एन्फा प्रवक्ता शाहको दाबी- ‘रंगशालामा नेपाल सुपर लिग खेलाउने कम्पनीको व्यक्ति नै भेटिएनन्’

एन्फा प्रवक्ता शाहको दाबी- ‘रंगशालामा नेपाल सुपर लिग खेलाउने कम्पनीको व्यक्ति नै भेटिएनन्’

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घले  फ्रेन्चाइज फुटबल लिगको आयोजनाको आवरणमा अनलाइन जुवा खेलाउने कुख्यात कम्पनी वानएक्सवेटसँग सहकार्य गर्ने नेपाली कम्पनीको ‘व्यक्ति फेला पारेन’।

दशरथ रङ्गशालामा भएको नेपाल सुपर लिगको आयोजक कम्पनी हो नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्ट। यसको अध्यक्ष आश्रयता कार्की चौधरी हुन् भने कम्पनीको निर्देशकमा श्रीयंश कार्की र सिइओ सुदीप शर्मा हुन्।

सो कम्पनीले दशरथ रङ्गशालामा भइरहेको फुटबल लिगमा वाएक्सवेटको सेरोगेट कम्पनी वानएक्सन्युजलाई अन्तर्राष्ट्रिय मिडिया पाट्नर बनाएर नेपालमा अनलाइन जुवा प्रवर्धन गर्न सघाइरहेको छ जुन नेपालको कानुन अनुसार दण्डनीय गतिविधि हो।

यसबारे उकेराले विस्तृत समाचार प्रकाशित गरेको थियो। लिगमा अनलाइन जुवाको प्रवर्धन भइरहेकोबारे एन्फाका प्रवक्ता सुरेश शाहले मङ्सिर १० गते उकेरासँग आयोजकलाई नेपालको कानुन अनुसार लिग सञ्चालन गर्न अनुमति दिएको बताउँदै गैर कानुनी काम गरेर एन्फाले कारबाही गर्ने दाबी गरेका थिए।

बुधवार उनै शाहसँग लिगमा भइरहेको गैर कानुनी गतिविधिबारे एन्फाले केही बुझ्ने काम गर्यो कि भनेर सम्पर्क गर्दा आज बैठक भएको र बैठकले यसबारे निर्णय गर्ने जानकारी दिँदै केही समयपछि सम्पर्क गर्न आग्रह गरे।

तीन घण्टापछि शाहसँग सम्पर्क गर्दा उनले बढो नाटकीय पारामा हाँस्यापस्द जवाफ दिए। उनले एन्फाले यसबारे बुझ्न लिगको आयोजकसँग भेट्ने प्रयास गरिएको तर हालसम्म सम्पर्क हुन नसकेको हास्यास्पद जवाफ दिए।

‘एन्फाले लिगको सम्पूर्ण अधिकार नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टलाई दिएको हो। उकेरामा आएको न्युजको आधारमा उहाँहरूसँग हामीले सम्पर्क गर्ने कोसिस गरिराछौं। उहाँहरूको आधिकारिक मान्छेसँग सम्पर्क हुन सकेको छैन’ प्रवक्ता शाहले भने, ‘अहिलेको लिगमा प्राविधिक सहयोग मात्रै हाम्रो अधिकार हो। अब कोसँग सम्झौता गरेर आयोजना सञ्चालन गर्ने अधिकार उक्त कम्पनी अन्तर्गत नै पर्छ। त्यही भएर आधिकारिक मान्छेसँग हाम्रो सम्पर्क हुन सकेको छैन।’

सम्बन्धित समाचार

एन्फाले नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टसँग लिग सञ्चालन गर्न आठ वर्षको सम्झौता गरेको छ। सो सम्झौता अनुसार लिगमा कुनै अवैध गतिविधि भए त्यसको अनुगमन गर्ने जिम्मा एन्फाकै हो।

तर एन्फाका अधिकारीहरू गैर कानुनी गतिविधीहुँदा पनि आयोजकसँग सामान्य प्रश्न समेत सोध्न सक्ने हैसियतमा नभएको यही प्रकरणले देखाउँछ।

नेपालको कानुन अनुसार अनलाइन जुवा खेलाउन र खेल्न प्रोत्साहन गर्ने अनुमति दिँदैन। वानएक्सन्युज भनिए पनि सो वानएक्सवेटकै कम्पनी रहेको र वानएक्सन्युजको उद्देश्य वानएक्सवेटलाई नेपालमा प्रवर्धन गर्नु रहेको प्रमाणहरू उसकै साइटमा छ।

जिम्मेवार निकायका अधिकारीहरू यसबारे जानकार नभएका पनि हैनन्। तर उनीहरू जानकारी पाए पनि केही थाहा नभएजस्तै गरिरहेका छन्। हिमालयन टिभीले लिगको प्रत्यक्ष प्रसारण गर्दै आएको थियो। उकेराले वानएक्सन्युज र वनएक्सवेटको सम्बन्धबारे प्रमाणसहित समाचार प्रकाशित गरेपछि हिमालयन टिभीले लाइभमा वानएक्सन्युजको लोगो प्रसारण गर्न रोकिसकेको छ।

तर लिग आयोजकले भने वाएक्सन्युजलाई प्रवर्धन गर्न छाडेको छैन। वानएक्सन्युजले लिग सम्बन्धी कुनै सामाग्री प्रकाशन र प्रसारण गरेको छैन।

वानएक्सन्युजलाई केको आधारमा अन्तर्राष्ट्रिय मिडिया पाट्नर बनाएको र उसको जिम्मेवारी के हो भन्नेबारे आयोजकबाट जानकारी लिन पटक-पटक फोन सम्पर्क गर्दा समेत उनीहरूले कुनै प्रतिक्रिया जनाएका छैनन्।

१४ मंसिर, २०८०, १५:३८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।