कन्या मन्दिर विद्यालयको सुरक्षा गार्ड कोपिला, जसलाई हिसिला यमीले अंगालो मार्दा 'दशा' लाग्यो

कन्या मन्दिर विद्यालयको सुरक्षा गार्ड कोपिला, जसलाई हिसिला यमीले अंगालो मार्दा 'दशा' लाग्यो

२०६० साल चैतमा म्याग्दी आक्रमण भएपछि आफ्नो काम छोडेर कोपिला कार्की सधैँको लागि काठमाडौँ आइन्। १२ वर्ष देखिको प्रहरी जागिर छोडेर उनी यहाँको कन्या मन्दिर माविमा सुरक्षा गार्ड बनिन्। यतै तीन आना जग्गा किनेकी थिइन्। त्यसैमा घर बनाएर बस्ने सोच्दासोच्दै चिनेको दाइ मार्फत सुरक्षा गार्डको काम पाइन्।

उनी कन्या मन्दिरमा जोडिएको केही वर्ष पछि माओवादी नेतृ हिसिला यमी विद्यालयको एउटा कार्यक्रममा उपस्थित भएकी थिइन्। गेटमै उनलाई देखेपछि हिसीलाले अङ्कमाल गरिन्। अनि भित्र छिरिन्। त्यसबेला धेरैले कोपिलालाई पनि 'माओवादी' भनेर शङ्का गरे। विद्यालय पक्षले त उनलाई निकाल्न पनि खोजे।

'म्याग्दीमा आक्रमण हुँदा धेरैले काम छोड्नु भयो। हामी पनि तीन जना साथीहरूले जागिर छोडेका थियौँ,' उनले सुनाइन्, ' स्कुलको पानी बोरिङ गर्न हिसिला यमी आउनु भएको देखेँ। मलाई चिन्नु भएछ। अनि 'ए, काम छोडेर यतै पो' भन्नुभयो। गेटमै अंगालो हालेर भित्र जानुभयो।'

उनी प्रहरीमा काम गर्दै यमीसँग चिनजान भएको थियो। प्रहरी संगठन छाडेर विद्यालयको सुरक्षा गार्डको रूपमा काम गरेको थाहा थिएन। एक्कासि देख्दा उनले अंगालो मारेकी थिइन्। तर उनलाई दशा लागे समान भयो त्यो अंगालो।

उनलाई हिसीलाले अँगालो हालेको कुरा तत्कालीन प्रधानाध्यापक सानु नेपालसम्म पुग्यो। माओवादीले विद्यालयमा काम गर्न पाउँदैन भन्दै उनलाई तत्काल राजीनामा दिन समेत भने। सोर्हखुट्टेको प्रहरी बोलाएर उनलाई पक्राउ समेत गराए। कुरा बढ्दै जाँदा उनलाई हनुमानढोका प्रहरी परिसरसम्म लगियो।

'मैले म माओवादी होइन भनेर कति भने। त्यतिबेला ढक बहादुर कार्की हनुमानढोकाको इन्स्पेक्टर हुनहुन्थ्यो। उहाँले मलाई चिन्नु हुन्थ्यो। पूर्व प्रहरी हो भनेर मलाई छाड्दिनु भयो,' उनी भन्छिन्, 'त्यसपछि पनि स्कुलमा सधैँ माओवादी भन्थे। जागिर छोड्न धम्की दिनुहुन्थ्यो। त्यै भएर स्थायी पनि गरिदिनु भएन। त्यसबेलाको प्रधानाध्यापक एन्टी माओवादी हुनुहुन्थ्यो।'

उनले विद्यालयमा सुरक्षा गार्डको काम गरेको दुई दशक भइसक्यो। आफ्नो कार्यकालको सबै भन्दा पीडादायी पल नै उनलाई त्यही माओवादीको आरोप लागेको समय लाग्ने रहेछ।

'प्रहरीको जागिर र आफ्नो ठाउँ छोड्दा पनि मलाई त्यस्तो दुख लागेको थिएन। एक पलको लागि म त झुन्डिएर मरौँ की जस्तो पनि लाग्याथ्यो। त्यो आरोप एकदम डरलाग्दो थियो,' भावुक भएर उनले सुनाइन्।

पछि त्यो कुरा हिसीलाले पनि थाहा पाइछन्। अनि उनैले भनेर सालिकराम जम्मकट्टेलले कोपिलालाई सुरक्षा गार्डको 'कार्ड' समेत बनाइदिए।

'त्यो कार्ड बनाएपछि पनि सहज भएन। खान नपाएको आइमाईलाई कामको लागि राखेको माओवादी पो रहेछ भनेर सधैँ सुन्नुपर्यो,' उनी भन्छिन्, 'त्यसको केही महिना पछि त हेड मिस नै यहाँबाट जानुभयो। अनि सहज भयो। अहिले धेरै राम्रो हेडसर हुनहुन्छ।'

'उमेर बढाएर प्रहरीमा भर्ती भएँ'

उनको जन्म घर नै म्याग्दी। उनी घरकी जेठी छोरी। उनीपछि पनि दुई जना बहिनी जन्मियो। छोरा भएन भनेर उनको बाबाले अर्कै बिहे गरेर बसे। जेठी भएको कारण उनलाई चैँ मामाघरमा राखिदियो। हजुरबा र आमाको माया पाए पनि मामा-माइजुको माया भने उनले पाइनन्।

घरको काम सबै उनकै जिम्मामा आएपछि उनले धेरै पढ्न पनि पाइनन्।

'कति पढ्न इच्छा थियो। ममीले दुइटा बहिनीलाई मात्र सँगै राख्नु भयो। मैले त धान, कोदो, गाई बाख्रा बाहेक केही गर्नै पाइन,' उनी भावुक भइन्।

आठ कक्षासम्म जसोतसो पढिन्। १५ वर्ष उमेर थियो। नागरिकतामा १८ वर्ष बनाएर प्रहरीमा भर्ती गरियो। उनको आफन्तले 'सानैदेखि पीडित भएको, बाउले अर्को ल्याएपछि मामाघरमा बसेर दुख गरिरहेको' भनेर सिंहदरबारमा निवेदन पठाएछन्। तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा थिए। उनले पोखरामा जान निवेदन स्वीकृत गरिदिएपछि उनी तालिममा गइन् र सबैमा पास पनि भइन्।

'केही नजाने पनि पास त भइयो,' उनले हाँस्दै भनिन्। प्रहरीमा भर्ती भएकै अर्को वर्ष भारतीय आर्मीसँग उनको बिहे पनि भयो। '१६ वर्षमा त बिहे नै गरेर बाग्लुङ्ग पुगे,' उनी भन्छिन्, 'त्यसबेला इन्डिया गएर आएको मात्र भए पनि लाहुरे भन्ने चलनथ्यो। उहाँ त झन् आर्मीमै हुनुहुन्थ्यो। सबले यसको श्रीमान् त आर्मी हो भनेर एक खालको सम्मान दिन थाले।'

बिहे पछि गाह्रो भएन। आफै पनि जागिरे थिइन्। जति दुख पाउनु थियो बाल्यकालमै पाइन्। खान, बस्नकै ठेगान थिएन। गाउँमा खालीखुट्टा कति घाउ बनाएर हिँडिन्।

बाउआमा साथमा नभएपछि धेरै गाह्रो हुने रहेछ। त्यही भएर पनि उनले आफूलाई कडा बनाइन्। कोहीसँग पनि झुकिनन्। 'महिला' भनेर हेप्न खोज्नेहरू धेरैलाई उनले पिटेकी छिन्।

उनले पोखरा, बुटवल, मुस्ताङ लगायतको जिल्लाको इलाका प्रहरी कार्यालयमा काम गरिन्। उनको म्याग्दीमा सरुवा भएको दुई महिना मात्र भएको थियो। माओवादीले आक्रमण गरिहाल्यो। उनले प्रहरी सङ्गठन छोड्दिइन्।

अनि कन्या मन्दिरको सुरक्षा गार्ड बनिन् !

उनको श्रीमान् इन्डियामै थिए। त्यै भएर उनले छोरीहरूलाई म्याग्दीकै होस्टेलमा राखेर आफू चैँ काठमाडौँ आइन्।

'छोरीहरू भएपछि अलि बढी सङ्घर्ष गर्नुपर्यो। अरूले जस्तो धेरै माया पनि दिन पाइन,' उनले भनिन्।

उनी यहाँ आउँदा कन्या मन्दिर निकै चर्चित विद्यालय मध्ये एक थियो। विशेषगरि महिलाहरू पढ्ने भएकाले धेरै केटाहरू गेट बाहिर आएर बस्थे रे।

'म आउनु भन्दा अगाडी सुरक्षा गार्डमा पुरुष नै हुनुहुँदो रहेछ। उहाँले नसक्ने भए पछि छोड्नु भएको रहेछ,' उनले सुनाउँदै गइन्, 'त्यसबेला ड्रग्स लिने केटाहरू यहाँ धेरै आउँथे। गेटबाट हाम फाल्ने, पिट्न आउने, यहाँको बहिनीहरूलाई जिस्काउने गर्थे। सुरक्षा गार्डलाई नै पनि हान्नु भएपछि छोड्नु भएछ। अनि यतैको दाइले केटी भए पनि कडा छ, पहिला प्रहरीमा पनि काम गरेको भनेपछि मलाई यहाँ राख्नु भयो।'

त्यस दिनदेखि उनी कन्या मन्दिर विद्यालयमै छिन्। विद्यालयमा झगडा हुँदा प्रहरीसँग सजिलै उनले समन्वय गर्थिन्। अहिले पनि गर्छिन् नै। त्यसमा पनि शिक्षकहरूबाट 'हामीले फोन गर्दा नआउने, त्यो 'पालिनी'ले गर्दा तु का तु प्रहरी आउने !' भन्ने सम्मको कुरा सुनिन्।

पचास हिउँदमा हिँडिरहेकी उनी यहाँको स्थायी कर्मचारी त बनिन् तर 'केही नपाउनेगर स्थायी' भएको पत्र बनाइदिएकोमा निराश छिन्।

'बोराको बोरा पैसा दिनुपर्छ भन्ने हैन। तर काम गरिरहेको छ भनेर राम्रोसँग बोल्दा पनि मन हल्का हुने रहेछ। अहिलेको हेड सर एकदम कडा हुनहुन्छ, राम्रो पनि हुनहुन्छ' उनले भनिन्।

अहिले विद्यार्थीसँगै विद्यालय र क्षेत्रपाटी हस्पिटलको  कर्मचारीहरूको गाडीको सुरक्षा पनि उनले गर्दै आइरहेकी छिन्। विद्यालय वरपरको सबै 'ट्राफिक कन्ट्रोल' समेत उनैले गर्छिन्। अहिले विद्यालयकै गेट नजिक सानो जग्गामा स:शुल्क पार्किङ राखेकी छिन्। पार्किङ गर्दा उनले धेरैको नराम्रो बोली सहेकी छिन्। कत्तिले पार्किङको पैसा नदिई हिँडेको उनले सुनाइन्।

'दिनभर गाडी राखेर बिस रुपियाँ दिन पनि रिसाउनु हुन्छ। कहिले अवैध रूपमा राखेको पख बालेन बोलाउँछु भन्दै आउनुहुन्छ। एक दिन त असाध्यै रिस उठाएकाले तानेर 'ल बालेन बोला अनि मात्र स्कुटर दिन्छु' भनेर कराइदिए,' उनले सुनाइन्, 'त्यसपछि यताउता हेरेर बिस रुपैयाँ दिएर चुप लागेर जानुभयो।' 

विद्यालयमा कुकुर चुनौती बन्दै

उनलाई अहिले आफ्नो काम गर्न कुनै गाह्रो छैन। केही कुकुर प्रेमीहरूले विद्यालयमा दश वटा जति कुकुर राखेको रहेछन्। त्यो सम्हाल्न उनलाई निकै गाह्रो हुन्छ। ती कुकुरहरूले धेरै विद्यार्थीहरूलाई टोकेको उनले गुनासो गरिन्।

त्यहाँ आउने सबैलाई उनले कुकुरबाट पनि सुरक्षा दिइरहेकी छिन्। एक पटक उनैलाई पनि टोकेछ। त्यसपछि भने उनी आफै पनि कुकुरबाट दिक्क भएकी छिन्।

उनी आफ्नो कामबाट खुसी भने छिन्। बिहान साढे पाँच बजे उनी यहाँ पुग्छिन्। दुवै छोरीको विवाह गराइसकिन्। एउटा छोरी भने साथमै बस्छिन्। उनैले खाना बनाएर ल्याईदिन्छिन्। राति आठ बजेसम्म उनी यतै हुन्छिन्।

काठमाडौँ महानगरपालिका वडा नम्बर १५ मा टोल सुधार समितिको अध्यक्ष भइसकिन्। अब अवकाशपछि आफ्नै टोल र वडाको स्थानीयवासीसँग सहकार्य गरेर बस्ने उनले बताइन्।

'हाम्रो वडामा वृद्धाश्रम बनाउन सहकार्य गर्न आएको थिए। अब केही काम भएन भने त्यहीको वृद्दवृद्धाहरुको लुगा धुन्छु। स्याहार गर्छु,' उनले भनिन्,'म पढ्न न पाए पनि छोरीहरूलाई पढाएँ। अन्य पनि धेरैलाई यही स्कुलमा भर्ना गरिदिन समन्वय गर्न पाएँ। अब केही चिन्ता छैन। अहिले सुख नै छ। अब आनन्दले अरूको लागि काम गर्ने सोच छ। म पीडित भनेको म भन्दा पनि धेरै पीडितहरू हुनुहुँदो रहेछ।'

१५ माघ, २०८०, १५:५९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।