जातीय विभेद र यौन हिंसा भएपछि गाउँमा टिक्न सकिनन् स्वास्थ्यकर्मी तुलसा

जातीय विभेद र यौन हिंसा भएपछि गाउँमा टिक्न सकिनन् स्वास्थ्यकर्मी तुलसा

सुर्खेत : तुलसीपुर उपमहानगरपालिका–११ दाङकी २३ बर्षिया तुलसा कुमारी विश्वकर्माले २०७८-०७९ मा कर्णाली प्रदेश लोक सेवाबाट अनमी स्थायी पदमा नाम निकालिन्। उनको दरबन्दी भयो मुगुको सोरु गाउँपालिका।

पालिकाले उनलाई २०७९ माघ ९ गतेदेखि सोरु गाउँपालिकाको वडा नम्बर ९ को खनाया स्वास्थ्य चौकीमा खटायो। हालका शिक्षा शाखा प्रमुख वीरेन्द्र मल्ल तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत थिए। उनले आफ्नो वडामा विश्वकर्मालाई खटाइएका थिए।

सुरजकुमार शाहीको घरमा तुलसाले डेरा लिएर बसेकी थिइन्। केही महिनादेखि नै उनलाई गाउँका युवाहरूले अनावश्यक रूपमा राति फोन गर्ने, औषधीको निहुँ पारेर रक्सीको नसामा राति कोठामा आउने गर्न थाले।

त्यति मात्रै होइन, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मल्लले राति आफूलाई फोन गरेर भेट्न आउँछु भन्दै हिंसा गरेको उनले बताइन्।

‘वीरेन्द्रबहादुर मल्ल अहिले सोरु गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुनुहुन्छ। पहिला निमित्त हुनुहुन्थ्यो। उहाँले मलाई आफ्नो गाउँमा पठाउनुभयो। पछि राति फोन गरेर तपाईँ कहाँ हुनुहुन्छ? म भेट्न आउँछु भन्ने कुरा गर्न थाल्नुभयो,' उनले भनिन्'मैले इन्कार गरिरहेँ। गएको केही महिनामा रक्सी खाएर केही युवाहरूले विभिन्न बहानामा हिंसा गरे। मैले गाउँमा प्रहरी ल्याएपछि मलाई नै धम्क्याउन थाले। पछि त घरभेटीले समेत पानी नचल्ने कोठा अन्त सार भन्दै विभेद गर्न थाले।'

जातीय विभेद अनि यौन हिंसासम्मका प्रयास भएपछि आफ्नो सुरक्षाको लागि गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखलाई भने पनि कुनै सुनुवाइ नभएको उनले दुखेसो पोखिन्।

गाउँमा र आफ्नै हाकिमबाट हिंसा र विभेद भोगेपछि उनले सरुवाका लागि पालिका र प्रदेश सरकारसँग अनुरोध गरिन्। तर कसैले सुनेन।

२०८० भदौ ३ गते बल्ल कालिकोटको तिलागुफा नगरपालिकाको वडा नम्बर १ स्थित फोइमहादेव स्वास्थ्य चौकीमा  रिक्त रहेको अनमी चौथो पदका लागि नगरपालिकाले सहमति दियो। सहमति अनुसार तिलागुफा नगरपालिकाले  मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतलाई  सरुवा सहमतिको चिठी समेत पठायो।

०८० भदौ २३ गते सोरु गाउँपालिकाले पनि तुलसालाई  स्वास्थ्य तथा घरायसी समस्याको कारण खुलाउँदै सरुवा भई बाहिर जान सहमति पत्र दियो। तर, मुख्यमन्त्री कार्यालयबाट उनको सरुवा प्रक्रिया अगाडि बढेन।

‘म बसेको घरको अन्टीले तिमी तल्लो जातीको भएको थाहा थिएन। अहिले मात्रै थाहा भयो। सबै गाउँलेले हामीलाई पनि राम्रो मान्दैनन् हाम्रो घर छोडेर अन्त कतै कोठा खोज भन्नुभयो,’उनले भनिन्, ‘अन्त पनि कोठा दिन कसैले मानेनन्। म यहाँ सुरक्षित नभएको कुरा परिवारलाई भनेकी थिएँ। सरुवाको लागि पहल गरे पनि सफल भइन’ उनले भनिन्।

घटना सार्वजनिक भएपछि सोमबार सोरु गाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीसहित सञ्चारकर्मीहरूको टोली खनाया गाउँमा पुगेर तुलसालाई सोमबार बेलुका सदरमुकाम गमगढी ल्याएको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले बताए जाहेरी नआएको र जाहेरी आएमा अनुसन्धान गरिने बताए।

‘अहिलेसम्म कुनै जाहेरी र निवेदन आएको छैन। मंगलबार मात्रै उहाँले घटनाबारे खुलाउनु भएको हो,’ डिएसपी थापाले भने, ‘बुधवारसम्म उहाँका आफन्तहरू आउने कुरा छ। त्यसपछि उहाँले जाहेरी दिएमा कारबाहीका लागि तयार छौँ।’

३ पुस, २०८०, २०:५५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।