लुम्बिनी प्रदेश सरकारले थाल्यो द्वन्द्वका घाइतेहरूको उपचार

लुम्बिनी प्रदेश सरकारले थाल्यो द्वन्द्वका घाइतेहरूको उपचार

काठमाडौं : लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूको उपचार सुरू गरेको छ।

प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग समन्वय भएको छ।

उनले सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा अपाङ्ग भएकाहरूको उपचार सम्बन्धी कार्यविधि २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको बताए।

घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएमा उपचार गर्न पाइने उनले जानकारी दिए।

घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/०८१ का लागि ५० लाख बजेट विनियोजन गरेको थियो।

परिवर्तनका लागि भएको जनयुद्ध तथा विभिन्न आन्दोलनमा घाइते भएकाहरू आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुनु परेको भन्दै त्यसलाई मध्येनजर गरि यो कार्यक्रम सुरू गरिएको प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बताए।

२३ माघ, २०८०, २०:०४:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।