तरुल खोज्न जङ्गल गएका युवकको हत्या, सँगै गएका एक जना पक्राउ

तरुल खोज्न जङ्गल गएका युवकको हत्या, सँगै गएका एक जना पक्राउ

पर्वत : पर्वतमा तरुल खोज्न जङ्गल गएका युवकको हत्या गरिएको छ।

मोदी गाउँपालिका-२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो।

रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए।

तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए।

अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको उनले बताए।

घटनामा घाइते भएका शर्माको मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक जिसीले जानकारी दिए।

हत्याका आरोपित नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालीले पुरानो रिसिबीका कारण रिजालको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

१६ पुस, २०८०, ०९:४०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।