तिनाउ नदिमा अवैध उत्खनन्, दिनभर संकलन, रात परेपछि ट्याक्टरमा राखेर तस्करी

तिनाउ नदिमा अवैध उत्खनन्, दिनभर संकलन, रात परेपछि ट्याक्टरमा राखेर तस्करी

बुटवल : पछिल्लो समय बुटवलको तिनाउ नदि र उकास क्षेत्रमा नदिजन्य पदार्थको चोरी निकासी बढेको छ। सरोकारवाला निकायहरूले आँखा चिम्लिदिएपछि चोरी निकासीमा परिचालित गिरोहलाई हाइसञ्चो भएको छ।

तिनाउ नदिमा जीविकोपार्जनका लागि बोरामा नदिजन्य पदार्थ उठाउनेहरूलाई प्रयोग गर्दै ती गिरोहले रातारात खोला र उकास क्षेत्रबाट चोरी निकासी गरिरहेका छन्।

बुटवलको मगरघाटमाथि एन्फा एकेडेमीको पछाडिबाट बोरामा नदिजन्य पदार्थ उठाएर चोरी निकासी भइरहेको छ। त्यस्तै, बुटवल १७ रानीगञ्जमा पनि उकास क्षेत्रबाट नदिजन्य पदार्थको चोरी निकासी भइरहेकै छ।

केही दिनअघि बुटवल उपमहानगरपालिकाको एक टोली रानीगञ्जस्थित नदि उकास क्षेत्रबाट नदिजन्य पदार्थ चोरी निकासी भएको सूचना पाएपछि स्थलगत अनुगमनमा पुगेको थियो। त्यस क्रममा त्यहाँ तस्करहरूले ठुलै पोखरी आकार बनाएर नदिजन्य पदार्थ चोरी गरिरहेको भेटियो। नगरप्रहरी सहितको टोली त्यहाँ पुग्दा तस्करहरू भने भागिसकेका थिए।

अहिले बुटवलको तिनाउ नदिबाट बोरामा नदिजन्य पदार्थ दोहन गर्नेको ताँती नै लागेको छ। उनीहरूले अव्यवस्थित ढंगले नदिजन्य पदार्थ खोलाबाट निकालिरहेका छन्।

स्थानीय तहले बोरामा नदिजन्य पदार्थ निकाल्दा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन। जसकारण नदिमा गहिरा खाडल बनाएर स्थानीयले जथाभावी नदिजन्य पदार्थ निकालिरहेका छन्। उनीहरूले त्यसलाई ट्याक्टरमा लोड गरेर बिक्री वितरण गर्ने गरेको भेटिएको छ।

बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडा सदस्य नहकुल शाही ठकुरीले स्थानीयको नाममा तिनाउ नदिबाट नदिजन्य पदार्थको चोरी निकासी बढिरहेको बताए। उनले स्थानीय तहले यसको नियन्त्रण गर्न नसकेको आरोपसमेत लगाए।

‘तिनाउमा दोहन भइरहेको सूचना नगरपालिकालाई बारम्बार गराउँदा समेत अनुगमन भएन। तिनाउ नदिमा जथाभावी उत्खनन गर्दा तटबन्ध समेत मासिसक्यो’ उनले भने।

उनले बोरामा जथाभावी नदिजन्य पदार्थ निकालेको कारण मगरघाटको पुल, बुद्धनगरको पुल बाढीको उच्च जोखिममा रहेको बताए। बुटवलको बुद्धनगर, पवित्रानगर, प्रगतिनगर, मजुवा क्षेत्रमा पनि यसरी नै नदिजन्य पदार्थ जथाभावी निकाल्दा आधा दर्जन भन्दा बढी स्थानको तटबन्ध समेत भत्किसकेको उनको भनाइ छ।

वडा सदस्य ठकुरीका अनुसार अहिले तिनाउ नदिभर गहिरा खाडल मात्र देख्न सकिन्छ। केही स्थानीयले दिनभर खाडलमा साना मेसिन लगाएर बालुवा, गिट्टी थुपार्ने र साँझ परेपछि ट्याक्टरमा उठाएर बिक्री गर्ने गरेका छन्। सोमबार मात्र खोलाबाट बोरामा भरेर राखिएको अवस्थामा रहेको करिब १२ सय बोरा नदिजन्य पदार्थलाई खोलामै फ्याँकिएको छ।

वडा सदस्य नहकुल शाही ठकुरी, विभिन्न टोलका अध्यक्ष तथा स्थानीयसहितको एक अनुगमन टोलीले तिनाउ खोलाबाट बोरामा नदिजन्य पदार्थ भरेर चोरी निकासी भइरहेको भेटाएपछि स्काभेटरको प्रयोग गरेर त्यसलाई खोलामै फालिदिएको थियो।

‘खोलाबाट बोरामा बालुवा, गिट्टी भर्ने र रात परेपछि ट्याक्टरमा लोड गरेर लैजानेहरू गिरोह नै छन्। यसमा युवाहरू समेत सामेल रहेछन्’ उनले भने।

स्थानीयको ठूलो समूह नदिमा पुग्दा उनीहरूले बोरामा बालुवा, गिट्टी उठाइरहेका थिए। उनीहरूले त्यहाँ उपस्थित जनप्रतिनिधि, टोल विकास संस्थाका नेतृत्वकर्तालाई प्रतिवाद समेत गर्न खोजेका थिए। खोलामै रोजगारी दिनुपर्ने उनीहरूको माग थियो।

खोलाबाट बोरा निकालेर बाटोमा डम्प गरेको अवस्थामा १२ सय बढी बोरा भेटिएपछि नगरप्रहरी, नेपाल प्रहरीलाई खबर गरिएको थियो।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले नदिबाट अवैध रुपमा उत्खनन गर्नेहरू विरुद्ध अप्रेशन चलाइएको बताए। उनले गैरकानुनी काम गर्ने कसैलाई पनि नछाड्ने भन्दै सबैको सहयोग लिएर नदिजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रणमा लिइने बताए।

‘अब मेरो चुलो निभ्छ’

जनप्रतिनिधि, नगरप्रहरी, नेपाल प्रहरी र स्थानीयको रोहबरमा त्यहाँ बाट बिक्रीका लागि लैजान ठिक्क पारिएका नदिजन्य पदार्थ खोलामै फालिदिएपछि केहीले भने यसको विरोध गरे। आफूहरूलाई सरकारले रोजगारी दिन नसक्ने र बालुवा चालेर पनि खान नदिएको भन्दै उनीहरूले जनप्रतिनिधि र प्रहरीसामु आक्रोश पोखेका थिए।

बुटवल रानीगञ्जकी माया कुमाल नदिजन्य पदार्थ खोलामै मिल्काइदिँदा निकै भक्कानिँदै रोइन्। ३० वर्षीय कुमालले बालुवा चालेरै मानसिक रोगी श्रीमान, सासु-ससुरा र छोराछोरीको लालनपालन गर्ने गरेको बताइन्।

‘मैले दिनभर दुःख गरेर १५/२० बोरा बनाउँछु। त्यसलाई ४० रूपैयाँमा बिक्री गर्दा दिनमा ५/६ सय कमाई हुन्छ। त्यसैले घर खर्च चलाएकी छु। अब खोलामै पस्न नदिएपछि कसरी परिवार पाल्ने?’, उनले भनिन्।

२ वर्षदेखि तिनाउ नदिमा बोरामा बालुवा चालेर बिक्री गर्दै आएकी कुमालले ज्यामी काम गर्न जाँदा ठेकेदारले रकम नदिएपछि परिवार पाल्न नदिमा बालुवा चाल्नु परेको बताइन्।

‘श्रीमान मानसिक रोगी छन्। घरमा बृद्ध सासु-ससुरा छन्। ३ वटा छोराछोरीलाई यही बालुवा चालेर पढाएकी छु। ठूलो तस्करी गर्नेलाई कसैले केही गर्दैनन्। अनि हामीजस्ता बोरामा बालुवा भरेर जिविका चलाउनेलाई मात्र सबैले देख्दा रहेछन्,’ उनले गुनासो गर्दै भनिन्। उनले खोलाबाट नदिजन्य पदार्थ व्यवस्थित ढंगले निकाल्न पाउनुपर्ने समेत बताइन्।

‘बरू कहाँ निकाल्ने मिल्ने हो रेखाङ्कन गरिदिइयोस् तर, खोलामै पस्न पाइन्न भनेर भन्नु हाम्रो पेटमा लात हाने जस्तै हो। यसो भए त मेरो चुलोमा अब आगो निभ्छ,’ उनले भनिन्।

बुटवल प्रगतिनगरकी कल्पना पुनले पनि ठूलो तस्करी गर्नेहरूलाई कारबाही कसैले नगरेको भन्दै आक्रोश पोखिन्। उनले घर खर्च र परिवार चलाउन आफूहरूले बालुवा चाल्ने गरेको भन्दै नदिजन्य पदार्थ निकाल्न व्यवस्थित गर्नुपर्ने बताइन्।

डेढ वर्षदेखि बालुवा बोरामा तयार गरेर जिविका चलाएकी ५० वर्षीय पुनले बालुवा बिक्री गरेर घरखर्च चलाउने र दुई छोराछोरीको शिक्षामा खर्च गर्ने गरेको बताइन्।

१५ माघ, २०८०, १६:२८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।