बरहथवामा मारिएका जयशंकरको शव अझै सडकमै, मृतकको सालिक निर्माण गर्नुपर्ने माग

बरहथवामा मारिएका जयशंकरको शव अझै सडकमै, मृतकको सालिक निर्माण गर्नुपर्ने माग
फाइल फोटो

 

काठमाडौं : सर्लाहीको बरहथवामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवकको शव अझैसम्म सडकमै छ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेका अनुसार प्रदर्शनका क्रममा चलेको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका-६ का जयशंकर साहको शव आजसम्म घटनास्थलमै छ।

मृतकको परिवार र प्रदर्शनकारीहरूसँग निरन्तर छलफल भइरहेको भएपनि सहमति जुट्न नसकेका कारण उनीहरूले शव उठाउन नदिएको सहायक प्रजीअ घिमिरेले बताए।

उनीहरूले राखेका अधिकांश मागहरू सम्बोधन गर्न तयार भएपनि कतिपय मागहरू तत्काल पूरा हुने अवस्था नरहेकाले लगातार छलफलमार्फत सहमतिको प्रयास भइरहेको उनले बताए।

मृतकका आफन्त, प्रदर्शनकारीहरूले मृतकको सालिक निर्माण गर्नुपर्ने, दोषीलाई कारबाही र घटनाको छानबिनको माग गरेका छन्।

अहिले शवलाई परालले छोपेर सडकमै राखिएको छ। मृतकका आफन्त, प्रदर्शनकारी र सुरक्षाकर्मीले घटनास्थलमै शव कुरेर बसेका छन्।

‘सहमति नगरी शव उठाउन सक्ने अवस्था छैन, प्रदर्शनकारी र मृतकका आफन्त आक्रोशित छन्। लगातार छलफल भइरहे पनि सहमति जुटेको छैन। आज प्रदेशका मन्त्रीज्यू पनि छलफलमा आउने भनिएको छ,’ उनले भने।

शुक्रबार प्रदर्शनका क्रममा गोली चलेपछि साहको मृत्यु भएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा पीडित परिवारलाई १० लाख राहत दिने निर्णय भएको छ।

घटनाको छानबिनका लागि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बहादुर बुढाथोकी सदस्य रहने गरी तीन सदस्यीय समिति गठन गरेको छ।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

२२ पुस, २०८०, १०:५७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।