तिलोत्तमामा खुल्यो १० करोडको लगानीमा ओम महिला तथा बाल अस्पताल

तिलोत्तमामा खुल्यो १० करोडको लगानीमा ओम महिला तथा बाल अस्पताल

 

बुटवल : रुपन्देहीको तिलोत्तमा–४ मा विशेषज्ञसहितको ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ।

सुत्केरी आमा, नवजात शिशु, बालबालिका तथा किशोर किशोरीहरूका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको अस्पतालकी अध्यक्ष शारदा तिवारीले जानकारी दिइन्।

१० करोडको लागतमा निर्माण भएको अस्पतालमा २५ जनाको लगानी रहेको अस्पतालको सबै कमिटीमा महिलाहरू छन्।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मिला शर्माले अस्पतालले एनआईसियु, प्रयोगशाला, जनरल बेड, क्याबिन र प्रसूति सम्बन्धी सबै सेवा दिने बताइन्।

हाल अस्पतालमा १५ बेड सञ्चालन छ। उनले सरकारबाट स्वीकृती लिई १०० बेड बनाउने र अस्पतालमा आमा सुरक्षा कार्यक्रम पनि लागु गर्न प्रयास भइरहेको बताइन्।

अस्पतालकी एमडी कमला मल्ल हमालले स्वास्थ्य सेवालाई व्यापार सँग मात्र नहेरी सेवाकै दृष्टिकोणबाट आफूहरू लागेको दाबी गरिन्।

अस्पतालमा हाल ३०० सय रूपैयाँ ओपिडी टिकट छ। यसलाई निकट भविष्यमै १ सय रूपैयाँमा झार्न लक्ष्य रहेको उनको भनाइ छ।

त्यस्तै, जनरल एसी बेडको १ हजार २ सय र क्याबिनको ३ हजार शुल्क रहेको छ।

२०७७ साल साउन ७ गते पुर्व पर्यटन उद्योग, बन, वातावरणमन्त्री कल्पना पाण्डेले शिलान्यास गरेको यो अस्पताल ०८० जेठ बाट सञ्चालनमा आएपनि भोलिदेखि औपचारिक रुपमा शुभारम्भ हुँदैछ। अस्पतालको उद्घाटन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले गर्ने कार्यक्रम छ।

अस्पतालमा ओ.टी सेट अप, एक्स रे, अल्ट्रासाउन्ड, गाईनो सेवा, भेन्टिलेटर सहितको एनआईसी सेवा र दुरविनद्वारा गरिने सबै शल्यक्रियाका सेवाहरू उपलब्ध रहेको अस्पतालकी एमडी हमालले बताइन्।

६ माघ, २०८०, १५:१४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।