बजारमा डा. बाँस्तोलाको ‘सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म’

बजारमा डा. बाँस्तोलाको ‘सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म’

काठमाडौं : प्राध्यापक डाक्टर दिनेश बाँस्तोलाको ‘सुहागरातः पहिलो पुस्तक यौनदेखि बुढेसकालसम्म’ बजारमा आएको छ। चार दशकभन्दा लामो समयको सेवाकालमा अध्ययन गरेका यौन शिक्षासँग सम्बन्धित विषयको संगालो होे–‘सुहागरात’।


यौन शिक्षासँग सम्बन्धित विषयलाई समेटेर डा. बाँस्तोलाले व्यक्तिमा शारीरिक तथा मानसिक रूपमा यौनजन्य समस्या निम्तिनुका कारण, यसले निम्त्याउने समस्या र यसका समाधानका उपायका विषयलाई समेटेर लेखहरू प्रस्तुत गरेका छन्। 


शरीर क्रिया विज्ञान र यौन बीचको सम्बन्ध, प्राकृतिक यौन, अस्वस्थ यौनका कारण यौन जोडी बीचमा उत्पन्न हुनसक्ने उतारचढाव तथा समस्या लगायतका विषयमा चिकित्सकीय दृष्टिकोणले यौन शिक्षा दिनु यो पुस्तकको उद्देश्य रहेका लेखक डा. बाँस्तोलाले जानकारी दिए।


विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका सङ्कलित लेखहरूको सँगालोका रूपमा ‘सुहागरातः पहिलो यौनदेखि बुढेसकालसम्म’ पुस्तक पाठकसामु ल्याएको लेखक डा. बाँस्तोलाले बताएका छन्।

डा. बाँस्तोलाले लेखेका लेख सङ्कलन गरी पुस्तक तयार गरिएको यो पुस्तकका प्रकाशक तथा सम्पादक उपेन्द्र खड्काले जानकारी दिएका छन्। 


विभिन्न पत्रिकामा प्रकाशित छरिएर रहेका लेख एउटै पुस्तकमा पढ्न मिलोस् भन्ने उद्देश्यले नै लेख सङ्कलन गरी पुस्तकको रूपमा तयार गरिएको प्रकाशकले बताए।


सृष्टि चक्रका लागि होस् वा व्यक्ति शारीरिक तथा मानसिक स्वास्थ्य, सामाजिक र यौनानन्दका लागि नै किन नहोस् स्वस्थ यौन सम्बन्धी आवश्यक हुने विषय पुस्तकमा समेट्ने प्रयास गरेको लेखकले बताएका छन्।  


यौनको सवालमा चिकित्सकीय दृष्टिकोण तथा यथार्थता पुस्तकमार्फत चिर्ने प्रयास गरेको देखिन्छ।

त्यसैगरी व्यक्तिगत, शारीरिक तथा मानसिक, पारिवारिक, सामाजिक, सांस्कारिक र आर्थिक लगायतका दृष्टिकोणमा यौन सम्बन्धी भ्रम र यथार्थलाई केलाएर पुस्तकमा पस्कने प्रयास गरेको डा. बाँस्तोलाले बताएका छन्। यौनजन्य कुण्ठा तथा यौनजन्य समस्या र यौन अनुशासनहीनताका कारणले पर्ने प्रभाव लगायतका विषय यो पुस्तकमा समेट्ने प्रयास गरेको देखिन्छ।

यो डा. बाँस्तोलाको पहिलो पुस्तक हो। यसको मूल्य पाँच सय ७५ रहेको छ। 


सुहागरात पुस्तकमा ८० वटा शीर्षकका लेख समेटिएको छ। यो पुस्तकमा सुहागरात, यौन आसन, यौनका लागि कुन समय ठीक?, पहिलो यौन उत्सव, उमेरको असन्तुलनमा यौन, बालबालिका सुतेको कोठामा यौन गर्दाको जोखिम, यौनमा शरीर र मनको भूमिका, यौन कुण्ठा र मानसिक अवस्थाको सम्बन्ध जस्ता शीर्षक यो पुस्तकमा समेटिएका छन्।

त्यसैगरी यौन कौतुहलताको व्यवस्थापन, विवाहअघि जोडीको परीक्षण, कुमार–कुमारित्व तोडिँदाको क्षण, रजस्वला: धार्मिक–सामाजिक बन्देज र व्यवस्थापन, सुत्केरीपछिको यौन जीवन, स्तनपान र यौन उत्तेजना, प्रतिस्पर्धात्मक खेल खेल्न नजाने यौन कार्यमा असन्तुष्ट, आपतकालीन गर्भ बसे के गर्ने? भन्ने जस्ता विषय पुस्तकमा रहेका छन्। 


त्यस्तै, परिवार योजनाका विधि, बच्चा नहुने जोखिम, हस्तमैथुनले बाँझोपन बढाउँछ, गर्भधारणको उपाय, उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम, गलग्रन्थीले यौनमा समस्या, बन्ध्याकरणले यौन शक्ति घट्दैन, साइबर यौनको जोखिम, सेक्स टोयको जोखिम, यौन र खानाको सम्बन्ध, यौनमा मौसमको प्रभाव, भट्टीमा सवारी चालकको यौन कर्म, पेसामा यौनको प्रभाव, धर्मगुरुको यौन कुण्ठा, बुढेसकालको यौन जस्ता विषय ‘सुहागरात’ पुस्तकमा समेटिएको छ।


२०१४ मा कास्की जिल्लाको तत्कालीन ह्याङ्जामा जन्मिएका डा. बाँस्तोला वि. सं. २०३७ सालबाट निरन्तर चिकित्साशास्त्रको शिक्षण पेसामा थिए। डा. बाँस्तोला २०६१ मा काठमाडौंको त्रिभुवन विश्वविद्यालय, महाराजगञ्ज चिकित्सा क्याम्पसमा ‘क्लिनिकल फिजियोलोजी’ विभागमा स्थायी उपप्राध्यापकको रूपमा जागिरे भएका डा. बाँस्तोलाले २०७६ मा उमेर हदका कारण अवकाश पाए। 


त्यसपछि डा. बाँस्तोलाले केही समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्लिनिकल फिजियोलोजी विभागमा  प्राध्यापकका रूपमा काम गरेका थिए।


चिकित्साशास्त्रका विभिन्न विषयका समकक्षता र पाठ्यक्रम निर्माण लगायतमा उनको नेतृत्वदायी भूमिका छ। उनका पत्रपत्रिका तथा विभिन्न सञ्चारमाध्यममा डा. बाँस्तोलाका लेख, रचना सम्प्रेषण भएका छन्।

२९ पुस, २०८०, ०९:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।