छोरी बलात्कार गरेर २१ वर्षीय छोरा मारेको आरोपी बाबुविरुद्ध भाइको जाहेरी

छोरी बलात्कार गरेर २१ वर्षीय छोरा मारेको आरोपी बाबुविरुद्ध भाइको जाहेरी

सुर्खेत : १९ वर्षिया छोरीको बलात्कार गरेको घटना खुलेपछि प्रहरीमा जाहेरी दिएको रिसमा २१ वर्षीय छोराको हत्या गरेर फरार भएको आरोपी ४२ वर्षीय विरुद्ध उनकै भाइले जाहेरी दिएका छन्।

गत सोमबार राति सुर्खेतमा आफ्नै छोरालाई बन्चरोले हानेर मारेर फरार भएका आरोपी बाबुविरुद्ध बुधवार मृतकका काकाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कृष्णबहादुर खड्काले जानकारी दिए ।

‘आज दिउँसो ४ बजे मृतकका काकाले उनकै जाहेरी दिनुभएको छ । आरोपित फरार रहेकोले हामीले विभिन्न संयन्त्र मार्फत खोजी गरिरहेका छौँ,’ प्रहरी निरीक्षक खड्काले भने, ‘शव पोस्टमार्टमका लागि प्रदेश अस्पतालमा छ । विस्तृत विवरण अनुसन्धानपछि मात्रै खुल्नेछ ।’

गत असोज २७ गते १९ वर्षीय छोरीलाई बलात्कार गरेको भन्दै कात्तिक १५ गते प्रहरीमा जाहेरी परेको थियो। जाहेरी परे लगत्तै फरार भएका आरोपित भारतमा लुकेर बसेका थिए।

भारतमा काम गर्ने बाबु नेपाल फर्किएर छोरीलाई भेट्न बोलाएर बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेपछि कान्छी श्रीमती लिएर उनी भारत भागेका थिए। बहिनीको बलात्कार गर्ने बाबुविरुद्ध प्रहरीमा जाहेरी दिएका युवक मारिए। अनुसन्धानमा उनकै बाबु भारतबाट आएर हत्यापछि भागेको देखिएपछि मृतकका काकाले प्रहरीमा बुधवार जाहेरी दिएका थिए।

घटनापछि मङ्गलवार नै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण शर्मा, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी हवलदार टिकाराम आचार्य र नेपालगन्जबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा गएर विस्तृत अनुसन्धान गरेको थियो । राति १ बजे मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका कारण आरोपित फरार भएको प्रहरीको भनाई छ।

३ माघ, २०८०, १८:२२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।