एमालेको प्रवेशपछि सत्ता गठबन्धनमा खटपट, राष्ट्रियसभामा ओलीले ६ सिट मागेपछि माधव नेपालको आक्रोश

एमालेको प्रवेशपछि सत्ता गठबन्धनमा खटपट, राष्ट्रियसभामा ओलीले ६ सिट मागेपछि माधव नेपालको आक्रोश

काठमाडौं : राष्ट्रियसभाको निर्वाचनका लागि कसरतमा रहेको सत्ता गठबन्धनमा खटपट देखिएको छ।

राष्ट्रिय सभा सदस्यका लागि एमालेले सत्ता गठबन्धनसँग ६ सिट दिन प्रस्ताव गरेपछि गठबन्धनका नेताहरू बीचमै कुरा मिलेन।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सिट बाँडफाँडको लागि बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो। बैठकमा एमालेको प्रस्तावमाथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असहमति जनाएपछि बैठकले निष्कर्ष दिन सकेन।

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ६ सिट छुट्याउन प्रस्ताव गरेका थिए। बैठकमा प्रधानमन्त्री प्रचण्डले भने ३ सिटका लागि आफूले गठबन्धन दलहरूलाई सहमत गराउन सक्ने बताएका थिए।

तर प्रचण्डले बुधबार साँझको बैठकबारे बताउने बित्तिकै एकीकृत समाजवादीका अध्यक्ष नेपालले त्यसको विरोध गरे।

प्रमुख प्रतिपक्षीलाई सिट दिने भन्ने कुरा सैद्धान्तिक, व्यावहारिक र रणनीतिक रूपमा उपयुक्त नभएको नेपालले बताएका थिए।

एमालेको प्रस्तावबारे नेपालको फरक मत आजको बैठकमा पनि रहेपछि सत्ता गठबन्धनभित्र सहमति हुन सकेन।

सहमतिको प्रयासका निम्ति छलफललाई निरन्तरता दिइने कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक रमेश लेखकले बताए।

१९ सदस्यका लागि माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन छ। त्यसअघि नै सिट भागबन्डा मिलाउनका लागि दलहरू दिनदिनै छलफलमा छन्।

१९ पुस, २०८०, १३:४२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।