हिमालय प्रिमियमको अवैध काम, फुटबल लिगको प्रसारणमा जुवा कम्पनीको प्रचार

हिमालय प्रिमियमको अवैध काम, फुटबल लिगको प्रसारणमा जुवा कम्पनीको प्रचार

काठमाडौँ : हिमालय टिभी प्रिमियमले नेशनल सुपर लिगको नाममा रङ्गशालामा भइरहेको फुटबल लिगको प्रत्यक्ष प्रसारणमा जुवा खेलाउने कम्पनीलाई प्रवर्धन गरिरहेको खुलेको छ।

लिगमा नेपालमा प्रतिबन्धित जुवा खेलाउने कम्पनी वानएक्सबेटको सरोगेट कम्पनी वानएक्सन्युजलाई मिडिया पाट्नर बनाएकोबारे उकेरामा समाचार प्रकाशित भएपछि हिमालय टिभीले च्यानल र युट्युबमा वानएक्सन्युजको विज्ञापन राख्न छाडेको थियो। आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले खेलस्थलमा वानएक्सबेटको प्रचार सामाग्री हटाएको थियो।

लिगको प्रत्यक्ष प्रसारणको जिम्मा पाएको हिमालय टेलिभिजनले समेत वाएक्सबेटको प्रचार गरेकोबारे उकेराले समाचार प्रकाशित गर्दा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसालले अब प्रसारण नगर्ने र आयोजकलाई त्यसबारे जानकारी गराएको दाबी गरेका थिए।

तर शुक्रवार हिमालय प्रिमियम च्यानलले खेलको दौरानमा वानएक्सन्युजलाई प्राथमिकताका साथ प्रमोसन गरिरहेको थियो। स्कोरसँगै वानएक्सन्युजको लोगो राखेको थियो नै उसले तीनदेखि पाँच मिनेटको फरकमा वानएक्सन्युजको लोगोलाई टेलिभिजनको स्क्रिनै ढाक्नेगरी प्रसारण गरिरहेको थियो।

अनलाइन जुवा प्रवर्धनमा संलग्न वानएक्सबेटले जुवा प्रतिबन्धित भएका देशहरूमा आफ्नो प्रचार गर्न वानएक्सन्युज, वानएक्सब्याट जस्ता उस्ताउस्तै सुनिने पोर्टलमार्फत जुवा प्रवर्धन गर्दै आएको छ।

1x.news डोमेन खोल्दा अहिले पनि वानएक्सबेटडटक्रिकेट खुल्छ। यसले यो कम्पनी वानएक्सबेटकै प्रवर्धनका लागि खुलेको पुष्टि हुन्छ नै।

नेपाली कानुन अनुसार कुनै पनि प्रकारको जुवा खेलाउने र जुवा खेल्न प्रोत्साहित गर्नु दण्डनीय गतिविधि हो। तर यसबारे लिगको अनुमति दिने अखिल नेपाल फुटबल संघ अनि फुटबल संघको गतिविधि निगरानीको जिम्मा पाएको राष्ट्रिय खेलकुद परिषद्का अधिकारीहरू मौन बसेर जुवा प्रवर्धनमा सघाइरहेको छ।

सूचना तथा समाचार प्रसारण गर्ने भन्दै खुलेको हिमालय टिभीले जुवा खेलाउने कम्पनीलाई प्रवर्धन गर्दा नियामक निकाय सूचना तथा प्रसारण विभाग अनि सञ्चार विभागका अधिकारीहरू समेत मौन छन्। नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले अहिले फ्रेन्चाइज फुटबलको नाममा दोस्रो चरणको लिग सञ्चालन गरिरहेको छ। 

सम्बन्धित समाचार

६ पुस, २०८०, १९:०५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।