अस्पताल माग्दा मारिएका जयशंकरको शव सडकमै, कर्फ्यु हटाएर निषेधाज्ञा लगायो प्रशासनले

अस्पताल माग्दा मारिएका जयशंकरको शव सडकमै, कर्फ्यु हटाएर निषेधाज्ञा लगायो प्रशासनले

काठमाडौँ : नगर अस्पतालको क्षमता वृद्धि र प्रदेशले चलाउनुपर्ने माग राख्दै शुक्रवार भएको आन्दोलनमा प्रहरीको गोली लागेर मारिएका जयशंकर साहको शव घटनास्थलबाट उठ्न सकेन।

बरहथवा नगरपालिका–६, मा रहेको १५ शय्याको नगर अस्पताल प्रदेशलाई हस्तान्तरण गरेर ५० शय्यामा स्तरोन्नती गर्न माग राख्दै भएको आन्दोलनमा गोली चलेको थियो।

शुक्रवारको आन्दोलनमा प्रहरीले चलाएको गोली टाउकोमा लाग्दा शाह जहाँ ढलेका थिए शव त्यहीँ छ। शुक्रवार बेलुकाबाट स्थानीय प्रशासनले सो क्षेत्रमा कर्फ्यु लगाएको थियो।

गोली चलेर ज्यानै गएपछि रिसाएका स्थानीय र साहका आफन्त थप रिसाउन सक्ने भन्दै प्रशासनले उनीहरू सहमत नभएसम्म घटनास्थलबाट शव उठाउने तयारीमा देखिएनन्। उनीहरूले घटनास्थलबाट शव उठाएर अस्पताल लैजान प्रयास समेत गरेको देखिएन।

गोली चलेर एक प्रदर्शनकारीको मृत्यु भएपछि प्रदर्शनमा स्थानीयवासी समेत मिसिए। त्यसपछि स्थिति नियन्त्रणमा लिन नसकिने भन्दै स्थानीय प्रशासनले शुक्रवार बेलुकाबाट सो क्षेत्रमा कर्फ्यु घोषणा गरेको थियो।

शनिवार कर्फ्यु त हट्यो। तर स्थानीय प्रशासनले आइतबार बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयले बरहथवा बजार क्षेत्रमा हिँडडुल गर्न, भेला हुन, प्रदर्शनमा रोक लगाएको छ।

२१ पुस, २०८०, १२:००:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।