नारायण गोपालका कान्छा भाइ लक्ष्मण गोपालको हिजोका कुरा : रानी ऐश्वर्यको प्रस्ताव दाइले अस्वीकार गरेपछि हल्ला चल्यो

नारायण गोपालका कान्छा भाइ लक्ष्मण गोपालको हिजोका कुरा : रानी ऐश्वर्यको प्रस्ताव दाइले अस्वीकार गरेपछि हल्ला चल्यो
तस्बिर- विजयमान नापित

लक्ष्मण गोपाल गुरुवाचार्य स्वरसम्राट नारायण गोपालका कान्छा भाइ हुन्। उनी अहिले उमेर ६६ वर्षका भए। ६ दाजुभाइमा उनी कान्छा। काठमाडौँको किलागलमा जन्मिएका उनको बाल्यकाल सोही आसपासमा बित्यो। निकै ठुलो भएपछि मात्र उनको शिक्षा सुरु भयो। माइला दाइ नारायण गोपालले उनलाई स्कुलमा भर्ना गरिदिएका थिए। दाइकै खर्चमा उनले आइएसम्मको अध्ययन गरे।

दाजु नारायणगोपालसँगै नाटक खेल्दामा अनुभव उनीसँग छ। दाइ र रानी ऐश्वर्याबीच प्रेम थियो या थिएन? उनले दाजुबाटै सुनेका छन्। 

उकेराको नियमित स्तम्भ हिजोका कुरामा उनले आफ्नो जागिरे जीवन र दाइ नारायण गोपालसँगको सम्झना र अनुभवलाई यसरी सम्झिएका छन्।

दाजुले स्कुल भर्ना नगरेको भए अनपढ रहन्थेँ

म १४ सालमा जन्मिएको। तर पढाई भने अलि ढिलो नै सुरु भयो। यसको आफ्नै कथा छ। हामी परिवारमा ६ भाइ। त्यसमा म कान्छो। हेटौडामा हाम्रो जग्गाहरू थियो। बाबुले खेतिपाती गर्न कान्छो भएकाले मलाइ उतै लैजाने। वर्षमा ६ महिना त मेरो बास उतै हुन्थ्यो।

यता काठमाडौँमा हुँदा पनि खेलेरै बित्यो। पढाई गर्नै सकिँन। मेरो पढ्ने समय थियो। अरू दाजु नन्द गोपाल, मनोहर गोपाल पनि विद्यालय जाँदैनथे। जाँदै नजाने भन्ने चाहिँ होइन,२-३ दिन घुम्न जान्थेँ। यो २५,२६ सालतिरको कुरा हो।

वर्षको ६ महिना हेटौंडामा बुवाको साथी भएर बस्थेँ। पढाइ नै बिग्रिन थालेपछि भने म काठमाडौँ आएँ।

मैले नारायण दाइलाई पढ्नै पाइन भनेर गुनासो गरेँ दाइले 'अब पढ' भन्नुभयो। तर बुबाले पढ्न पैसा दिनु भएन। अनि नारायण दाइ र भाउजूले पढ्ने खर्च हामी दिउँला भनेपछि म नेपाल आदर्श विद्यालयमा भर्ना भएँ।

नारायण दाइ राष्ट्रिय नाचघरमा सदस्य भइसक्नु भएको थियो।  त्यो समयमा मेरो ४०-५० रूपैयाँ फिस थियो होला। त्यो बेलामा बैङ्कमा अहिलेको जस्तो लाख-हजार अनि सयको चेक काट्ने कुरा हुँदैनथ्यो

त्यो समयमा १० रूपैयाँ भए बैँकको खाता खोल्न पुग्थ्यो दाइ ठमेलमा बस्नुहुन्थ्यो। पैसा चाहिएपछि उहाँले ४०–५० रूपैयाँको चेक काटिदिनुहुन्थ्यो। उहाँले दिएको  पैसाले नै मैले एसएलसीसम्म पढ्न पाएँ। २०३२ सालमा मैले एसएलसी पास पनि गरेँ।

पैसा दिँदा मनमा त खुसी नै हुन्थ्यो होला। उहाँकै करले पढेको हो नि मैले। तर पैसा दिँदा बाहिर भने रिसाउनुहुन्थ्यो। 'ला लैजा' भनेर दिनुहुन्थ्यो। उहाँले पैसा नदिएको भए म अनपढ रहन्थेँ। अहिले म जे भएँ त्यसमा नारायण दाइको देन छ।

एसएलसी पास गरेपछि सरस्वती क्याम्पसमा भर्ना भएँ। आइए पढेपछि भने छोडेँ। छाड्नुको नि कारण छ। बुबा बिरामी हुनुहुन्थ्यो। त्यसबेला बुवाको हेरचाहमा म आफै खट्नु पर्यो। अनि पढाइ छाडेँ।

नेपाल बैँकमा गोदाम रक्षक

दाइ चर्चित भइसक्नु भएको थियो। तर पहिलो जागिर चैँ आफ्नै बलबुताले पाएँ। नेपाल बैकमा तल्लो तहमा कर्मचारी माग्यो। तल्लोतहको कर्मचारीको परीक्षा हुँदैनथ्यो। मैले आवेदन दिएँ। पढेकै थिए। सहजै गोदाम रक्षकको पदमा काम पाएँ।

त्यहाँ जागिर खाँदा मेरो तलब २ सय ५५ रुपैयाँ थियो। अनि खाजा खर्च दिनको एक रुपैयाँ। खाजा खर्च चैँ हाजिर गरेको दिन मात्र पाइन्थ्यो।

त्यतिबेला दिनको एक रुपैयाँ भनेको धेरै हो। पाउरोटीको १० पैसा, हलुवा १० पैसा, चिया १० पैसा,अनि आलु चप खायो भने ६० पैसामा पेट भरिथ्यो। बाँकी ४० पैसा अझैँ बाँकी रहन्थ्यो।

२०३६ सालमा तीन महिनाको तलब एकै पटक आउँदा ७ सय जति हुन्थ्यो। त्यो ७ सय रुपैयाँले आधा तोला सुन किन्न पुग्थ्यो।

अहिले मेरो तलब २५ हजार छ। त्यही तीन महिनाको तलबले आधा तोला सुन आउँछ। त्यतिबेला पनि तीन महिनाको तलबले आधा तोला सुन आउँथ्यो अहिले पनि। पहिलाको तुलनामा पैसा सस्तो भो, सामान महँगो भो।

सामान त त्यति नै हो तर, किन्न धेरै पैसा चाहिने भो। २०३५ सालमा ३ रूपैयाँमा एक पाथी चामल आउँथ्यो। सय रूपैयाँ हातले जग्गा बेच्नुहुन्थ्यो बुबाले। अहिले त कति हो कति।

बुबा र म सितार बजाउँथ्यौँ

हाम्रो बुबा आश गोपाल नेपाल प्रहरीमा हुनुहुन्थ्यो। तर उहाँ गीत गाउन अनि सितार बजाउन खूब सिपालु। आशबा,आशदाई भनेर चिनिनुभएको थियो।

बुबाको रेडियो नेपालमा सितार बजाउने कार्यक्रम नै रैछ। बुबाले रेडियो नेपाल स्थापनाको समयदेखि नै जागिर खानुभएको रहेछ सितार बाधकमा।

हेटौडामा जग्गा जमिन भएकाले बिदा लिएर हामी त्यहाँ जान्थ्यौँ। अनि त्यहाँ मलाई पनि सितार बनाउन सिकाउनुहुन्थ्यो। बुबा र म मिलेर बजाउँथ्यौँ। तर उहाँको मृत्यु भएपछि सिता बजाउने आँट आएन। नारायण गोपाल जमानामै छुटेर अलग बसे। अलग्गै बसे पनि मलाई त हेरेको हो।

चेक हराएपछि आपत् पर्यो

गोदाम रक्षक भने पनि बैकमा गर्नुपर्ने सबै काम गर्नुपर्थ्यो। त्यो बेलामा कम्प्युटर सिस्टम थिएन। ऋण सम्बन्धी ,चेक सम्बन्धी,नाफा नोक्सान लेख्ने सबै काम हातले गर्नुपर्थ्यो।

म बैकमा ड्राफ्टमा बस्थेँ। त्यो ड्राफ्टहरू हेड अफिसमा लिन जानुपरे मै जान्थेँ। एक पटक चेकको प्याड ल्याएर सधैँ राख्ने ठाउँमा राखेँ।

ड्राफ्ट र टिटी गर्ने सिस्टम थियो।  टिटी भनेको चाहिँ ट्रान्सफर हो। जस्तो दार्चुलाबाट कसैले पैसा जम्मा गर्यो अब यहाँ काठमाडौँमा लिन पर्यो भने कोड भाषाबाट पठाएर ल्याउँथ्यो। त्यो चाहिँ आवाबाट।

जस्तै राज्यलक्ष्मी ७ नम्बर, फेवा लक्ष्मीको ८ नम्बर, नेपाल लक्ष्मीको ६ नम्बर हरेक वार्डको त्यहाँ नम्बर हुन्छ। त्यो कोड नम्बर जसले पायो त्यसलाई दिँदैनथ्यो। ब्रान्च म्यानेजर र प्रमुखहरूले मात्र राख्न मिल्थ्यो। टिटी आएपछि कति नम्बरबाट के आएको हो,कसको नाउँमा आएको हो त्यो सबै नम्बर मिल्यो भने पैसा पायो, नत्र पाउँदैनथ्यो।

ड्राफ्ट चिंकमुगल शाखाबाट दार्चुला शाखासम्म पठाउँछन्। अनि त्यहाँको ब्रान्च मेनेजरले सही गरेर चेक उता पठाएपछि त्यहाँबाट लिने हो। 

मैले चेक ड्राफ्ट लिएको थिए। त्यसमध्ये एक बुक मैले चलाएको थिए। फेरि ड्राफ्ट बनाउने पनि म नै हो। मैले बनाएको ड्राफ्ट ल्याएको २,३ महिनापछि एउटा चेक ड्राफ्ट गायब भो। त्यो थाहा थिएन।

दार्चुला शाखाबाट एउटा ड्राफ्टको पेमेन्ट आएन भनेर कम्प्लेन आयो। एकचोटी आयो हेरिएन, दुईचोटी आयो हेरिएन। अनि तेस्रो पटक आएपछि के भएछ भनेर हेर्दा चेक नै लेखेको भेटिएन। हाम्रोमा कुनै रेकर्ड नै छैन। तर पाँच प्याड चेकमध्ये एउटा छैन। अनि बबाल मच्चियो।

त्यो हराएको चेकबाट दुई पटक गरेर एक लाख जति पैसा झिकिसकेको रैछ। चेक प्याड बुझेर ल्याएको लक्ष्मण गोपालले भन्ने भयो। चेकको ड्राफ्टमा काम गर्ने मै। चेक शाखामा मै। तर चेक शाखाको दराजको साँचो त मसँग छैन। त्यो चाबी हाकिमको कोठामा थियो।

हाकिमले साँचो दिएपछि मात्र खोल्ने हो मैले। हाकिमले चाबी कसले दिए यादै गरेनछन्। अनि मलाई पो किन यस्तो गर्नुभयो  भने।

मैले गरेको थिइन्। मैले कसले गरेको हो मान्छे खोज्नुहोस्, मैले लगेको छैन, जागिर छोड्नुपर्यो भने पनि केही छैन तर नगरेको दोष लगाउन पाइँदैन भनेँ।

यति भनेपछि हाकिमले मलाई शङ्का गरेनन्। पछि सहायक गोदाम रक्षकले त्यो बदमासी गरेको भेटियो। ब्रान्च म्यानेजर पनि अलिक बाठो नै थिए। उनले सब सर्च गर्छु भनेर एक एकलाई लेख्न लगाएछन्।

ड्राफ्ट पनि लेखाए। सबैलाई एकै ठाउँमा राखेर सोध्न थाले। म्यानेजरले छिनछिनमा मतिर आँखा तरेर 'कोही छ भने भन्नुहोस् है भन्ने।

पटक-पटक मैतिर हेरेपछि डर लाग्यो। तर मैले केही गरेकै थिइन। त्यो बदमास म भन्दा ठ्याक्क पछाडि बसेको रैछ। हकिमले उसैलाई हेरेको रैछ। यता मलाई हेरेको भनेर मेरो चैँ चिटचिट पसिना छुटेको थियो।

बेकारमा जागिर खाइएछ भन्ने लाग्यो। पछि त सहायक समातियो। उसलाई कारबाही गर्न केन्द्रमा लगेका थिए। के गरे थाहा भएन।

झन्डै नखाएको विष लागेको नि मलाई। चलाख म्यानेजर नभएर अर्को भएको भए म कारबाहीमा पर्थेँ।

राष्ट्रिय नाचघरमा संवाद बिर्सनेलाई सम्झाउने काम

म कहिलेकाहीँ गीत पनि गाउँथेँ। तर गीतभन्दा नाटक मन पर्थ्यो। बुबाको मृत्यु भयो। त्यो बेलामा म बबरमहल शाखामा थिएँ। सुरुमा क्षेत्रपाटीमा थिए। पछि बबरमहल पठाए। त्यसपछि त धनगढी शाखामा पो सरुवा भयो।

धनगढी जान मन थिएन। नगई नहुने भएपछि जागिर छोड्ने योजना बनाएँ।

त्यतिबेला दाजु नारायण गोपाल राष्ट्रिय नाचघरको छेउमा बस्नुहुन्थ्यो। म त्यहाँजाँदा बेलाबेलामा गफ हुन्थ्यो। त्यो बेलामा उहाँ जिएम भइसक्नु भएको थियो।

उहाँलाई कसैले 'तिम्रो भाइको यस्तो यस्तो भएको रहेछ। जागिर छोड्न लगाउने कि के गर्ने?' भनेर सोधेपछि नारायण दाइले किन छोड्न लाउने,त्यहाँ बिदा लिएर बस्न भन्नु,त्यहाँ नमिलेसम्म नाचघरमा नाटक गर्न बोलाउनु भन्नुभएछ।

अनि उता बिदा लेखेर यता नाचघर आएँ। नाटकमा मेरो काम पर्दा पछाडि बसेर नाटकको डाइलग बिर्सिए कलाकारलाई सम्झाउने थियो।

त्यो बेला मेरो तलब ४ सय ३० रुपैयाँ थियो। मलाई नाचघरमा जिएमको भाइ भनेर सबैले मान त गर्नुहुन्थ्यो तर मलाई मन पर्दैनथ्यो।

एक महिनामा एउटा नाटक हुन्थ्यो। १०-१५ दिन नाटकको रिहर्सल हुन्थ्यो। मैले त्यो बेला ४ वटा जतिमा अभिनय पनि गरेँ। तर ती नाटकको नाम भने बिर्सिएँ।

नाचघरमा तीन वर्ष जति काम गर्दा नारायण गोपाल दाइ त्यहाँबाट बाहिरिनुभयो। मैले पनि छोडेँ।

अर्का नगेन दाइ पाटन औद्योगिक क्षेत्रको जिएम हुनुहुन्थ्यो। उहाँलाई भेट्न गएर बैंकमा परेको समस्या सुनाएँ। उहाँले 'तिमीले केही गरेर सरुवा भएको कि के हो' भनेर सोध्नुभयो।

मेरो केही गल्ती छैन,मैले हाकिमलाई सलाम गरिन, उनीहरूले भनेको अलिअलि नमाने भनेर धनगढी पठाउन लागेको भनेपछि उहाँले बैकको हाकिमलाई फोन गरेर 'किन मेरो मान्छेलाई यस्तो गरेको' भन्नुभएछ।

बैँकको हाकिमले उ बदमास भएर भन्ने जवाफ दिएछ। अनि दाइले ४ सय ३० रुपैयाँ तलब खानेले तपाईँको चार लाख मार्यो कि के, बैकको केही गोप्य कुरा बाहिर ल्यायो कि के गर्यो? भनेर सोधेपछि हाकिमले बबरमहलबाट चिंकमुगल सरुवा गरिदिए। अनि उता काम गर्न थालेँ।

यो चाहिँ नारायण गोपालदाइको नामका कारण भएको हो है। उहाँको भाइ नभएको भए काम हुन्थेन।

नारायण दाइले गाएको गीत बुबालाई मनै नपर्ने

मेरो बुबा सात साल भन्दा अघि नै प्रहरीमा हुनुहुन्थ्यो। त्यो बेला प्रहरी इन्स्पेक्टर पदमा हुनुहुन्थ्यो। मैले देख्दा त्यो बेलाका जति ठुलो पदका प्रहरी भए पनि लौरो र खुकुरी नै बोकेका हुन्थेँ। अहिलेको जस्तो बन्दुक बोक्ने चलन थिएन।

कुरा जोडिहालौँ, मेरो बुबाले चार वटा काम गर्नुभएको मलाई थाहा छ। एउटा प्रहरी भइहाल्यो। अर्को वैद्यको काम पनि गर्नुहुन्थ्यो। अहिले पनि घरमा उहाँले राख्नुभएको दवाईहरू बाँकी छन्। राम्रो वैद्य हुनुहुन्थ्यो उहाँ। मान्छेहरू घरमा दबाई लिन आउँथे।

हेटौडामा,नारायणघाट चितवनमा जग्गा थियो। जिम्मदारीको काम पनि गर्नुहुन्थ्यो। अनि सितार बजाउने।

बुबाको चाहना नारायण गोपाल गायक नबनोस् भन्ने थियो। उहाँलाई जस्तो पायो त्यस्तो गीत मनै नपर्ने। बरु शास्त्रीय सङ्गीततर्फ जानु भनेर सुझाव दिएको थाहा छ मलाई।

त्यतिबेला बाउ छोरा त्यति मिल्दैनथे। नारायण गोपालले पछि शास्त्रीय सङ्गीत सिके। कता कता गएर सिकेपछि बुबा खुसी हुनुभयो। यति धेरै गीत नारायण गोपाल दाइले गाउनुभयो तर बुबाको अगाडि कहिल्यै गीत गाउनु भएन।

रानीसँग लभ परेको हल्ला

केही समय दाइ नारायण गोपाल र रानी ऐश्वर्याको लभ परेको हल्ला पनि चल्यो। राजपरिवारसँगको सम्बन्ध साधारण नै थियो। त्यस्तो विशेष केही थिएन। अब बोलाएपछि गीत गाउन जानु सामान्य नै हो नि।

रानी ऐश्वर्यसँग नारायण गोपालको लभ थियो भन्ने मैले पनि सुनेको थिएँ। तर त्यो एकदम बकवास कुरा मात्र हो।

दरबारमा गीत गाउन जाँदा रानी अगाडि हुनु स्वाभाविकै भयो। रानीले नारायण दाइलाई आफूले लेखेको गीत गाउन भन्दा मान्नुभएनछ। अन्तमा ‘एउटा मान्छेको मायाले कति फरक पर्दछ’भन्ने गाउनुभएछ। त्यसैलाई जोडेर लौ नारायण गोपालको त रानीसँग लभ परेको रहेछ भनेर हल्ला गरिदिएछन्।

लभ पर्न त केही न केही विशेष सम्बन्ध हुनुपर्ला नि! भेटघाट हुन्थ्यो होला। कुराकानी हुन्थ्यो होला। दरबार जाने त्यही गीत गाउन हो। राजारानी आफ्नै शैलीमा बस्ने हो।

'के छ नारायण जी' भन्दा 'ठिकै छ सरकार' भन्ने न हो। 'ल आज खाना सँगै खाऊँ' भन्दा 'नाइँ' पनि भन्न सकिँदैन थियो। अनि एउटै टेबुलमा बसे पनि राजा-रानी र नारायण गोपाल फरक-फरक बसेन खाने हो।

राजा भनेपछि त ६४ व्यञ्जन भन्ने लाग्न सक्छ तर उनीहरूको खाना एकदमै साधारण हुन्थ्यो रे। खसीको मासु, मासको दाल, साग, गोलभेँडाको अचार, भात त्यही त हो।

गीत गाएर, खाना खाएर घरमा आइसकेपछि पारिश्रमिक भनेर घरमै पठाइदिन्थेँ। दरबारमै दिँदैनथे। हावा तालमा रानी र दाजु नारायण गोपालको लभ परेको थियो भनेर हल्ला गरे।

हामी २० वर्ष जेठा कान्छा

जेठो दाजु नन्द गोपाल,माइलो नारायण गोपाल,साइँलो हेम गोपाल,काइँलो मनोहर गोपाल,ठुलो कान्छा राम गोपाल,म कान्छो लक्ष्मण गोपाल हो। म र राम गोपाल जम्याला हौँ। ३०  मिनेटको फरकमा जन्मिएको हौ भन्नु हुन्थ्यो आमाले। अहिले हामी ३ दाजुभाइ छौँ।

नारायण दाइ र मेरो उमेर २० वर्ष फरक छ। मैले थाहा पाउँदा माइला दाजु गीतसङ्गीतमा नै हुनुहुन्थ्यो। अनि नारायण गोपाललाई म्युजिक क्षेत्रमा लैजाने भोजराज दाइ भन्ने हुनुहुन्थ्यो। नेपालका म्युजिसियनहरुले उहाँको नाम लिएको मैले थाहा पाएको छैन। उहाँ बिर्सन नहुने व्यक्ति हो।

नारायण दाइ र उहाँ सहपाठी हो। भोजराज म्युजिक बनाउनुहुन्थ्यो अनि नारायण गोपाल दाले गीत गाउनुहुन्थ्यो।

नारायण दाइसँग गीत गाउने साथी नन्द गोपाल (नारायण गोपालको जेठो दाजु) पनि हुन्।

हामी ६ जना दाजुभाइमा तीन जना अझै जीवितै छौँ। तर, हामीलाई नारायण गोपालबाट पर्दा बाहिरै राख्न खोजियो। सङ्गीत कोषले अहिलेसम्म नारायण गोपालको परिवारको पूर्ण परिचय दिँदैन।

हामीले चाहेर पनि आउन दिँदैनन्। आज म नारायण दाइको घरमा आएको २० वर्षपछि हो। यहाँ आउन हामीलाई नै कुनै अनुमति थिएन। किन हो,के बिचार हो मैले बुझ्नै सकेको छैन।

बागिनादेखि नै यस्तै हुँदै आएको छ। यहाँ के भइराछ, कसो गरिराछन् केही थाहा हुन्न। यो घरलाई संस्थाका मान्छेहरूले वृद्धाश्रम जस्तो बनाएर राखेको थाहा पाएपछि कोषका महासचिव दीपक केसीलाई भनेँ। अनि यहाँ बस्नेहरूलाई निकालेका रहेछन्। अहिले  त निकै सफा देखेँ मैले।

नारायण गोपालमा कुनै एक परिवारको हक लाग्दैन। हामीले हक खोजेको पनि हैन। हामीलाई पनि दाइको कामहरू सुरक्षित होस् भन्ने लाग्छ। उहाँलाई नयाँ पुस्ता चिनाउने सामाग्रीहरू सुरक्षित हुन् भन्ने नै हाम्रो चाहना हो। तर संस्थाका मान्छेहरू हामीलाई परै राख्न खोज्छन्। किन त्यो चैँ बुझ्दिन म।

१९ पुस, २०८०, १६:१३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।