गणेश रसिकको हिजोको कुरा : राजा वीरेन्द्रसँग कुरा गरिरहेको थिए,पछाडिबाट तानेर सचिवले लडाउन पो खोजे !

गणेश रसिकको हिजोको कुरा : राजा वीरेन्द्रसँग कुरा गरिरहेको थिए,पछाडिबाट तानेर सचिवले लडाउन पो खोजे !

काठमाडौं : गणेश रसिक राई भोजपुरको छिनामखु, नौलागाउँका हुन्। उनको बाल्यकाल उतै बित्यो। चार दाजुभाइमा गणेश जेठा। बुबा ब्रिटिस आर्मीको क्याप्टेन। उनी दार्जिलिङको सरकारी विधालयमा पढ्न पाए। घर नजिकैको त्रिभुवन धर्मोदय विद्यालयबाट औपचारिक शिक्षाको सुरूवात गरेका उनले बिएसम्मको अध्ययन गरेका छन्।

नाटक र गायन क्षेत्रमा सक्रिय उनले २००८ सालतिर धरानमा रहेको मामाघर आउँदा रामायणमा आधारित नाटक  रामलिला’ हेर्न पाए। त्यही नाटकबाट प्रभावित भएर उनले भोजपुर फर्केपछि स्कुलमा नाटक गर्न थाले। नाटकमा अभिनय मात्र गरेनन् उनले गाउन पनि थाले।

गायन र अभिनयमा समेत रूचि भएका उनी २०२२ सालमा काठमाडौं आए। काठमाडौंमा उनको चिनजान राष्ट्रिय नाचघरका कलाकारसँग भयो। त्यही शिलशिलामा उनले  महेन्द्रकै पालामा दरबारमा समेत गीत गाउने अवसर पाए। उनी राजा महेन्द्र र वीरेन्द्रसँग पनि नजिकिन पाए।

रसिकले थुप्रै विभाग र संस्थाहरूमा ३१ वर्षसम्म विविध जिम्मेवारी निभाउने मौका पाए। २०२६ सालमा राष्ट्रिय नाचघरको जागिरेहुँदै रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक र सांस्कृतिक संस्थानको महाप्रबन्धक समेत भएका उनले आफ्नो यात्रा यसरी उकेरासँग साटे :

मामाघर जाँदा ‘रामलिला’ रस बस्यो

मरो मामाघर धरान। त्यहाँ जाँदा प्रायः नाटक भइरहन्थ्यो। म त्यति बेला ६ वर्षको थिएँ होला। मामाघर जाँदा रामायणको कथामा आधारित ‘रामलिला’ नाटक देखाइएको थियो। यो नाटक हेर्न म पनि गएँ। 

यो नाटक खेल्न र देखाउन भारतबाट कलाकारहरू आएका थिए। उनीहरूले रामलिला नाटक हप्तौँ हप्तासम्म देखाउँथे। मलाई अहिले पनि सम्झना छ- जे जे रामायणको कथामा पढिन्थ्यो, भगवान रामचन्द्र, हनुमान लगायतले यो नाटकमा त्यही अभिनय गर्थे। अनि नाटक सकिन लागेपछि भजनकीर्तन गर्थे,‘श्रीराम कि जय’ भनेर ठूलो ठूलो स्वरमा।

त्यो बेला नाटक गर्दा अहिलेको जस्तो आधुनिक हल थिएन। नाटक गर्न बाँसको किला गाडेर कपडाले तीनतर्फ बेरेर स्टेज बनाउँथे। स्टेजको छानो पनि कपडाकै हुन्थ्यो। उनीहरूले दुईतिर पर्दालाई डोरीले बाँधेर एक/एक तिर तानेर पर्दा उघार्थे। त्यो समयमा बिजुली बत्ती थिएन। रातको समयमा मैन बालेर दर्शक तर्फको उज्यालो छेकेर कलाकारतर्फ पारिन्थ्यो। 

एक दृश्य सकेपछि पर्दा तानेर स्टेज छोप्ने गरिन्थ्यो। फेरि अर्को दृश्यका लागि उघारिन्थ्यो। हरेक दृश्यमा पर्दा उघार्ने र बन्द गर्ने गर्थे। नाटक सकिएपछि ‘श्रीराम कि जय’ भन्ने गर्थे। नाटक गर्दा चाहिने हरेक सामग्रीहरू कलाकारहरूले नै लिएर आएका हुन्थेँ। अहिले पनि मलाई त्यो बेलाको नाटकका कतिपय दृश्यहरू याद छन्।  

नाटक खेल्ने कलाकारहरूलाई त्यहाँका धनाढ्य व्यापारीले खाना खुवाउने व्यवस्था गरेको सुनिन्थ्यो। स्टेजबाट ठूलो आवाजमा ‘आज र भोलि विहानको खाना फलाना महाजनको घरमा हुनेछ, अथवा उहाँले दिनुभएको छ’ भनिन्थ्यो। 

मैले जीवनमा पहिलो पटक नाटक हेरेको नै त्यही ‘रामलिला’ हो। यो नाटक हेरेपछि ममा पनि नाटकतर्फ रूचि बढ्न थाल्यो।

मामाघरको बसाइ सकिएपछि म घर आएँ। घर आएपछि सानातिना नाटकहरू गर्न थालेँ। त्यो समयमा नेपालमा पढ्नुपर्छ भन्ने खासै चलन थिएन। नेपालमा शिक्षा नभएकाले नै हाम्रो गाउँमा दार्जिलिङबाट केही शिक्षकहरू आएर पढाउनुभयो। यो २०१० सालतिरको कुरा हो। 

मेरा भाइहरू स्वर्गीय भइसके। दुई बहिनी हुन्। स्कुल पढ्दै गर्दा मलाई संगीतमा पनि रूचि बढ्न थाल्यो। मेरो बुबा पनि संगीतको पारखी हुनुहुन्थ्यो। त्यसैले पनि मलाई अलि सहज चाहिँ पक्कै भयो।

शिक्षकलाई तलब खुवाउन केटी भएर नाचियो

त्यो बेला स्कुलका शिक्षकलाई तलब दिन धौधौ थियो। तलब दिनका लागि स्कुलसँग पैसा नभएपछि हामीलाई अभिनय गराएर, गीत गाउन लगाएर गाउँ गाउँमा चन्दा उठाउने गरिन्थ्यो। स्कुलका सञ्चालक समितिहरू सबै मिलेर पैसा उठाउन अनेक गतिविधि गर्नुपर्थ्यो। 

देवराज राई, मछिन्द्र बहादुर राई, नारायण प्रसाद राई भन्ने कलाकारहरू हुनुहुन्थ्यो। अनि मसँग नाच्ने कृष्ण बहादुर राई चाहिँ मेरो साथी। म र उहाँ केटी भएर नाच्थ्यौँ। 

त्यो बेलामा केटीहरू नचाउने चलन थिएन। केटाहरूलाई राती जहाँ लगे पनि हुन्थ्यो, जति नचाए पनि हुन्थ्यो तर केटीहरूलाई राती हिँड्न दिने चलन थिएन। नाच्नका लागि केटीहरू हुँदैनथे। अनि आफै केटीको लुगा लगायो,नाच्यो। 

एकाध केटीहरूले मात्र मनले जितेर नाचेको देखेको थिए। नत्र अहँ नाच्दैनथे। अहिलेको जस्तो कहाँ सजिलो थियो र, त्यो बेला केटीलाई नाच्न! अनि केटा नै केटी भएर नाच्नुपर्थ्यो।

जब म पाँच कक्षा पास गरेर ६ मा गएँ, हाइस्कुल पढ्नका लागि भोजपुर बजार आइसकेपछि साहित्यिक माहोल भयो। अनि मात्र मेरो नाटक यात्रा सुरू भयो।

हृदयसिंहको 'निसिद्ध' भन्ने नाटक थियो। त्यसमा मलाई एउटा पात्रको भूमिका दिइएको थियो। सौतेनी आमाले हेला गरेको बालकको भूमिका थियो त्यो । अनि मैले 'सौतेनी आमाले हेला गरेको छैन, तपाईहरूले दस वटा कुरा सुनाएर हुन्छ' भन्ने संवाद बोल्नुपर्ने थियो, त्यो बोलेँ। अनि पर्दा बन्द भयो।

त्यो बेला हामीले त्यहाँको खुल्लामञ्चमा नाटक गरेका थियौँ। स्टेज सबै बाँसको कपडाको हुने भएकाले अलिअलि खर्च लाग्थ्यो। कतिपय लाहुरेले ल्याएको कपडालाई पर्दा बनाइन्थ्यो। 

स्टेजमा कलाकार तयार भो है भनेपछि तिर्रर सिठी बजाइन्थ्यो अनि पर्दा उघारिन्थ्यो। पर्दा डोरीले तान्दा आएन भने हातैले तानेर उघार्नुपर्थ्यो। अनि कस्तो हुन्थ्यो भने, ‘तिमीलाई कस्तो छ भनेपछि अर्कोले ठिक छ भन्थ्यो। कता हिँडेको भन्दा स्कुल भन्ने जवाफ आउँथ्यो। अनि एक सिन सकिन्थ्यो। त्यसपछि सिठी तिरर पारिन्थ्यो। एउटा नाटकमा २४/२६ चोटि पर्दा लगाउने र बन्द गर्नुपर्थ्यो। हेर्ने दर्शक चाहिँ असाध्यै हुन्थेँ।

रामायण जस्तो नाटक

रामायण जस्तै नाटक भोजपुरको टक्सारका अग्रज कलाकार तथा दाजुहरूले देखाउनुहुन्थ्यो, त्यो पनि जात्राको समयमा । पाल-साल टाँगेर नाटक देखाउनुपर्ने वाध्यता थियो। अनि नाटक सकेपछि पैसा उठाउने गर्नुहुन्थ्यो। तर त्यहाँ चाहिँ धरानमा जस्तो खानाको व्यवस्था गरिएको थिएन।

त्यो समयमा नाटक देखाएर ५० पैसा, १ रूपैयाँ, २ रूपैयाँ त्यस्तै उठाउने चलन थियो। त्यो समयमा एक रूपैयाँको महत्व ठूलो थियो। मैले थाहा पाउँदा स्कुलको फिस नै महिनाको १ रूपैयाँ थियो। एउटा शिक्षकको तलब त १५/२० रूपैयाँ भन्थेँ। अनि अरू के कुरा गर्नु र?

नाटक गर्दा एक कुनामा बसेर कलाकारहरूले नै बाजा बजाइरहेका हुन्थे। नाटकको भाव अनुसारको बाजा बजाउथे। अहिले त धेरै सजिलो भइसक्यो। नाटक घरमा पर्दा लगाउनुपर्दैन। बत्ती र लाइटको तालमेल गर्दा हुन्छ।

साहित्यमा गतिविधि, हस्त लिखित पत्रिका

त्यो समयमा पत्रपत्रिका भन्ने पनि थिएन। अनि साहित्यमा लागेका हामी कृष्ण जोशी दाइ, पर्शु प्रधान, मेघराज मन्जुल लगायत थुप्रै थियौँ। पत्रिका छपाउने भन्ने थियो।

तेह्रथुमको आठराईबाट हस्त लिखित पत्रिका आउँथ्यो। त्यसमा जेतप्रसाद सिटौलाहरू हुनुहुन्थ्यो। यता बुँइपाबाट ‘गोरेटो’, ‘घुँएत्रो’ यस्तै यस्तै हस्त लिखित पत्रिका निस्कन्थ्यो। हाम्रोबाट चाहिँ ‘चोइटा’ भन्ने हस्त लिखित पत्रिका निकाल्थ्यौँ। 

अहिलेको जस्तो कम्प्युटर सिस्टम थिएन। त्यो बेलामा हातले ५/६ पन्ना लेखेको हुन्थ्यो। त्यसैलाई पत्रिका भनिन्थ्यो। त्यही पत्रिका सबैतिर पठाइन्थ्यो। सबै जनाले पढ्थेँ र हामीले पनि पढ्थ्यौँ। रंगिन अक्षरमा कार्टुनका चित्रहरू पनि बनाउँथ्यौँ। कविता छापिएको छ भने त्यही अनुसारको चित्र बनाएर हस्त लिखित पत्रिका निकाल्थ्यौँ।

एसएलसी पछिको यात्रा

एसएलसीपछि म राजविराज हुँदै धरान र इलाम पुगेँ। विराटनगरमा राजन कार्की भन्नेले एकल नाटक गर्नुभएको थियो। राजविराजमा चाहिँ हाम्रो शिशिर प्रसाद देवकोटाले छायाँ अभिनय भनेर सेतो पर्दामा लाइट बालेर पर्दा पछाडिबाट अभिनय गर्नुभएको थियो। 

त्यो भनेको कस्तो भने, सेतो पर्दामा कलाकारको हाउभाउ दर्शकलाई देखाउने। मलाई अहिले पनि याद छ, उहाँले कुन मन्दिरमा जान्छौ यात्री भन्ने कविता बाचन गर्दै अभिनय गर्नुभएको थियो। यो नाटक हेरेको मैले २०२० सालतिरको हो।

यो नाटक हेरेपछि म इलाम गएँ। इलाम पुगेपछि म आफैले पनि एकल नाटक गर्ने सोच बनाएँ। अनि आफै लेखेँ पनि 'पश्चाताप।'

त्यतिबेलाको परिवेशमा एउटा देशभक्त युवा युद्ध लडेर फर्केर आएको भूमिका थियो। त्यो पनि घाइते अवस्थामा आफ्नो देशको सिमानामा आइपुगेको। मलाई त्यो संवाद अहिले पनि याद छ 'हे नेपाल आमा, म तपाईँको माटोमा आइपुगेँ’ भनेर सिमानामा देहत्याग गर्ने दृश्य थियो। देशको माटो सुहाउँदो नाटक गर्दा सय दिनसम्म चलेको थियो। 

२०२२ सालतिर लाहुर जानुहुँदैन भन्ने लहर अलिअलि आएको थियो। त्यसैले पनि होला, यो नाटकले सय दिन मनाउन सफल भयो।

त्यो बेला लाहुरेको एकदमै दुःखी अवस्था थियो। लाहुरेको घरमा छोराछोरी धेरै, एउटाको कमाइले नपुग्ने। लाहुरेकी श्रीमती सुखसयलमा बस्नुपर्ने खाल्का थिए। मेरो घर अगाडि पनि त्यस्तो अवस्था थियो। त्यो बेलामा के भन्थे भने,‘आयो लाहुरे बुट जुत्ता कसेर, गयो लाहुरे खरानी धसेर’। एकदमै नाजुक अवस्था थियो। अहिले त धेरै राम्रो भएको छ।

रेल चढेर काठमाडौंको यात्रा

त्यो समयमा काठमाडौं आउने अहिलेको जस्तो बाटो थिएन। भर्खर बाटो बन्दै थिए। इलामबाट झापाको भद्रपुर हिँडेर आउनुपर्थ्यो। त्यहाँसम्म भारत पुगेर रक्सौलसम्मको रेल चढेर आएँ। अनि त्यहाँबाट विरगंज आएपछि काठमाडौं आउने आराथुन भन्ने बस चल्दो रहेछ। त्यो बस चढेर त्रिभुवन राजपथहुँदै काठमाडौं आएको थिएँ। यो २०२२ साल तिरैको कुरा हो। 

खास म काठमाडौं जेटिए कृषि  विषय पढ्न आएको थिएँ। अनि जेटिए भर्ना भएँ, पढेँ। यो विषय पढेपछि कृषिमा नै जागिर खाएँ, पाटनमा। जेटिए पढ्ने क्रममा मेरो शैलेन्द्र साकारसँग भेट भयो। उहाँ हामी भन्दा अघिल्लो टोली हुनुहुँदो रहेछ। कवि मन्जिलसँग (मेघराज नेपाल) पनि यही भेट भयो। 

हुँदाहुँदै बिस्तारै काठमाडौंका कलाकारहरूसँग जोडिन थालेँ। राष्ट्रिय नाचघरका कलाकारहरूसँग नजिक भएँ। कलेजको कार्यक्रमबाट त्रिभुवन युनिभर्सिटीमा गएका थियौँ। त्यहाँ मैले नाटक हेर्न मौका पाएको थिए ‘अपमानित मानिसको आत्मा'। यो नाटक कस-कसले खेल्नुभयो मलाई यकिन छैन।

त्यसपछि २०२६ सालमा म पनि राष्ट्रिय नाचघरमा जागिरेको रूपमा आएँ, त्यो पनि कलाकार भएर। त्यो समयमा बालकृष्ण समका नाटकहरू प्रायः देखाइन्थ्यो। सम आफै आएर नाटक सिकाउनुहुन्थ्यो। जस्तो ‘मुटुको व्यथा’, ‘अमरसिंह’। यसमा अमर सिंहको संवाद सम  आफै बोल्नुहुन्थ्यो। त्यो बेला सेटिङ र ड्रेसमा धेरै खर्च हुन्थ्यो।

नाचघर राजा महेन्द्रले आफ्नै खर्चमा बनाउन लगाएका रहेछन्। पहिला यहाँ सांस्कृतिक विभाग भन्ने अन्तर्गत राखेर त्यसको निर्देशक सत्यमोहन जोशीलाई बनाइएको थियो। त्यसपछि यो नाचघरमा आगलागी भयो। फेरि निर्माण गरियो। यो निर्माणका रत्नराज्य लक्ष्मी शाहले फेरि पैसा दिएर निर्माण गरिएको थियो। यो निर्माण गर्दाको शिलापत्र त्यहीँ थियो। अहिले त खै कता फाले कुन्नि, देख्दिनँ पनि।

राष्ट्रिय नाचघरमा नाटक हुँदा राजपरिवारका सदस्यसहित राजा पनि हेर्न आउँथे। नाटकहरू प्रायः त्यो समयको व्यवस्थासँग सम्बन्धित हुन्थ्यो। जस्तो कि ‘अँध्यारो, उज्यालो’, पृथ्वीनारायण शाहको ‘चार पक्ष’ लगायतका मञ्चन हुन्थे। नातिकाजीले त्यो बेलामा संगीत गर्नुहुन्थ्यो। गीति नाटकको लहर चलेको थियो बेला।

राजा महेन्द्रसँग तीन भेट

राजाले त्यो बेलामा कलाकारसँग आफै डिल गर्थे। मेरो पनि नाटकको सिलसिलामा राजा महेन्द्रसँग ३ पटकसम्म भेट भएको थियो। मलाई विशेषगरी गीत गाउन निम्ता गर्थे। 

अनि भेटमा राजा महेन्द्रले घर कहाँ हो,  के गर्छौ भनेर सोध्नुभएको थियो। पछि वीरेन्द्रसँग पनि भेट भएको थियो तर त्यहाँका सचिवले राजालाई भेट्नै दिँदैनथे। मेरो त राजा वीरेन्द्रको सचिवसँग झगडै परेको थियो। भेट हुन लागेपछि पछाडिबाट तानेर लडाउनै खोज्थे, किन जान्ने भाको भनेर। 

ती सचिवको नाम नलिउँ, पाण्डे थरका थिए। मैले राजा वीरेन्द्रसँग केही कुरा गरिरहेको थिए,मलाई पछाडिबाट तानेर लडाउनै खोजे। जब म भित्र आएँ अनि के खाल्को मान्छे तपाई, त्यसरी अगाडि गएर कुरा गर्ने भनेर हकार्दो रैछ। तब मैले ‘ए बाबा! सरकारले मसँग कुरा गर्न चाही बक्सेको छ। कुरा गरेका छौँ। मैले कसैको खराब कुरा गरेको छैन। तपाईँलाई के टाउको दुखाई भो? किन जङगिनु हुन्छ?  भन्दै थर्काएँ। भोलिपल्ट सचिव आएर माफी मागेका थिए। 

राजा नचिन्दाको त्यो क्षण

राजा महेन्द्रसँग भेटहुँदा मलाई घर कहाँ हो भनेर सोधेपछि मैले 'भोजपुर हो सर' भनेँ। सरकार भनेर मलाई थाहा थिएन। अनि सर भने। राजाले तिमी भन्ने शब्दले बोलाएका थिए। किनभने हामी त छोरा समानको मान्छे तपाई भन्ने कुरा पनि भएन नि त! 

अब राजा जस्तै नदेखिने सिम्पल लुगामा थिए। कुर्था सुरुवाल र कालो चस्मा लगाएका थिए। राजा यस्तो हुन्छ भनेर कल्पनै नगरेको मैले। हामीले त दौरा सुरुवाल, श्रीपेज लगाएको सोचेको। त्यो बेला दरबारमा पुगेर राजासँग नै बात मारिएछ तर राजा भनेर चिन्दै चिनिँन। 

अनि तिमीलाई कहाँ बसेर गीत गाउन सजिलो हुन्छ भनेर सोधे। आफैले माइक, हार्मोनियन, बाजा-गाँजा कता कता राख्ने भनेर मिलाइदिए। मैले सर, हामी गर्छौ भनेर हार्मोनियम बोकेँ मिलाउनलाई। उहाँलाई बाजा-गाजाका सामानहरू राख्नलाई सहयोग गरेँ। 

तर उता एडिसी चाहिँ हेरेर बसेका थिए। टोपी नलगाएका युनिफर्म मात्रै थियो। यता उति हेर्छन् मात्रै। राजा काम गरिरहेका छन् उनी हेरेर बस्ने।  

सुन्ने दर्शक यता बस्ने, त्यहाँ बसेर गीत गाऊ, त्यहाँ बाट बाजा बजाऊ भनेर अर्हाए। अनि हामीले त्यसरी नै बसेर गीत गायौँ। मैले त्यो बेला ‘मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ, लहरा पहरा’ लगायत ५ वटा जति लोकगीत गाएँ।

२२/२३ वर्षको अल्लारे उमेर। गीत गाएर बाहिर आइसके पछि राजाले काम गरेका बेला गर्नु हुँदैन भनेर सुनाए। अनि मात्र उनी राजा महेन्द्र भएको चाल पाएँ। पछि थाहा भो, राजाले काम गरेको बेलामा अरूले गर्नु नहुने रहेछ। 

मलाई दरबारको नियम थाहा थिएन। मैले त राजासँग सँगै काम गरेँ। राजाले जे-जे गर्छन् दिनु पर्ने रहेछ। त्यही भएर राजाको एडिसीले पनि काम नगरेको रैछ।  

राजा महेन्द्रसँगको त्यो अन्तिम भेट

दरबारमा कार्यक्रमका लागि तेस्रो पटक बोलाइएको थियो। त्यो बेला राजा महेन्द्रको अनुहार उज्यालो थिएन। अहिले म सम्झन्छु, सायद राजालाई हर्ट अट्याक भा'को रैछ क्यार! महेन्द्रलाई मैले दुब्लो देखेँ, पहिलाको त्यो जोस जाँगर पनि देखिँन।

राजा चितवन जानु अघि हामी कलाकारहरूलाई भेट्छु भन्नु भएको थियो। जब राजा चितवन सवारी भयो। त्यहाँबाट राजा फर्कदै फर्किएनन्। उतै स्वर्गवास भयो।  

महेन्द्रपछि वीरेन्द्र राजा हुनुभयो। पाँच विकास क्षेत्रको भ्रमणमा हामीलाई पनि लैजानुभयो। त्यहाँ जाँदा खाली उर्जावान गीतहरू सुन्न रुचाउनुहुन्थ्यो। जुन विकास क्षेत्रमा गयो त्यहीको स्थानीय संस्कृति तथा गीतहरू गाउन लगाउने र त्यसको महत्व बुझ्ने गर्नुहुन्थ्यो। 

यो २०२८ सालबाट सुरू भएको थियो। विभिन्न ठाउँका कलाकारहरूले आफ्नो कला संस्कृति झल्काउने गीतहरू शुक्रबार दरबारमा सुनाउन लैजानुपर्थ्यो। धेरैले लैजान्थेँ।

रत्न रेकर्डिङ संस्थानको जिएम

दरबारसँग म नाचगानको हिसाबले नजिक थिएँ। मेरा गीतहरू पपुलर थिए। म २०३८ सालमा रत्न रेकर्डिङ संस्थाको जिएम भएँ। यहाँ काम गर्दागर्दै २०४० सालमा राष्ट्रिय नाचघरको जिएम भएँ।

सरसर्ती हेर्दा ४० को दशकमा नेपाली रङ्गमञ्चमा विदेशी नाटकको प्रभाव भयो। नाटक क्षेत्रले फड्को मार्यो। तर नेपाली नाटक लेखनमा कमी आयो। नाटक लेख्ने मान्छे धेरै कम भएका थिए।

५ पुस, २०८०, २२:५९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।