एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ : कोको छन् मनोनयनमा?

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७९ : कोको छन् मनोनयनमा?

काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २० औँ संस्करणका लागि वर्ष युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ।

मञ्चले मंगलबार सार्वजनिक गरेको स्पोर्ट्स अवार्डका लागि उत्कृष्ट वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयनको पहिलो चरणमा समान उत्कृष्ट आठ जना परेका छन्।

मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा सार्वजनिक गरिने र अन्तिम मनोनयन सूचीमा परेका तीन मध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिने मञ्चले जनाएको छ।

वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका छन्।

वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन्।

वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडी र उसलाई सफलता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका प्रशिक्षकलाई मनोनयनमा परेको मञ्चले जनाएको छ। दुवै विधाको मनोनयनमा पर्ने खेलाडीको प्रदर्शन बुँदा गत प्रस्तुत गरिएको छ।

मञ्चले वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ।

यसअघि नै सार्वजनिक भएका पिपुल्स च्वाइस विधामा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन्।

स्पोर्ट्स अवार्डका अन्य विधा पाराएथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ।

यस पटक वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपुल्स च्वाइस गरी पाँच विजेताले बजाज पल्सर मोटरसाइकल पाउनेछन्। तीमध्ये दुई वटा एन–२५० र तीन वटा एन–१६० मोटरसाइकल छ। अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह–प्रायोजक र सहयोगीमा ई–सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटेल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटल, प्लाजा ग्रुप अफ होटल्स, आईएसएस, ई–ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी छन्।

२३ माघ, २०८०, २०:५१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।