मधेशमा जनमतले भन्यो- ‘प्रमुख प्रतिपक्षी दलको मान्यता हामीलाई दिनुपर्छ’

मधेशमा जनमतले भन्यो- ‘प्रमुख प्रतिपक्षी दलको मान्यता हामीलाई दिनुपर्छ’

काठमाडौं : मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि जनमत पार्टीले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन माग गरेको छ।

जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन सभामुख रामचन्द्र मण्डललाई पत्र बुझाएका हुन्। प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्री बोलाएकाले प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बनेको उनको दाबी छ।

अहिले मधेश प्रदेशसभामा एमाले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ।

२४ सांसद भएको सबभन्दा ठूलो दल एमाले सरकारमा सहभागी छैन तर समर्थन कायम छ। जनमत पार्टी सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको छ।

प्रदेशसभामा १० प्रतिशत सदस्य रहेको र सरकारमा सहभागी नभएको दललाई प्रमुख प्रतिपक्षी दल हुने प्रावधान छ। १०७ सदस्यीय प्रदेशसभामा जनमत पार्टीका १३ सांसद छन्।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी कानुन बमोजिम जनमत पार्टीले प्रतिपक्षी दलको मान्यता पाउनुपर्ने जिकिर गरेको छ।

जनमत संसदीय दलका नेता यादवले आफूहरूले प्रमुख प्रतिपक्षीको दर्जा माग्नु स्वाभाविक, सामान्य र कानुनसम्मत भएको बताए। एमालेले सरकारलाई समर्थन दिएकाले प्रमुख प्रतिपक्षी रहन नसक्ने उनको तर्क छ।

१७ माघ, २०८०, १९:२३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।