जनकपुरमा सीताराम विवाह सम्पन्न, आज रामकलेवा

जनकपुरमा सीताराम विवाह सम्पन्न, आज रामकलेवा

काठमाडौं : रंगभूमि मैदान (वरहविघा)मा स्वयंवर र रात्रिकाल जानकी मन्दिरमा बनाइएको भव्य विवाह मण्डपबीच सीताराम विवाह सम्पन्न भएको छ।

त्रेताकालमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष झैँ यस वर्ष पनि वैवाहिक समारोह सम्पन्न भयो।

अयोध्याबाट सीता र रामको डोला ल्याई आएका जन्तीको उपस्थिति र श्रद्धालुको सहभागितामा आइतबार स्थानीय रंगभूमि मैदानमा स्वयंबर समारोह गरिएको थियो।

ढोल पिपही, सहनाई, ब्याण्डबाजासहित रंगभूमि मैदान पुगेको रामसीताको डोलाबीच मालाफेर हुँदा नेपाली सेनाको हेलिकप्टरले आकाशबाट पुष्पवृष्टि गरेको थियो।

नेपाली सेनाका माहिला सांगीतिक समूहले डोला नगर परिक्रमा गÞरी राख्दा पञ्चे बाजा समेत बजाएका थिए। साँझ जानकी मन्दिर प्रांगणमा बनाइएको भव्य मण्डपमा मिथिला परम्पराअनुसार सीतारामको विवाह भएको छ।

यस्तै एक सातासम्म चलेको विवाहपञ्चमीको अन्तिम दिन आज राम कलेवा हुँदैछ। रामकलेवामा जानकी मन्दिरमा विशेष भण्डारा (भोज) को आयोजना गरी विहेमा जन्तीको रूपमा आएका पाहुनाहरूलाई  भोजन गराइन्छ।

भोजनपछि आज साधुसन्तलाई दक्षिणा दिएर बिदा गर्ने परम्परा छ। रामकलेवा भएसँगै विवाहपञ्चमी महोत्सव सकिनेछ।

२ पुस, २०८०, १०:२१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।