महानगरविरुद्ध चरणविरुद्ध आन्दोलन गर्न राजनीतिक दल गुहार्दै व्यापारी

महानगरविरुद्ध चरणविरुद्ध आन्दोलन गर्न राजनीतिक दल गुहार्दै व्यापारी
फाइल तस्बिर

काठमाडौं : काठमाडौं महानगरपालिकाविरुद्ध संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले माघ १५ गतेदेखि २८ गतेसम्म चरणवद्ध आन्दोलन घोषणा गरेको छ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै समितिले अभियन्ता ईः सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध आन्दोलन गर्न लागेको जनाएको हो।

सम्झौता कार्यान्वयन गर्न कार्यदल गठन गर्ने तर महानगरले सडक व्यवसायीलाई दमन गर्ने नीति अँगालेका कारण महानगरविरूद्ध आन्दोलन घोषणा गर्न बाध्य भएको नेपाल स्वरोजगार व्यापार श्रमिक संघ अध्यक्ष माया गुरुङले जानकारी दिइन्।

समितिका अनुसार १५ माघमा महानगरमा ज्ञापनपत्र बुझाउने, १६ माघमा प्रर्दशनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, १७ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउने उल्लेख छ।

१८ माघमा गृह मन्त्रालय, १९ माघमा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउन लागेको व्यवसायीहरू त्यसपछि भने राजनीतिक दल गुहार्न जाने भएका छन्।

२१ माघमा समाजवादी पार्टी कार्यालय, २२ माघमा माओवादी केन्द्र पार्टी कार्यालय, २३ माघमा नेपाली कांग्रेस पार्टी कार्यालय र २४ माघमा एमाले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने संघर्ष समितिले जनाएको छ।

यसैगरी संघर्ष समितिले २८ माघमा थाल, चम्चा ठटाउँदै जुलुश प्रदर्शनसहित महानगरपालिका घेराउ गर्ने जनाएको छ।

व्यवसायीहरूको माग सम्बोधन गर्न चासो नदेखाए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने गर्ने समितिको चेतावनी छ।

महानगरले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, महानगरभित्रका सबै वडामा ‘सस्तो बजार’ सञ्चालन गरी सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचति समय निर्धारण गरी व्यवसाय सुचारु गर्ने कार्य सुनिश्चित गरिनु पर्ने समितिको माग छ।

१२ माघ, २०८०, १३:२६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।