गणतन्त्रमाथि हिलो छ्याप्ने दुस्साहस भएको छ तर चिन्तित हुनुपर्दैन : प्रधानमन्त्री

गणतन्त्रमाथि हिलो छ्याप्ने दुस्साहस भएको छ तर चिन्तित हुनुपर्दैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही थरी मानिसहरूबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने दुस्साहस भएको बताएका छन्।

सिन्धुलीको दुधौली नगरपालिका-५ सिर्थौलीमा दुधौली अस्पतालको भवन उद्घाटन गर्दै उनले जनताको अधिकार खोस्न चाहनेले गणतन्त्रको विरोध गरेको बताए।

‘एउटा पक्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र माथि हिलो छ्याप्ने दुस्साहस भएको छ’, उनले भने ‘तर चिन्तित हुनुपर्दैन, हिजोको यो व्यवस्था नहुँदा जनतामा कस्तो थियो आज अहिले अधिकार कति छ भन्ने कुरा सबै जनतालाई स्पष्ट छ। जनताले पाएको अधिकार खोस्न चाहनेले मात्रै गणतन्त्रको विरोध गरेका छन्।’

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र गणतन्त्रका विरोधीहरूबाट भ्रम छर्ने काम भएकाले त्यसबाट सजग रहनुपर्ने बताउँदै गणतन्त्रको विकल्प उन्नत र सुदृढ गणतन्त्र हुने बताए।

गरिब, दलित, उत्पीडित जनताको हकहितबाट मात्रै गणतन्त्र संस्थागत हुने भएकाले न्यून वर्गीय जनताको हकहितमा सबै लाग्नुपर्ने उनको भनाई छ।

वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धितर्फ अघि बढिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने ‘सरकारबाट थालनी भएका जन पक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बढेको छ।’

उनले देशको अर्थतन्त्र सुधारउन्मुख रहेकाे सुनाए। आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिँदा देशको अर्थतन्त्र भयावह रहेकाे बताउँदै एक वर्षभित्र सबैलाई महसुस हुने गरि अर्थतन्त्र सुधारकाे काम भएको उनकाे दाबी छ।

विदेशी मुद्राको संञ्चितीकरण इतिहासमै राम्रो भएको भन्दै रेमिट्यान्स भित्रिने र पर्यटकको समेत वृद्धि हुँदै गएको प्रधानमन्त्रीले जानकारी दिए। प्रधानमन्त्रीका रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उनले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको सुनाए।

प्रधानमन्त्री प्रचण्डले दुधौली नगर अस्पताललाई आवश्यक पर्ने उपकरण, दक्ष जनशक्ति र कर्मचारीको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

२० माघ, २०८०, १७:२२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।