तथ्याङ्क भन्छ- कर्णालीमा सुरक्षित छैनन् छोरीबुहारी

तथ्याङ्क भन्छ- कर्णालीमा सुरक्षित छैनन् छोरीबुहारी

सुर्खेत : गत असोज ४ गते पश्चिम सुर्खेतकी १३ वर्षीया बालिकाको सामुहिक बलात्कार भयो। घटनामा संलग्न एक १९ युवक, तीन १५ वर्षीय किशोर र एक १६ वर्षीय किशोरलाई प्रहरीले ५ गते नै पक्रियो।

घटनामा संलग्नता नभएको भन्दै सरकारी साक्षीका रूपमा दुई दिनपछि एक १५ वर्षीय किशोरलाई साधारण तारेखमा छोडियो। असोज १९ गते जबरजस्ती करणी उद्योगको प्रयास गरेका १९ वर्षीय युवकलाई जिल्ला अदालत सुर्खेतले एक लाख रुपैयाँ धरौटीमा छोडिदियो।

दुई १५ वर्षीय किशोर र एक १६ वर्षीय किशोरलाई अदालतले पुर्पक्षका लागि बाल सुधार गृहमा राख्ने आदेश दियो। छिमेकीको घरमा जन्मदिन मनाएर घर फर्किने क्रममा ती बालिकामाथि बलात्कार भएको थियो।

०००

त्यस्तै अर्की १३ वर्षीया बालिकालाई पनि गत भदौ ३० गते काक्रेबिहारको जंगलमा बलात्कृत भइन्।

बलात्कारको आरोपमा असोज ५ गते प्रहरीले दैलेखका २५ वर्षीय भक्तिराम कँडेललाई पक्राउ गरेर अनुसन्धान थाल्यो। उनीविरूद्ध असोज १५ गते सुर्खेत जिल्ला अदालतमा जबरजस्ती करणीमा शीर्षकमा मुद्दा दर्ता भयो।

असोज २२ गते अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठायो।

०००

वीरेन्द्रनगर-१० की ३० वर्षीया अनिता चौधरीलाई उनका श्रीमान् महेन्द्र चौधरीले गत वैशाख १६ गते कुटपिट गरी घरबाट निकाले। श्रीमानले सोही ठाउँकी ३६ वर्षीया युवतीसँग दोस्रो विवाह गर्ने योजना अनुसार आफूलाई घरबाट निकालेको अनिता बताउँछिन्।

वैशाख २४ गते अनिताले जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा घरेलु हिंसा र बहुविवाहमा मुद्दा दायर गरिन्। जिल्ला अदालत सुर्खेतले साउन १२ गते बहुविवाहको दावी नपुगेको भन्दै मुद्दा खारेज गरिदियो। अहिले उनको सम्बन्ध विच्छेदमा मुद्दा चलिरहेको छ।

०००

दाइजो दिन नसक्नेकी छोरी भन्दै वीरेन्द्रनगर नगरपालिका-१० की २४ वर्षीया मनिषा घर्तीलाई उनका श्रीमान् प्रकाश कुमारले भदौ १६ गते मदिरा खाई ढोका थुनेर मरणासन्न हुनेगरी कुटपिट गरे। मनिषाले भदौ १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइन्।

प्रहरीले मिलापत्र गर्न भने पनि नभएपछि भदौ २९ गते उनले जिल्ला अदालत सुर्खेतमा खानाखर्च र सम्बन्ध बिच्छेदको मुद्दा दायर गरिन्। अहिले उनको मुद्दा चालु अवस्थामै छ।

०००

यी केही प्रतिनिधि घटना मात्रै हुन्। विगत केही वर्षको प्रहरीमा आएको उजुरी हेर्ने हो भने कर्णालीमा छोरीबुहारी सुरक्षित देखिँदैनन्।

प्रहरीमा आएको मुद्दाको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै जबरजस्ती करणीका मुद्दा दर्ता छन्। त्यसैगरी घरेलु हिंसा, बहुविवाह र बालविवाहको संख्यासमेत उस्तै छ। बाल यौन दुराचार, यौन दुर्व्यवहार तथा बोक्सीको आरोपसम्बन्धीका मुद्दाहरू समेत प्रहरीकोमा बर्सेनी बढिरहेका छन्।

नचिनेकादेखि आफन्त र आफ्नै परिवारबाटै छोरीबुहारी सुरक्षित छैनन् भन्ने विषय प्रहरी तथ्याङ्कले देखाएको छ।

के बोल्छ तथ्याङ्क?
विगत चार वर्ष बढीको अवधिभित्र कर्णालीमा प्रहरीले सात सय ४८ वटा जबरजस्ती करणीका मुद्दा दर्ता गरेको कर्णाली प्रदेश प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता बीरबहादुर ओलीले जानकारी दिए। उनका अनुसार यो संख्या २०७६/०७७ यता हाल २०८०/०८१ को मंसिर मसान्तसम्मको हो।

२०७६/०७७ मा प्रहरीले जबरजस्ती करणीका एक सय ४१ वटा मुद्दा दर्ता गरेकोमा २०७७/०७८ मा एक सय ५४, २०७८/०७९ मा एक सय ५४, २०७९/०८० मा दुई सय पाँच र चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर मसान्तसम्ममा ९४ वटा मुद्दा प्रहरीकोमा दर्ता भइसकेका छन्।

जबरजस्ती करणी उद्योगतर्फ समेत अवस्था उस्तै छ। चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर मसान्तसम्ममा प्रहरीले कुल १९ वटा जबरजस्ती करणी उद्योगतर्फ मुद्दा अघि बढाइसकेको छ। २०७७/०७८ मा ५६, २०७८/०७९ मा ४६, २०७९/०८० मा ४५ वटा मुद्दा प्रहरीकोमा दर्ता भइसकेका छन्।

मुद्दाको संख्या हेर्दा कर्णालीमा बहुविवाह र बालविवाहको अवस्थासमेत भयावह देखिन्छ। २०७६/०७७ यता प्रहरीले तीन सय ६२ वटा बहुविवाह सम्बन्धीका मुद्दा दर्ता गरेको थियो। त्यसैगरी २०७६/०७७ यता कर्णालीमा ६० वटा बालविवाहका मुद्दा दर्ता भएका छन्।

२०७६/०७७ मा प्रहरीले ७९ वटा बहुविवाहका मुद्दा दर्ता गरेको थियो। २०७७/०७८ मा ९६ वटा, २०७८/०७९ मा ८१ वटा, २०७९/०८० मा ७४ वटा र २०८०/०८१ को मंसिर मसान्तसम्ममा ३२ वटा मुद्दा प्रहरीले दर्ता गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ।

बालविवाहतर्फ समेत कर्णालीमा बर्सेनी दर्जनौं संख्यामा मुद्दा दर्ता भएका छन्।

२०७६/०७७ मा १२ वटा बालविवाहका मुद्दा प्रहरीले दर्ता गरेको थियो। २०७७/०७८ मा यो संख्या बढेर २० मा पुगेको थियो। त्यसैगरी २०७८/०७९ मा ११ र २०७९/०८० मा १६ वटा बालविवाहको मुद्दा दर्ता भएको प्रवक्ता ओलीले बताए।

महिला तथा बालबालिकामाथि भएका यौन दुर्व्यवहार र दुराचारका मुद्दाको संख्या समेत उस्तै देखिन्छ।

२०७६/०७७ यता प्रहरीले कर्णालीमा कुल १२ वटा यौन दुर्व्यवहार सम्बन्धी मुद्दा दर्ता गरेको छ। २०७७/०७८ मा तीन वटा, २०७८/०७९ मा ६ वटा र २०७९/०८० मा तीनवटा मुद्दा प्रहरीले दर्ता भएको थियो।

बाल यौन दुराचारतर्फ पनि २०७६/०७७ यता २० वटा मुद्दा दर्ता गरिएका छन्।

२०७६/०७७ मा ६ वटा, २०७८/०७९ मा पाँचवटा, २०७९/०८० मा समेत पाँचवटा मुद्दा दर्ता भएको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को मंसिर मसान्तसम्ममा प्रहरीले चारवटा बाल यौन दुराचार सम्बन्धीका मुद्दा प्रहरीले दर्ता गरिसकेको छ।

२०७६/०७७ मा प्रहरीले दुईवटा मुद्दा बोक्सीको आरोप विषयमा अघि बढाएको थियो। त्यसयता कर्णालीमा यस विषयसँग सम्बन्धित मुद्दाहरूको संख्या समेत न्यूनीकरण भएको अवस्था छैन। २०७७/०७८ मा चार वटा, २०७८/०७९ मा दुई र २०७९/०८० मा समेत दुईवटा मुद्दा बोक्सीसम्बन्धी थिए। 

त्यस्तै महिलाहरूमाथि हुने घरेलु र पारिवारिक हिंसाको अवस्था पनि उस्तै छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ८७५, २०७८/०७९ मा ८८३ र २०७९/०८० मा ८५८ गरी २६ सय १६ महिलामाथि परिवार, श्रीमान् र छिमेकीबाट घरेलु हिंसा भएका छन्।

महिलामाथि हुने हिंसामा प्रदेशका १० जिल्ला मध्ये राजधानी समेत रहेको सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम छ।

कर्णालीमा छोरीबुहारी सुरक्षित नहुनु गरिबी र अशिक्षा रहेको महलिा तथा बालबालिकाका क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था आवाजकी निर्देशक पवित्रा शाही बताउँछिन्।

‘भौगोलिक रुपमा पनि विकट छ। त्यसैमाथि उच्च शिक्षाको पहुँचमा छोरीबुहारी छैनन्। समाजमा पनि मानवीय चेतनाको स्तर कमजोर नै छ,’ उनले भनिन्, ‘अपराध न्यूनिकरण गर्न शिक्षा र चेतना नै आवश्यक पर्दछ।’

सरकारले शिक्षामा प्रभावकारी सहभागिता बनाई विभिन्न गैरसरकारी संघ संस्थाको समन्वयमा सचेतना जगाउनुपर्ने अधिकारकर्मी शाहीको सुझाव छ।

सचेतना र स्वरोजगारमूलक कार्यक्रम ल्याइ महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाउन सके हिंसा न्यूनीकरण हुने उनले बताइन्।

२५ पुस, २०८०, ०८:५०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।