शैक्षिक कार्यक्रमको आवरणमा बेरोजगार ठग्दै कम्पनी, रमिते शिक्षा मन्त्रालय

शैक्षिक कार्यक्रमको आवरणमा बेरोजगार ठग्दै कम्पनी, रमिते शिक्षा मन्त्रालय

काठमाडौँ : स्थानीय निकायपिच्छेका विद्यालयमा शुल्क उठाएर शैक्षिक कार्यक्रम गर्ने आवरणमा रोजगारी भन्दै ठगीमा संलग्न जन विकास शिक्षा प्रालिको अवैध कामप्रति शिक्षा मन्त्रालय मौन बसेको छ।

उकेरामा सो प्रालीको ठगी जालोबारे समाचार प्रकाशित भएपछि मन्त्रालयले प्रालीका प्रमुख धिरेन्द्र पासवानलाई मन्त्रालयमा छलफलका लागि बोलाएको बताएको थियो। तर अहिलेसम्म न पासवान मन्त्रालय आएका छन् न मन्त्रालयले नै चासो देखाएका छन्।

प्रालीले उल्टो हजारौँलाई रोजगारी दिने भन्दै विज्ञापन गरेर रोजगारीको खोजीमा रहेकाहरूसँग रकम असुलिरहेको छ।

‘मलाई मन्त्रालयमा २९ गते बोलाइएको थियो तर म गइन। मैले मन्त्रालयका कर्मचारीलाई धेरै पटक फोन गर्दा पनि उठाएनन्। मैले इमेल मार्फत नै कम्पनीको कागजात पठाउने भनेर फोन गरेको थिए तर उठाएनन्’ पासवानले भने।

यता, शिक्षा मन्त्रालयका निजी तथा सहकारी सङ्घसंस्था समन्वयन शाखाका अधिकृत राजेश्वर पराजुली जनविकासले फोन नै नगरेको भन्दै टार्छन्।

‘म हाल तराईतिर आएको छु। अस्तिसम्म म मन्त्रालयमै थिए। तर धिरेन्द्र पासवान मन्त्रालयमा आएनन्। फोन पनि गरेका छैनन्’ उनले भने।

शैक्षिक कार्यक्रमको नाममा देशको सरकारी तथा निजी विद्यालयका ३ देखी ८ सम्मका बालबालिकाहरूलाई शैक्षिक कार्यक्रम गर्ने भन्दै सो कम्पनीले पैसा उठाइरहेको छ।

कम्पनीको ठगीबारे प्रमाण सहित उकेराले समाचार प्रकाशित गरिरहेको छ।

शिक्षा मन्त्रालयका निजी तथा सहकारी सङ्घसंस्था समन्वयन शाखाका अधिकृत पराजुली बुझ्दा ठगी धन्दा नै गर्न लागेको बुझिएको बताउँछन्।

‘विद्यार्थीबाट पैसा लिने र खाने नियत देखिन्छ। यत्रो कार्यक्रम गर्न पर्याप्त रकम राखेको छैन। यो भनेको विद्यार्थीबाट पैसा असुल्ने र खाने नै नियत देखियो’ उनले भने।

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा भने आलटाल जवाफ दिन्छन्। उकेराले बारम्बार यस विषयमा जिज्ञासा राख्दा प्रवक्ता सापकोटाले ‘कारबाही गर्छौँ’ भनेर पन्छिइरहेका छन्। जनविकासको अवैध धन्दाबारे यत्तिका दिनसम्म मन्त्रालय किन किन मौन भन्ने जिज्ञासामा उनले भने ‘हामी कारबाही गछौं।’

कानुन विपरीत काम गर्न लाग्दा पनि मन्त्रालय चुप

सो कम्पनीले विद्यालय तहमा पैसा लिएर कार्यक्रम सञ्चालन गर्ने भन्दै विध्यार्थीहरुबाट पैसा उठाइरहेको त छ नै उसले केन्द्र, प्रदेश अनि पालिकातहमा कर्मचारी आवश्यक भन्दै विज्ञापन गरेर आवेदकसँग समेत लाखौँ पैसा उठाइरहेको छ।

नेटवकिङ्ग शैलीमा कुनै पनि व्यवसाय गर्न गराउन नहुने राष्ट्र बैंकको निर्देशन छ। तर सो कम्पनीले नेटवर्किङ शैलीमै केन्द्रदेखि पालिकासम्म कर्मचारी राखेर कमिसनको आधारमा काम लगाइरहेको देखिन्छ।

‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ मा संस्थासम्बन्धी व्यवस्थाको ३ नम्बरमा शैक्षिक परामर्श, पूर्व तयारी कक्षा तथा भाषा दिने संस्थाले आफ्नो सेवासम्बन्धी प्रचारप्रसार गर्दा विभिन्न सर्तहरू पालना गर्नुपर्ने उल्लेख छ।

निर्देशिकाको ३ (घ) मा स्वदेशी तथा विदेशी अध्ययन संस्थाले अध्ययन सम्बन्धी शैक्षिक परामर्श प्रदान गर्न शैक्षिक मेला वा प्रदर्शनी आयोजना गर्दा मन्त्रालय वा मन्त्रालयले तोकेको निकायबाट पूर्व स्वीकृति लिनु पर्ने भनिएको छ। तर, कम्पनीले मन्त्रालयबाट पूर्व स्वीकृति लिएको छैन।

धरौटीको नाममा पैसा असुल्छ जनविकास

विद्यालय तहमा शिक्षा सुधारको नाममा बालबालिकासँग पैसा उठाउन सो प्रालीले केन्द्रदेखि सबै स्थानीय तहमा कर्मचारी राख्ने भन्दै आवश्यकता सम्बन्धी विज्ञापन गरेर पैसा असुलिरहेको छ।  

आवेदन शुल्कको नाममा प्रतिव्यक्ति पाँच सय असुलेर ८ सय बढी कर्मचारी मागेको प्रालीले अहिले अन्तर्वार्ता लिइसकेकाहरूसँग नियुक्ति पत्र अगाडि धरौटी रकम मागेको छ। तर रोजगारी दिएको छैन।

संस्थाले सात प्रदेशको संयोजकहरूको हकमा १० हजार धरौटी मागेको छ। ७७ जिल्ला संयोजकहरूसँग पाँच हजार र ७ सय ५३ प्रदेश संयोजकहरूको हकमा तीन हजार धरौटी मागेको छ। यी सबैबाट लिने धरौटी रकम करिब ३० लाख हाराहारी हुन्छ।

तर कम्पनी रजिस्टार कार्यालयमा भने जनविकासको चुक्तापूँजी जम्मा २५ लाख मात्रै रहेको छ।  कम्पनी खोलेर प्रतिव्यक्ति मासिक ७० हजारसम्म पारिश्रमिक दिने भन्दै विज्ञापन गरेर आवेदनको नाममा पैसा असुलिरहेका छन् तर कर्मचारी नियुक्ति गरेका छैनन्।

सो संस्थाको मंसिर आठ गतेको पत्रमा केही जिल्ला र प्रदेशका लागि संयोजकको अपुग भएको भन्दै छानिएकाहरूसँग सम्झौता नभएको दाबी गरिएको छ।

एकल स्वामित्वको कम्पनी

कम्पनी रजिस्टारको कार्यालयमा रहेको कम्पनीको विवरणमा यो कम्पनी सर्लाहीका धिरेन्द्रकुमार पासवानको नाममा दर्ता भएको देखिन्छ।

यो मुनाफा बाँड्ने एकल स्वामित्वको कम्पनी हो। कम्पनीको नाममा एक सय दरको २५ हजार कित्ता शेयर तोकिएको देखिन्छ। कम्पनीको रजिस्टर्ड कार्यालय भक्तपुर, मध्यपुर थिमी नगरपालिका वडा नम्बर २ तोकिएको छ।

कम्पनीले उद्देश्यमा स्वरोजगार सम्बन्धी तालिम गर्ने, आत्मनिर्भर बनाउन तालिम,गोष्ठी गर्ने, विध्यार्थीहरुका लागि विभिन्न किसिमको तालिम र गोष्ठी गर्ने लगायतका उल्लेख छन्।

अहिले उसले विध्यार्थीहरुका लागि तालिम गोष्ठीको नाममा कर्मचारी मागिरहेको छ नै विध्यालयमा समेत सशुल्क कार्यक्रम सञ्चालन गरिरहेको छ।

१० माघ, २०८०, १५:३८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।