एमाले धादिङ जिल्ला अधिवेशनमा कार्यकर्ताबीच कुटाकुट, एकको भाँचियो हात

एमाले धादिङ जिल्ला अधिवेशनमा कार्यकर्ताबीच कुटाकुट, एकको भाँचियो हात

काठमाडौं : एमाले जिल्ला कमिटी धादिङको नवौँ जिल्ला अधिवेशनमा धक्का-मुक्का भएको छ।

कार्यकर्ताहरूबीच भएको कुटाकुटबाट पार्टीका कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबर्जस्ती प्रस्ताव पेस गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठकमा असहज परिस्थिति बनेको थियो। त्यसपछि जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्का-मुक्का भएको विज्ञप्तिमा उल्लेख छ।

‘एमाले धादिङको नवौं जिल्ला अधिवेशनको बन्द सत्र सुरू हुनुपूर्व माघ १९ गते साँझ करिब ७ बजे बसेको जिल्ला कमिटीको अन्तिम बैठकमा, बन्द सत्रमा प्रस्तुत गरिने आवश्यक दस्तावेज, कतिपय नीतिगत निर्णय, बन्द सत्र सञ्चालनका लागि आवश्यक अध्यक्ष मण्डल लगायत विभिन्न समितिहरूमा रहने नेताहरूको नाम र जिल्ला कमिटीबाट ५ प्रतिशतले मनोनयन हुने प्रतिनिधिहरूका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबर्जस्ती प्रस्ताव पेस गर्नुभयो। उहाँले एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो,’ प्रदेश अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एमाले धादिङ जिल्ला अधिवेशन शुक्रबारदेखि सुरू भएको हो। सोही दिन साँझ बसेको कमिटीको अन्तिम बैठकमा बन्दसत्रमा प्रस्तुत गरिने आवश्यक दस्ताबेज, नीतिगत निर्णयलगायतका विषयमा छलफल भएको थियो।

हिजो बन्दसत्रको सुरुआतबाट नै अघिल्लो दिनभन्दा बढी असहज बनेको थियो।

बन्दसत्रमा प्रवेश गर्नु अगाडि प्रतिनिधि निर्क्यौल गर्ने विषयमा समेत अन्योलता कायम रहेको देखिएको एमाले नेताहरूले बताएका छन्।

२१ माघ, २०८०, १०:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।