नागरिक उन्मुक्तिको पहिलो महाधिवेशनमै श्रीमान्-श्रीमतीको खटपट

नागरिक उन्मुक्तिको पहिलो महाधिवेशनमै श्रीमान्-श्रीमतीको खटपट

काठमाडौँ : कानुनी प्रश्न रहँदारहँदै पहिलो महाधिवेशनबाटै रेशम चौधरीले पार्टीको प्रत्यक्ष कमान्ड आफ्नो हातमा लिएपछि संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ रुष्ट भएकी छिन्।

रेशम कानुनी रूपमा अध्यक्ष बन्न नपाउने भएपछि रञ्जिताको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। रेशम संरक्षक थिए। क्रूर हत्या पुष्टिसँगै कारागारमा रहेका उनको बाँकी कैद राष्ट्रपतिबाट मिनाहा भएपछि उनी संरक्षकबाट आफैँ पार्टी अध्यक्ष हुने चाहे।

रञ्जिता रेशमलाई अभिभावकको भूमिकामा राखेर आफू पार्टी अध्यक्ष हुने प्रयासमा थिइन्। बिहीबार बेलुकासम्म त्यही सहमति भए पनि रञ्जिता अगाडि नै रेशमले उम्मेदवारी दर्ता गरेपछि उनले उम्मेदवारी दिइनन्।

पार्टीस्रोतका अनुसार उनी उम्मेदवारी दर्ताका लागि मात्रै हैन शुक्रवार महाधिवेशनस्थलमै देखिइनन्। उता रेशम भने सर्वसम्मत अध्यक्ष भए।

उनी अध्यक्ष भए पनि जटिल कानुनी प्रश्न भने बाँकी नै छ। राजनीतिक दल सम्बन्धी ऐनले जटिल फौजदारी अभियोग प्रमाणित भएकाहरूको हकमा राजनीतिक दलको सदस्य समेत स्वीकार गर्दैन।

उनी त टिकापुर हत्याकाण्डको मुख्य योजनाकारको रूपमा तल्लो निकायदेखि माथिल्लो निकायका अदालतसम्मबाट दोषी प्रमाणित व्यक्ति हुन्।

सरकारले उनीविरुद्ध लागेको मुद्दा फिर्ता लिएको हैन। सरकारको सिफारिसमा अदालतले तोकेको बाँकी कैद माफ भएर रिहा भएका हुन्। कानुनी रूपमा उनी अहिले गम्भीर अपराधमा कैद सजाय काटेर कारागारबाट बाहिरिएका व्यक्ति हुन्।

२७ पुस, २०८०, २२:४५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।