सर्लाही अपडेट : मृतकका परिवारलाई १० लाख दिने र घटना छानबिन गर्ने सरकारको निर्णय, स्थानीय अझै प्रदर्शनमा

सर्लाही अपडेट : मृतकका परिवारलाई १० लाख दिने र घटना छानबिन गर्ने सरकारको निर्णय, स्थानीय अझै प्रदर्शनमा
फाइल फोटो

काठमाडौं : सरकारले सर्लाही जिल्लाको बरहथवामा भएको झडपमा ज्यान गुमाएका युवाका परिवारलाई १० लाख दिने र घटनाको छानबिन गर्ने निर्णय गर्यो।

तर पनि त्यहाँका स्थानीयहरू आन्दोलन गरिरहेकै छन्। आफूहरूको माग पूरा नभएसम्म उनीहरू शान्त हुने जस्तो देखिँदैनन्।

उनीहरूले मृतकको सालिक निर्माण गर्नुपर्ने, दोषीलाई कारबाही र घटनाको छानबिनको माग गरेर प्रदर्शन गरिरहेका छन्।

छानबिनको माग सम्बोधन भए पनि अरू मागका विषयमा भने सरकार बोलेको छैन। अहिले त्यहाँको स्थानीय बजार बन्द छ भने त्यस क्षेत्रमा गाडीसमेत चलेका छैनन्।

उक्त घटनाका विषयमा राजनीतिक दल तथा नागरिक समाजसँग छलफलमै रहेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए। उनले केही माग राजनीतिक प्रकृतिमा रहेकाले प्रशासनबाट हल हुन नसक्ने हुँदा सहजीकरणको काम भइरहेको बताए।

सहमति नहुँदा अहिलेसम्म घटनास्थलबाट शव उठ्न सकेको छैन। हिजो सो क्षेत्रमा कर्फ्यु लगाइए पनि अहिले बिहान ८ बजेदेखि २४ घण्टे निषेधाज्ञा मात्रै जारी गरिएको छ।

प्राथमिक स्वास्थ्य केन्द्र, बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने भन्ने विषयमा भएको प्रदर्शनमा हिजो ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।

स्थानीयले प्रहरीको गोली लागेर मरेको आरोप लगाएका छन्।

प्रहरीले भने घटनाको कारण खुलाएको छैन। उक्त घटनाबारे गृह मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरिसकेको छ।

घटनाको छानबिनका लागि गृहका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी सहभागी छानबिन समिति बनाएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा पीडित परिवारलाई १० लाख राहत दिने निर्णय पनि भएको गृह मन्त्रालयले जनाएको छ। यद्यपि त्यहाँका स्थानीय अझै प्रदर्शन गरिरहेका छन्।

घटनाका सम्बन्धमा नेपाली कांग्रेस, रास्वपा सभापति रवि लामिछाने लगायतले सत्यतथ्य छानबिनको लागि सरकारसँग माग गरिरहेका छन्।

२१ पुस, २०८०, १८:४७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।