एमालेले जनताका ७५१ माग बुझायो सरकारलाई

एमालेले जनताका ७५१ माग बुझायो सरकारलाई

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले सरकारलाई जनताका ७ सय ५१ माग बुझाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर मध्यपहाडका समस्या, सम्भावना र चुनौती लिखित रूपमा जानकारी गराएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरूले जनस्तरबाट आएका ७ सय ५१ मागहरू, समस्या तथा समस्या समाधानका उपायसहित लिखित जानकारी गराएको हो।

एमालेलाई विभिन्न ४६ जिल्लाबाट ७ सय ५१ वटा मागहरू प्राप्त भएको उपमहासचिव ज्ञवालीले बताए। उनले गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको बताए।

यस्तै, बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेशबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनको भनाइ छ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिसकेको भन्दै सकेसम्म जनमुखी बनाउने प्रतिवद्धता जनाए।

९ माघ, २०८०, ११:४४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।