तिलोत्तमा शान्तिकुञ्जमा ‘पेलिकन क्रसिङ’ ट्राफिक लाइट

तिलोत्तमा शान्तिकुञ्जमा ‘पेलिकन क्रसिङ’ ट्राफिक लाइट

बुटवल : रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको सुरुवात भएको छ।

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरदेवी चौधरीले ‘पेलिकन क्रसिङ’ भनिने ट्राफिक लाइटको शनिवार सुरुवात गरेका हुन्।

हाल तिलोत्तमाको कोटिहवा, ड्राइभरटोल, भलवारी, र मणिग्राम गरी विभिन्न चोकहरूमा ट्राफिक लाइट जडान भएका छन्। धेरै दुर्घटना हुने क्षेत्र मानेर शान्तिकुञ्ज चोक मुख्य सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको पेडेस्ट्रियन क्रसिङ राखेको खाँणले बताए। दुर्घटना न्यूनीकरण गर्न नगरपालिकाले पैदल यात्रुलाई विशेष ध्यानमा राखी सो प्रविधि जडान गरेको उनले बताए।

नगर उपप्रमुख चौधरीले नगरको समग्र विकासका लागि प्रविधिले धेरै प्रभाव पार्ने हुँदा प्रविधिको विकाससँगै भौतिक र मानवीय विकासलाई जोड दिइएको र फलस्वरूप सेल्फ क्रसिंग प्रविधि राखिएको बताइन्।

 जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक बजिरसिंह बिस्टले ट्राफिक नियमको पालना गरी सवारी चलाएमा दुर्घटनाबाट जोगिन सकिने बताए।

‘पैदल यात्रुले स्विच थिचेको ३ मिनेटमा ट्राफिक बत्तीमा रातो बल्छ, गाडी रोकिन्छन् अनि पारिपट्टि यात्रुलाई बाटो काट्ने हरियो मानिसको सिग्नल आएपछि यात्रुले बाटो पार गर्छन्। त्यसको केहीबेरमा हाइवेमा हरियो बत्ती बल्छ अनि गाडी अगाडि बढ्छ,’ प्रहरी निरीक्षक बिस्टले भने।

१३ माघ, २०८०, १७:५५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।