प्रदर्शन सामान्य हुने नदेखिएपछि सर्लाहीकाे बरहथवामा पुन: लगाइयाे कर्फ्यु

प्रदर्शन सामान्य हुने नदेखिएपछि सर्लाहीकाे बरहथवामा पुन: लगाइयाे कर्फ्यु
फाइल फोटो

काठमाडौं : सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी गरिएको छ।

प्राथमिक स्वास्थ्य केन्द्रको विवाद हुँदा शुक्रबार प्रहरीको गोली लागेर एक जनाको मृत्यु भए पश्चातकाे अवस्था शान्त नभएपछि पुनः सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो।

आज दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए।

बरहथवा नगरपालिका क्षेत्रमा विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनाको तोडफोड, आगजनी तथा हुलदङ्गा लगायतका कारण सार्वजनिक शान्ति सुरक्षा भंग हुनसक्ने देखिएकाले बरहथवा नगरक्षेत्र भित्र कर्फ्यु लगाइएको हो।

प्रजिअ धमलाका अनुसार उत्तर सोती-चोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान सीमामा कर्फ्यु लगाइएको छ।

यसअघि शुक्रबार घटना पश्चात शनिबार बिहानसम्म कर्फ्यु लगाइएको थियो भने त्यसपछि निषेधाज्ञा जारी गरिएको थियो। प्रहरीको गोली लागेर मृत्यु भएको जयशंकर साहको शव भने अहिले पनि सडकमै रहेको छ।

२२ पुस, २०८०, १३:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।