भरत थापाको दाबी- ‘राजनीतिमा आएपछि बरु कपाल खुइलियो, भएको एउटा घर हो, अरू कमाइएन’

भरत थापाको दाबी- ‘राजनीतिमा आएपछि बरु कपाल खुइलियो, भएको एउटा घर हो, अरू कमाइएन’

बागमती नगरपालिकाका मेयर भरत थापा विवादै विवादले घेरिएका छन्। उनी सुधारिएको चुलोदेखि सडक पिचको ठेक्कासम्ममा जोडिँदै आएका छन्। ढाटका कर्मचारी हुँदै क्रसर अनि निर्माण सम्बन्धी ठेक्कामा प्रवेश गरेका उनी पछिल्लो समय बागमती माछा पोखरीलाई भरत ताल बनाएर विवादमा आएका छन्।

बागमती खोलाको प्राकृतिक स्रोतको दोहनमा उनी पहिल्यैदेखि जोडिएकै थिए। तालको आवरणमा प्राकृतिक खनिज निकालेर त्यसको अवैध बिक्री गरेको भन्दै उनीमाथि अख्तियारदेखि प्रदेशको सार्वजनिक लेखा समितिसम्ममा उजुरी परेको छ।

राष्ट्रिय जनमोर्चा हुँदै माओवादीमा पुगेका उनी पत्रकार कुटपिटदेखि अनेकौं काण्डमा परे पनि कारबाही भएन। माओवादीभित्र जनमोर्चा समूहको नेतृत्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरिरहेका छन्। उनै भरतसँग उकेराकर्मी अमृत पुडासैनीले गरेको कुराकानीको सम्पादित अंश :

आधिकारिक नाम बागमती माछा पोखरी भए पनि सरकारी पैसामा बनेको पोखरीमा आफ्नै नाम जोडेर भरत ताल किन बनाएको?
आधिकारिक नाम बागमती माछा पोखरी नै हो। त्यहाँ आउने दर्शकहरूले भरत थापाले बनाएको भएपछि भरत ताल भनेका हुन्। हाम्रो बोलाउने नाम एउटा हुन्छ, न्वारनको नाम अर्को हुन्छ। भरत ताल सरकारी हैन पब्लिकले राखेको नाम हो।

जस्तो पोखरीमा चल्ने बोटमा त बागमती ताल वा माछा पोखरी हैन भरत ताल लेखिएको छ। त्यसको लागि तपाईँहरूले...
बोट मात्रै हैन, गाडीवालाले लेखेका छन्, ट्याप्पुवालाले लेखेका छन्। मेची-महाकाली हिँड्ने बसवालाहरूले भरत ताल हुँदै काठमाडौँ जाने भनेका छन्। अब मैले कसलाई रोक्न सक्छु?

हामीले हाम्रो बोटमा राखेका छौँ। काम हुँदा कन्ट्रक्सनको पनि राखेको थियौँ। पुतलीचोकमा बागमती माछा पोखरी भनेर बोर्ड नै राखेको थियौँ। तर अफिसियल नाम त त्यही न राखेको थियौँ। तर अफिसियली नाम त्यही नै राखेका थियौँ। (तर पुतलीचोकमा बागमती माछा पोखरी भनेको बोर्ड देखिएन)

कसैले भरत थापाको फोटो छातीमा टाँसेर हिँड्छन् भने, त्यो हटा भनेर किन भन्नु। भोली कतै भित्तामा फोटो टाँसेको रहेछ भने, म गएर च्यातौँ त? त्यो उसको इच्छाको कुरा हो नि।

अहिले भरत तालबाट महिनामा कति आम्दानी हुन्छ?
महिनामा होइन दिनमा २० प्रतिशत नगरपालिकामा दैनिकी ट्याक्स आउँछ।

ताल खन्दा निस्किएको नदीजन्य पदार्थ कसरी बेचबिखन गर्नुभयो? कहाँ गयो?
कानुन बमोजिम। केही आयोजनामा प्रयोग भयो। जति बिक्री भए कानुन बमोजिम बिक्री भयो।

कुन आयोजनामा प्रयोग भयो?
त्यो हाम्रो आयोजनामा। केही बिक्री भयो। बाँकी भएको त्यहीँ छ।

बामगमती खोला क्षेत्रको गुगल अर्थमा देखिएको दोहन क्षेत्र।तपाईंको पनि क्रसर उद्योग छ हैन?
मेरो क्रसर उद्योग छैन। कम्पनी रजिस्ट्रारमा गएर हेरे भइहाल्यो नि!

तपाईंको बारेमा अख्तियारमा नौ वटा उजुरी र लेखा समितिमा पनि ताल निर्माण भ्रष्टाचार भयो भनेर उजुरी परेको छ। साथै नगरपालिकामा अख्तियारको टोली आउँदा पनि तपाईंले केन्द्रीय नेताहरूलाई भनेर मिलाएको भन्नेसम्मको आरोप छ नि! हो?
काम गर्नेलाई उजुरी पर्छ। काम गर्नेको विवाद हुन्छ। तपाईंले पनि कुनै काम गर्नुभयो भने तपाईंलाई पनि उजुरी पर्छ। मैले कानुन बमोजिम ताल खनेको हुँ, कानुन बमोजिम उत्खनन गरेको हो। खाल्डो त्यहीँ छ। अख्तियारले आएर नापेकै छ। एकचोटी होइन ३ पटक आएर नापेको। उसको विधि, प्रविधि सबै लगाएर सबै गर्यो। खाल्डो जति छ, माल त्यति हुने होइन? त्यो माल कहाँ-कहाँ गयो भनेर देखाइदिएकै छु। प्रयोगबाट बढी भएको माल जस्ताको त्यस्तै छ भने उजुर गरेको ठाउँमा किन आर्थिक चलखेल गर्नु?

क्रसर छैन त?
ल मेरो क्रसर छ रे त्यो गर्न नपाउने भन्ने छैन। नेपालको कानुनले गर्न पाउँछ भनेको छ। मुख्य कुरा कानुन विपरीत दुरुपयोग पो गर्नुभएन त! तपाईं पत्रकार हुनुभयो, तपाईंले होटल गरेर खान नपाउने? पाइन्छ। हो पत्रकारको आडमा या मिडियाको आडमा राज्यलाई हानी नोक्सानी पो गर्नु भएन त!

मैले क्रसर खोलेँ भने, ताल, नदीबाट ढुङ्गा, गिट्टी, बालुवा खरिद गरेर ल्याउन पाइँदैन? पाइन्छ। एक त पाइन्छ, अर्को कुरा त्यो मैले गरेकै छैन। क्रसर बन्द गरेको छु। आफ्नो भए बन्द गर्थेँ मैले? (अजुन रायमाझीको क्रसर बन्द गरेको हो। बाँकी क्रसर सञ्चालनमा थियो।)

कतिवटा क्रसर बन्द गर्नुभयो? एउटा मात्रै कि अन्य पनि?
जम्मा एउटा क्रसर त छ। त्यो पनि बन्द गरिदिएँ। (उकेराकर्मी जाँदा ताल जाने बाटोमा मात्रै ४ वटा क्रसर चलेको थियो।)

तपाईंले त भाइ रामकुमार थापा लगाएर हिमाल पोस्टको पत्रकारलाई कुट्न काठमाडौं नै पठाउनु भएछ नि हैसमाचारमा चित्त नबुझे सम्बन्धित निकायमा उजुरी गर्ने कि पत्रकार कुट्ने?
मैले उक्त मिडिया(हिमाल पोस्ट)को विरुद्ध उजुरी पनि दिएको हो।

सञ्जय साहसँगको तपाईँको सम्बन्ध के हो?
त्यो केपी ढुंगानालाई थाहा छ, उतै सोध्नु। म ५० सालमा अखिल क्रान्तिकारीको जिल्ला सदस्य भएको। सञ्जय टकलालाई जनयुद्धमा कारबाही गर्ने भनिसकेपछि एक पटक २-३ मिनेट नवलपुरमा भेटेको हो। त्यसपछि ऊ माननीय हुँदा वाणिज्य बैंकमा देखेको हो। त्यसपछि अहिलेसम्म देखेको छैन।

भनेपछि तपाईंसँग सञ्जयको कुनै सम्बन्ध छैन, थिएन?
जम्मा ३ पटक देखेको हो। त्यो पनि संयोगले। अब साठगाँठ कसरी भयो? अब आरोप त जता लाए पनि हुन्छ। मान्छेले कुन सेन्सले प्रस्तुतिकरण गरिराखेको छ भन्ने त हामी पनि पढेलेखेको मान्छे हो।

म अहिले ४४ वर्षको भए। मैले पनि १२, १३ वर्षको उमेरमा पत्रकारिताको ट्रेनिङ लिएको हो। जम्मा तीन पटक भेटेको सञ्जय टकलासँग कसरी पार्टनर हुन्छ? काम गरेको भए कहाँ गरेँ? मैले अहिलेसम्म कसैसँग काम गरेको छैन। बागमती सिंचाइमा जागिर दिँदा पनि मैले नखाएको, बरु मेरो अरू साथीहरूलाई पठाइदिएको।

ढाटमा काम गरेकै हैन?
ढाटको कामको कुरा गर्ने हो भने, तपाईं रौतहटकै, समीर जी(माओवादीका प्रदेश संसद् समीर भट्टराई), चित्रा पोखरेल जिउँदै छन्। अनि के यादव मैले नाम भुले ती जिउँदै छन्। म माओवादीमा लाग्दाखेरि रौतहटको ढाट पारिपट्टि थियो। पैसा सबै पार्टीले लान्थ्यो। अब त्यो ठेक्का हो कि, के हो तपाईंहरू आफैँ बुझ्नु। आरोप त जे लाइदिए पनि भयो होइन। कसैले गुन्डा पनि भन्लान्।

समाचार लेख्नेलाई किन कुटाएको त?
मेरो बारेमा शृंखलाबद्ध समाचार हिमाल पोस्टले छापेको होइन, एमालेहरूले छाप्न लगाएको हो के त्यो। त्यसको अनलाइन पाना र हिमाल पोस्ट हेर्दै जानु त, तालभन्दा माथि रेलको ड्याम छ। रेलको ड्याम भन्दा मास्तिर कुश्वाहा टोल छ, माझीटोल छ। त्यो टोल बगाउँछ भनेर पनि लेखेको छ। पत्याएर हिँड्नु अब!  मिटर हाइटको ड्याम छ। ताल फुटेर दक्षिणतिर तहसनहस हुन्छ? उत्तरतिर भएको भए पनि होकी जस्तो हुन्थ्यो। त्यस्तो पनि लेखेको छ। अनि त्यसको पछि लागेर साध्य लाग्छ?

तपाईंको बारेमा फिल्म पनि बन्न लागेको रैछ। दीपेन्द्र के खनालले निर्देशन गर्ने, तपाईंकै छोरी निर्माता। त्यो फिल्ममा तपाईंको चरित्र नायक कि खलनायक?
हिरो र हिरोनीको फिल्म नै होइन। २०७२ पछि संघीयता लागू भयो। संघीयता लागू भएपछि निर्वाचन भयो। हाल तीन तहको सरकार छ। त्यसमा हामी स्थानीय सरकार हो। अनि समाजवाद उन्मुख संविधान छ। त्यो संविधान र कानुन अनुसार समाजवादमा पुग्न इमानदारीका साथ सकारात्मक ढङ्गले काम गर्दा आउने सम्भावना र चुनौतीहरू के हुन्छन् भनेर २०७४ अघि र पछिको बारेमा फिल्ममा देखाइन्छ।

यो हेर्दा राजनीतिक जस्तो पनि छ, बायोपिक जस्तो पनि छ। त्यसको नेतृत्व एउटाले गरेको हुन्छ नि त! अब निर्माता थुप्रै छन्। अब सबैको नाम भन्न हामीले पत्रकार सम्मेलन पनि गरेका छैनौँ। अब यो कुरा कताबाट फुत्क्यो। मुख्य त बागमती नगरपालिकामा भएको विकासको बारेमा फिल्ममा देखाउने छौँ।

तपाईंले चुनावको समयमा म हारे केही भएन तर मेरो प्रतिद्वन्द्वीले जित्यो भने आगो लगाउँछु भन्नुभएको हो?
म कतै भोट माग्न त गइनँ। अघिल्लो पटक चाहिँ गएको हो। यो पटक गइन। जनतालाई सोधे भइहाल्यो। भोट नै माग्न नगएको, कार्यक्रम नै नगरेकोले मान्छे हुँ। कि त आमसभामा भन्नुपर्यो, कि घरदैलो गरेर भन्नुपर्यो। मैले गोकुल बस्नेतलाई ‘दाइ म भोट माग्न जान्न’ भनेको हो। अनि किन आगो लगाउनु पर्यो? अनि कुन गाउँलाई आगो लाउनु फेरि। यो टोल माओवादी विरोधी हो भनेर देखाइदिनु पर्यो। यसो जनतालाई सोधे भइहाल्यो नि!

राजनीतिमा आउनु अगाडि तपाईंको आर्थिक अवस्था र आएपछिको अवस्थामा पूर्ण रूपमा परिवर्तन आयो नि है?
सबै सम्पत्ति मेयर हुनुभन्दा अगाडिकै हो। पेट्रोलपम्प भाइको हो। अहिले हामी कुरा गरिरहेको घर पनि भाइकै हो। मेरो घर त्यो चौताराको अपोजिट साइटको भित्र जाने बाटोमा छ। मेरो केही छैन, त्यही एउटा घर मात्र हो। सबैले त्यो टिप्पर, एक्स्काभेटर मेरो हो भन्छन्। तर होइन। ती त तेल हालेर राख्या मात्रै हो। अब अरूको सामानलाई आफ्नू त भन्न मिलेन नि! बरु राजनीतिमा आएपछि मेरो कपाल खुइलिएको छ। कमाएको छैन।

१८ पुस, २०८०, १९:४४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।