हुँदै आएको कुरा तथ्यांकले नै देखाइरहेको छ।’

अर्थमन्त्री महतले डबल हुन्छ भन्ने सोचेर मान्छेहरूले ऋण लिएर घरजग्गामा धेरै लगानी गर्दा घरजग्गाको व्यापार शिथिल बनेको बताए। परिस्थितिको राम्रो आंकलन नै नगरी कारोबार गर्दा समस्या आएको उनको भनाइ थियो।

‘ऋण लिने र दिने दुवैले स्थितिको मूल्यांकन गर्न नसकेको अवस्था देखिएको छ, त्यसैले ऋणीलाई मात्रै होइन, बैंकहरूलाई पनि कडाइ गर्नुपर्ने अवस्थाबारे राष्ट्र बैंकसँग समन्वय भएको छ,’ उनले भने।

उनले अहिले ऋण लिएको रकम माफी मिनाहा गर्न सक्ने गरी सरकारको अवस्था नरहेको बताए।

‘ऋण लिएपछि जसरी पनि तिर्नु नै पर्छ। खाएपछि तिर्नैपर्छ। यस्तो भ्रममा नपर्नुहोला,’ उनले भने, ‘कसै–कसैले तपाईंलाई ठग्न पनि सक्छन्। अहिले ऋण मिनाहा गरिदिन्छु भन्दै मान्छेलाई भड्काउने काम भइरहेको देखेको छु। तर त्यो सम्भावना छैन।’

२४ माघ, २०८०, १०:२५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।