पत्रकार कलेन्द्रको ‘फल्स फ्रन्ट पेज’ पुस्तक सार्वजनिक

पत्रकार कलेन्द्रको ‘फल्स फ्रन्ट पेज’ पुस्तक सार्वजनिक

काठमाडौँ : पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक ‘फल्स फ्रन्ट पेज’ सार्वजनिक भएको छ। शनिवार काठमाडौँमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, वरिष्ठ पत्रकार किशोर नेपाल लगायतले पुस्तक सार्वजनिक गरेका थिए।

सेजुवालद्वारा लिखित पुस्तक प्रेस फ्रिडम मिडियाले प्रकाशन गरेको हो। पुस्तकमा सन्दर्भ, उपकथा र मूलकथा गरी ३ खण्ड रहेका छन्।

‘आधारभूत सिद्धान्तमै खेलाँची’ शीर्षकको ‘सन्दर्भ’ खण्डमा नेपालसँगै विश्व पत्रकारिताले बेलाबखत आफ्नो आधारभूत सिद्धान्तमा खेलबाड गरेका विषय समावेश छ।

नेपालको पत्रकारितालाई ऐतिहासिक कालखण्डमा पक्षधरता र पूर्वाग्रहले कसरी गाँजेको थियो भन्ने विषय समेत समेटिएको छ।

प्रमुख अखबारका मुख–पृष्ठ (फ्रन्ट पेज) मा प्रकाशित गलत समाचारका केही दृष्टान्त उल्लेख छन् ।

‘देशको सीमांकन बदल्ने आन्दोलन’ शीर्षकको ‘उपकथा’ खण्डमा २०७२ साउन २२ देखि भदौ ४ (१५ दिन) सम्म सुर्खेतलाई केन्द्र बनाएर चलेको सीमांकन आन्दोलनको उठान, त्यसको प्रभाव र परिणामबारे लेखिएको छ।

पुस्तकको ‘मूलकथा’ खण्डमा (सीमांकन) ‘आन्दोलनको कसीमा मिडिया’लाई राखिएको छ।

सीमांकन आन्दोलनमा खास गरी सुर्खेती मिडियाको भूमिका कस्तो रह्यो भन्नेबारे यस खण्डमा उल्लेख छ। स्थानीय पत्रिकाका पहिलो पृष्ठ (फ्रन्ट पेज) कति असन्तुलित, अधिक पक्षधर र पूर्वाग्रही थिए भन्नेबारे १५ दिनकै समाचार अध्ययन गरी विश्लेषणात्मक रूपमा उल्लेख गरिएको छ।

सेजुवालको पुस्तक विमोचन गर्दै उपप्रधानमन्त्री खड्काले पत्रकारिता सही मार्गमा हिँडेको खण्डमा मात्र त्यसले समाज र समग्रलाई देशलाई सही दिशानिर्देश गर्ने बताएका थिए।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सञ्चार क्षेत्रका विषयमा सञ्चारकर्मीले नै आलोचनात्मक पुस्तक प्रकाशित गर्नु राम्रो पक्ष भएको बताए।

वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपालले पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार सेजुवालले रिपोर्टिङमा जस्तै पुस्तकमा पनि आफ्नो खोजपूर्ण कौशल देखाएको बताएका थिए। महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले पुस्तक ‘तथ्य–कथा’ रहेको बताए। 

१३ माघ, २०८०, १७:४४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।