व्यवस्थापन महाशाखाका प्रमुख डा. श्रवणको पहिलो काम, १२ करोडको ‘कोल्पोस्कोप र थर्मोकोगुलेटर मेसिन’ को ठेक्का जिएच मेडिहेल्थलाई

व्यवस्थापन महाशाखाका प्रमुख डा. श्रवणको पहिलो काम, १२ करोडको ‘कोल्पोस्कोप र थर्मोकोगुलेटर मेसिन’ को ठेक्का जिएच मेडिहेल्थलाई

काठमाडौँ : स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले करिब १२ करोडमा ८० लाखको ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’को टेन्डर ‘जिएच मेडिहेल्थ कन्सर्न प्राली’लाई दिनेगरी खरिद प्रक्रिया अगाडि बढाएको छ।

प्रारम्भबाटै यो टेन्डर जिएचलाई दिने तयारी गरिएको खुलेको थियो। ‘जिएच मेडिहेल्थ कन्सर्न प्राली’का मालिक मुकुन्द गौतम हुन्।

पछिल्लो समय अगाडि बढिरहेका स्वास्थ्य उपकरणको खरिदमा स्वास्थ्यमन्त्री  मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिव रोशन पोख्रेल, स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता कौशल मिश्रा, विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक (पुस २२ पछि हाल वीरमा सरुवा गरिएका) डा. सर्वेश शर्मा र महाशाखाको खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाको जोडिँदै आएका छन्।

डा. शर्मालाई हटाउँदै व्यवस्थापन महाशाखाको निर्देशक डा. श्रवणकुमार शर्मालाई बनाइएको थियो। उनले काम सुरु गरे लगत्तै मेसिन, औजार तथा उपकरण खरिदको प्रक्रियाको टेन्डर स्वीकृति गरेर प्रक्रिया अगाडि बढाएका छन्।

व्यवस्थापन महाशाखाले प्राविधिक छनोटको चरणमा मेसिन उत्पादक कम्पनीको नेपाली सप्लायर्स (एजेन्ट) जिएच मेडिहेल्थ कन्सर्न प्रालिलाई छनोट गर्दै बिहीबार (१८, जनवरी २०२४) मा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरिसकेको छ।

यस विषयमा उकेराले मंसिर २७ गते मिलेमतोमा जिएचलाई करिब १२ करोडमा ८० लाखको ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’को टेन्डर दिने तयारीबारे समाचार प्रकाशित गरेको थियो। विभागको सूचनाले उकेराको समाचारको पुष्टि गरेको छ।

सङ्ख्यामा नै गडबड

विभागको महाशाखाले २०८० असोज ८ गते (२५ सेप्टेम्बर २०२३) मा १२ करोड ८० लाखमा ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ खरिद गर्नेगरी टेन्डर आह्वान गरेको थियो।

यो पनि विश्व बैङ्कको आर्थिक ऋण सहयोगमा कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स एन्ड हेल्थ सिस्टम प्रोजेक्टका लागि किन्न लागिएको सामाग्री हो।

यो टेन्डरको प्रिबिड बैठक असोज २६ गतेलाई तोकिएको थियो। मेसिन खरिदका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति कात्तिक १५ गते तोकिएको थियो। सोही दिन नै टेन्डर खुल्ने समय तोकिएको थियो।

तर, यी दुई खरिद हुने मेसिनको सङ्ख्या समेत टेन्डर कागजातमा फरक–फरक देखिएको छ। एक ठाउँमा यो रकममा कोल्पोस्कोप मेसिन सात सेट ल्याउनुपर्ने उल्लेख छ भने अर्को ठाउँमा १० सेट ल्याउनुपर्ने उल्लेख छ। यसबाट त्यही पैसामा सात सेट खरिद गर्न लागिएको हो वा दस सेट भन्ने विरोधाभास देखिन्छ।

थर्मोकोगुलेटर मेसिन भने चार सय सेट खरिदका लागि टेन्डर भएको हो। कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ खरिदमा समेत मिलेमतो देखिएपछि खरिद विवाद राष्ट्रिय सतर्कता केन्द्रमा पुगेको थियो। प्राविधिक पक्षमा खेलेर लक्ड गरी निश्चित कम्पनीसँगको मेसिनसँग मात्रै मिल्नेगरी बनाइएको प्राविधिक स्पेशिफिकेशनबारे सतर्कताले चासो नराखी केवल खरिद प्रक्रिया मात्र हेरेर स्वीकृत गरेको थियो।

‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ मेसिन खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याउन व्यवस्थापन महाशाखाका नवनियुक्त निर्देशक डा. थापाको भूमिका देखिन्छ। डा. थापाले मेसिन खरिदका लागि नेपाली सप्लायर्स ‘जिएच मेडिहेल्थ कन्सर्न प्राली’लाई  प्राविधिक मूल्याङ्कनको चरणमा छनोटको निर्णय गर्दै आर्थिक छनोटका लागि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी निर्णय गरेको देखिन्छ। उनी व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारीमा छन्।

महाशाखाले बिहीबार ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ मेसिन खरिदका लागि एक दैनिक पत्रिकामा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरिसकेको छ।

यसरी हेर्दा सामान्यतः आर्थिक प्रस्ताव खोल्ने निर्णय गरेको १–२ दिनपछि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी हुन्छ।

बिहीबार आर्थिक प्रस्तावको सूचना जारी हुनुले डा. शर्मा व्यवस्थापन महाशाखाको निर्देशक हुँदा खरिद प्रक्रिया अगाडी बढेको ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’को खरिदका लागि आर्थिक प्रस्ताव खोल्ने निर्णयमा डा. थापाले हस्ताक्षर गरेको देखिन्छ।

यो विषयमा जानकारीका लागि उकेराले पटक–पटक डा. थापासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।

 

१२ करोड ८० लाखको खरिद अन्तिम चरणमा

टेन्डर प्रस्तावपछि टेन्डर पाउनका लागि प्राविधिक र आर्थिक छनोट पार  गर्नुपर्ने हुन्छ। तर, व्यवस्थापन महाशाखाले प्राविधिक छनोटको चरणमा मेसिन उत्पादक अमेरिकन कम्पनीको नेपाली सप्लायर्स (एजेन्ट) जिएच मेडिहेल्थ कन्सर्न प्रालिलाई छनोट गर्दै बिहीबार (१८, जनवरी २०२४) मा आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना नै जारी गर्यो।

आर्थिक चरणमा जिएच मेडिहेल्थ कन्सर्न प्रालिलाई मात्रै छनोट गरेकाले अब उसैले करिब १२ करोड ८० लाखको ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’को मेसिनको टेन्डर पाउने निश्चित नै छ। आर्थिक प्रस्ताव खोल्ने सूचनामा उल्लेख भए अनुसार माघ ११ गते (२५ जनवरी २०२४) १२ बजेलाई आर्थिक प्रस्ताव खुल्ने तोकिएको छ।

महाशाखाले जिएच मेडिहेल्थ कन्सर्न प्रालिलाई ‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’को टेन्डर दिनेगरी आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी जारी गरेको सूचनामा,‘पर्सुयन्ट टु क्लज ३१(४) एन्ड (५) अफ पब्लिक प्रकुरमेन्ट रेगुलेशन २०६४, दिस इज टु नोटिफाइ अल दी बीडर्स द्याट दी फलोविङ सब्स्टेन्सियल्लि रेस्पोन्सिभ टेक्निकल बिडर ह्याज बीन सेलेक्टेड फर फरदर इभ्यालुयशन एज पर दी रिक्वेष्ट फर बिड्स पब्लिष्ट्ड अन गोरखापत्र डिओएचएस डिसाइड्स टु ओपन दी प्राईज बिड अन २५ जनवरी २०२४ अन १२ आवर’ लेखिएको छ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ‘३१ज’ को उपनियम (५) मा उपनियम (४) बमोजिमका योग्यताको सबै आधारमा सफल हुने बोलपत्र सारभूत रूपमा प्रभावग्राही बोलपत्र मानिने र त्यस्तो सफल सबै  बोलपत्रदातालाई आर्थिक प्रस्ताव खोल्ने स्थान, मिति र समय उल्लेख गरी सोही मिति र समयमा उपस्थित हुन राष्ट्रियस्तरको बोलपत्रको हकमा कम्तीमा सात दिन र अन्तर्राष्ट्रियस्तरको बोलपत्रको हकमा कम्तीमा पन्ध्र दिनको अवधि दिई सूचना गर्नुपर्ने उल्लेख छ।

प्राविधिक स्पेशिफिकेशन नै निश्चित मेसिनसँग मात्रै मिल्नेगरी बनाएकाले प्राविधिक चरणमा नेपाली सप्लायर्स जिएच मेडिहेल्थ कन्सर्नप्रालि स्वतः छनोट हुने नै भयो।

महाशाखाले प्राविधिक रूपमा जिएच मेडिहेल्थ कन्सर्न प्रालिलाई मात्रै छनोट गरेकाले आर्थिक रूपमा पनि उसैलाई छनोट गरेर टेन्डर दिने करिब निश्चित छ।

प्राविधिक रूपमा छनोट भइकसेपछि मेसिन खरिदका  लागि टेन्डर आह्वान गर्ने संस्थाको बजेटको सीमाभित्र रहेर आर्थिक प्रस्ताव पेस गरेका सप्लायर्स आर्थिक चरणमा छनोट हुन सक्छन्।

प्राविधिक र आर्थिक दुवै चरणमा छनोट भएको कम्पनीको टेन्डर स्वीकृत हुन्छ। अब आर्थिक मूल्याङ्कनको चरणमा जिएच मेडिहेल्थ कन्सर्न छनोट भएपछि उसैले टेन्डर पाउँछ र खरिद सम्झौता हुन्छ।

 

मेसिन खरिदमा विभागको अपत्यारिलो जवाफ

‘कोल्पोस्कोप मेसिन र थर्मोकोगुलेटर मेसिन’ खरिदमा समेत मिलेमतो देखिएपछि यो खरिद विवाद राष्ट्रिय सतर्कता केन्द्रमा पुगेको थियो।

‘कोल्पोस्कोप मेसिन, थर्मोकोगुलेटर मेसिन’ र ‘पोर्टेबल युएसजी (अल्ट्रासाउन्ड) मेसिनको खरिदमा व्यवसायिहरुसँग मिलेमतो गरी एक मात्र कम्पनीलाई मिल्ने स्पेशिफिकेशन र सर्तहरू राखी प्रतिस्पर्धालाई खुम्च्याउने गरी करोडौँको भ्रष्टाचार हुन लागेको भनी उजुरीको विषयमा प्रतिक्रियासहित कागजात पठाएको विभागले सतर्कतालाई पठाएको पत्रमा उल्लेख छ।

विभागले आर्थिक वर्ष २०८०-०८१ को बजेट वक्तव्यको बुँदा नम्बर २३४ अनुसार महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तनको क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई क्रमशः विस्तार गरिने व्यवस्था रहेको सतर्कतालाई पठाएको पत्रमा उल्लेख छ।

विभागले सतर्कतालाई पठाएको पत्रमा विभिन्न स्वास्थ्य संस्था (पालिका स्तरीय ५, १०, १५ बेड अस्पताल सहित), प्रादेशिक तथा सङ्घीय अस्पतालहरूमा थर्मोकोगुलेटर माग भएको जनाएको छ। यसरी हेर्दा विभागले सतर्कतालाई अपत्यारिलो जवाफ दिएर प्रशासनिक कर्मकाण्डी पूरा गर्दै प्राविधिक  विषय लुकाएर खरिद प्रक्रिया अगाडी बढाएको देखिन्छ।

विभागले सतर्कतालाई पठाएको पत्रमा ‘औजार, उपकरणहरू खरिद, जडान तथा सञ्चालन शीर्षकमा दुई अर्ब ४२ करोड बजेट प्राप्त भएको’ उल्लेख छ। एक महिना अघि मंसिर २७ गते ‘स्वास्थ्य सेवा विभागको साढे दुई अर्बको अधिकांश टेन्डर मिलेमतोमा, सहजकर्ता यज्ञ भण्डारी, २० प्रतिशतसम्म कमिसन’ शीर्षकमा समाचार सम्प्रेषण गरी उकेराले कमिसनको खेलको खुलासा गरेको थियो। उकेराले सम्प्रेषण गरेको समाचारमा उल्लेख भएको खरिदको अढाई अर्ब रकमलाई विभागले सतर्कतालाई पठाएको सो पत्रले पुष्टि गरेको छ।

खरिदमा यस्तो हुन्छ भूमिका

खरिदमा व्यवस्थापन महाशाखाको खरिद महाशाखाका निर्देशकको जिम्मेवारी हुन्छ नै। स्वास्थ्य सेवा विभागका महानिर्देशक (डा. मिश्रा) को पनि त्यतिकै जिम्मेवारी हुन्छ। खरिद प्रक्रिया अगाडि बढाउने काम र खरिद गर्ने सामग्रीको स्वीकृतिका लागि विभागको महानिर्देशककहाँ पठाउने काम व्यवस्थापन महाशाखाका निर्देशकको हो।

त्यसै गरी खरिद प्रक्रियाको कागजात हेरेर सामग्री खरिदका लागि व्यवस्थापन महाशाखाका निर्देशकले अगाडि बढाएको फाइललाई स्वीकृत गर्ने वा नगर्ने भन्ने जिम्मेवारी विभागको महानिर्देशकको हुन्छ।

त्यसै गरी व्यवस्थापन महाशाखा अन्तर्गतको खरिद शाखाका प्रमुख डा. सुरेन्द्र चौरासिया छन्। उनको पनि खरिदमा जिम्मेवारी त्यतिकै हुन्छ। त्यसो त खरिदमा स्वास्थ्यमन्त्री र सचिव जोडिने नै भए।

त्यसै गरी खरिद हुने सामग्रीको प्राविधिक स्पेशिफिकेशन बनाउने बायोमेडिकल इन्जिनियरको भूमिका समेत कसलाई टेन्डर पार्ने भन्नेमा महत्त्वपूर्ण हुन्छ।

उकेराले खरिदमा भएको अनियमितताको विषयमा निरन्तर समाचार सम्प्रेषण गर्दै आएको छ।

 

एक करोड ६० लाखको जेनेरल इक्युप्मेन्टको टेन्डर छनोट

त्यसै गरी अन्य दुई वटा टेन्डरको पनि आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी बिहीबारै सूचना जारी गरेको छ। महाशाखाले २०८० भदौ २९ गते शुक्रवार (१५ सेप्टेम्बर, २०२३) मा ‘जेनेरल इक्विप्मेन्ट एन्ड प्रोसेड्यूर सेट्स’ एक करोड ६० लाखमा खरिद गर्नेगरी टेन्डर आह्वान गरेको थियो, जसमा स्टेस्थेस्कोप सहितको दुई हजार बीपी सेट, इएनटी सेट २५, डेलिभरी सेट दुई सय र पोस्टमार्टम सेट एक सय सेट खरिदका लागि टेन्डर भएको हो।

यो पनि विश्व बैङ्कको आर्थिक ऋण सहयोगमा किन्न लागिएको हो। यो टेन्डरको प्रिबिड बैठक असोज १७ गतेलाई तोकिएको थियो भने टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति असोज २९ गतेलाई तोकिएको थियो। सोही दिन टेन्डर खुल्ने मिति तोकिएको थियो।

यो टेन्डरको सामग्री खरिदका लागि लब्लाईनज ट्रेडर्स प्रालि र एसियन ग्लोबल ट्रेडिङ प्रालिलाई प्राविधिक चरणमा छनोट गरी आर्थिक मूल्याङ्कनको चरणमा लगिएको हो।

 

तीन करोडको प्रयोगशालाका मेशिन लबलाइनलाई

विभागको व्यवस्थापन महाशाखाले तीन करोडमा ल्याबोरेटोरी (प्रयोगशाला)का मेशिन तथा स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वान टेडेर पनि प्राविधिक मूल्याङ्कनको चरणमा लबलाइन ट्रेडर्सलाई नै टेन्डर दिनेगरी छनोट गर्दै आर्थिक प्रस्ताव खोल्ने सम्बन्धी सूचना जारी गरेको छ।

महाशाखाले २०८० भदौ ११ गते सोमबार (२८ अगस्ट, २०२३) मा तीन करोडमा ल्याबोरेटोरी (प्रयोगशाला)का मेशिन तथा स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर आह्वान गरेको थियो। ल्याबोरेटोरिसँग सम्बन्धित ‘हट एयर ओभन ७५ सेट, वाटर बाथ ७५ सेट, सेन्ट्रिफ्युज मेसिन सय सेट, माइक्रोस्कोप सय सेट र इन्कुबेटर २५ सेट’ खरिदका लागि टेन्डर आह्वान भएको थियो।

यो स्वास्थ्य सामग्री खरिदका लागि प्रिबिड बैठक भदौ २९ लाई तोकिएको थियो। टेन्डर प्रस्ताव गर्ने अन्तिम मिति असोज दस गतेलाई तोकिएको थियो र सोही दिन टेन्डर खुल्ला हुने मिति तोकिएको थियो। यो पनि विश्वबैंकको आर्थिक ऋण सहयोगमा आएको रकमबाट किन्न लागिएको हो।

४ माघ, २०८०, २१:१५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।