अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याँक्यौँ भने गठबन्धन ठूलो कुरै होइन : ओली

अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याँक्यौँ भने गठबन्धन ठूलो कुरै होइन : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई जवाफ दिन २०८४ को निर्वाचनको प्रतीक्षा रहेको बताएका छन्।

पार्टीको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको युवा महोत्सव–२०८० को शनिबार उद्घाटन कार्यक्रममा उनले हरेक परिवर्तनका लागि एउटा निर्वाचन पर्याप्त हुने भन्दै ०८४ को चुनावमा गठबन्धनलाई पाखा लगाउने बताए।

उनले भने, ‘गठबन्धन, माकुराका कतिवटा ८ वटा खुट्टा हुन्छन्, यिनीहरूका पनि त्यस्तै छन्। हामीले अधिनायकवाद, तानाशाह, राजतन्त्र, पञ्चायत सबै फ्याँक्यौँ भने यो जोडजाम गरेर बनाएको गठबन्धन कुनै ठूलो कुरै होइन। एउटा चुनाव सधैंका लागि यस्ता गठबन्धनका संस्कृति, कु-संस्कृतिहरू अन्त्य गर्नका लागि काफी छ। त्यसैले हामीले भनेका छौ मिसन ८४, यसले यो सबै समस्याको एकैपटक दबाई गर्छ। गठबन्धन जस्तो क्यान्सरको मेजर अप्रेसन ८४ मा गरिँदै छ।’

रेमिट्यान्सले चलेको अर्थतन्त्र धरासय भएको भन्दै उनले गठबन्धन सरकार मुलुकको दिगो विकास सुदृढीकरणतर्फ नभइ रेमिट्यान्सतर्फ अगाडि बढेको बताए।

उनले भने, ‘देशको समस्या भनेको युवाहरू बाहिरिने क्रम बढ्दै गएको छ। अहिलेको गठबन्धन सरकार रेमिट्यान्स आइरहेको छ भनेर खुसी भइरहेका छन्, तर रेमिट्यान्सले चलेको अर्थतन्त्र जस्तो धराशय अरू केही पनि हुँदैन।’

उनले गठबन्धनमा रहेका दलहरूको नीतिको कारण मुलुक कमजोर भइरहेको तर्क गरे।

उनले भने, ‘हाम्रा शासनमा हुनेहरू खास गरि गठबन्धनमा हुनेहरूको नीति नै गलत छ। नेपाललाई शिक्षा, स्वास्थ्यको हब बनाउनु पर्ने यहाँ शिक्षा र स्वास्थ्यका अवसर समाप्त पार्ने काम भइरहेको छ। आज शिक्षाको लागि बाहिर जानुपर्ने अवस्था छ, यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ। समस्याहरू छ तर समाधान पनि छन्। कुनै पनि देश अरू आएर बनाउँदैन, आफैंले बनाउनु पर्छ।’

२० माघ, २०८०, १७:५२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।