सामान्य प्रदर्शनको असामान्य परिणाम, सर्लाहीमा गोली लाग्दा एक जनाको ज्यान गयो

सामान्य प्रदर्शनको असामान्य परिणाम, सर्लाहीमा गोली लाग्दा एक जनाको ज्यान गयो

सर्लाही : स्वास्थ्य चौकी नगरपालिकाले चलाउने निर्णयको विरोधमा भएको प्रदर्शनमा गोली चल्दा एक जनाको ज्यान गयो।

बरहथवा नगरपालिका-६ मा रहेको स्वास्थ्य चौकीको स्तरोन्नति गरेर ५० शय्या बनाएर चलाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाले निर्णय गरेको थियो।

पछि स्वास्थ्य चौकी नगरपालिकाले नै चलाउने निर्णय गरेपछि नेपाली कांग्रेस, जनमत पार्टी, जनता समाजवादी पार्टीले प्रदेशलाई नै हस्तान्तरण गर्न माग गरेका थिए।

शुक्रवार यही माग उठाउँदै कांग्रेसका कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउँदा गोली लागेर बरहथवा-५ का जयशंकर साहको मृत्यु भएपछि प्रदर्शनमा स्थानीय समेत मिसिए।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएसँगै प्रदर्शनकारीहरूको सङ्ख्या बढ्दै गयो। स्थित नियन्त्रणबाहिर जान नदिन स्थानीय प्रशासनले प्रदर्शन भइरहेको क्षेत्र वरपर समेटेर कर्फ्यु जारी गर्यो।

 जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जारी गरेको सूचनामा शुक्रवार साँझ साढे ५ बजेदेखि शनिवार बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको उल्लेख छ।

सूचनाअनुसार बरहथवा नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्नियाँ पुलको क्षेत्रमा कर्फ्यु लागेको छ।

सूचनामा सो क्षेत्रमा आवतजावत नगर्न, भेला नहुन, बाहिर हिँडडुल नगर्न र उच्छृङ्खल गतिविधि नगर्न भनिएको छ।

सामान्य माग, असामान्य परिणाम

 

एक साता अगाडि मात्रै कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनमा गोली चल्दा दुई जनाको ज्यान गयो।

सो घटनामा सुरक्षाकर्मीबाट अधिकबल प्रयोग भएको भन्दै विरोध भएपछि सरकारले सुरक्षाकर्मी लगायतालाई निलम्बनगर्दै अनुसन्धानका लागि आयोगै गठन गर्यो।

ललितपुरको प्रदर्शनकोक्रममा प्रदर्शनकारी भएको स्थानमा मन्त्रीको गाडी पुगेपछि अवस्था जटिल बनेको थियो। प्रदर्शनकारीले मन्त्री प्रकाश ज्वाला चढेको गाडीको हावा फुस्काउन थालेपछि उनी गाडिबाट बाहिर निस्किए। प्रदर्शनकारीले मन्त्रीलाई धकेलाधकेल गरेपछि सुरक्षाकर्मीले गोली चलाउँदा दुई युवाको ज्यान गएको थियो।

सो घटनापछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदर्शनमा अधिक बल प्रयोग नगर्न, अत्यावश्यक नपरी गोली नचलाउन निर्देशन दिएका थिए।

बरहथवामा भएको प्रदर्शनमा प्रदर्शनकारी उग्र भएर उनीहरूले बरहथवा नगरपालिकाकी मेयर कल्पनाकुमारी कटुवालको घरमा आगो लगाउने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाएको दाबी आएको छ।

२० पुस, २०८०, १८:४५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।