‘कुनै-कुनै लडाइँ यस्ता हुन्छन्, जुन लडाइँ हारे पनि गर्व गर्नुपर्ने हुन्छ, नालापानीको लडाइँ त्यही हो’

‘कुनै-कुनै लडाइँ यस्ता हुन्छन्, जुन लडाइँ हारे पनि गर्व गर्नुपर्ने हुन्छ, नालापानीको लडाइँ त्यही हो’

२०७६ सालमा कान्तिपुर दैनिकमा नयाँ जोशका साथ आबद्ध भए पत्रकार तथा लेखक मोहन मैनाली। त्यतिबेला उनी ‘खोजखबर’ पृष्ठको प्रमुख भएका थिए। उनकै शैलीमा भन्दा पत्रकारितामा अन्तिम धक्का दिने प्रयास गर्दै थिए उनी।

हप्ताको ६ दिन १४ घण्टा खट्ने कम्तीमा ५ जना रिपोर्टरलाई लामो र खोज पत्रकारितामा अब्बल बनाउने उनको योजना थियो। एक पत्रकारलाई पाँच वटा मात्रै स्टोरीमा मेन्टर गर्न सकियो भने पनि जहाँसुकै गएर अब्बल रिर्पोटिङ गर्नसक्ने बन्छन् भन्ने आत्मविश्वासकासाथ काम गर्दै थिए उनी।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को महामारीले सञ्चारमाध्यमलाई असर गर्यो। कोरोनाका कारण खोजखबरमा काम हुन नसक्ने भएपछि उनले कान्तिपुर छाडे।

कान्तिपुर त छाडे। तर खोज्ने, पढ्ने र लेख्ने हुटहुटीले उनलाई छाड्ने कुरै भएन। कुनै काम विशेषले राष्ट्रिय अभिलेखालय पुगेका मैनालीले पूराना चिठी-पत्र देखे त्यो पनि नालापानी लडाइँका, जुन नालापानी हाम्रा पुर्खाले अनवरत लडेर पनि हार्न पुगेका थिए। दुई तिहाइ भूमि नेपालले गुमाएको थियो।

स्नातक तहमा इतिहास पढेका मैनालीलाई लडाइँका पत्रले लोभ्यायो। अभिलेखालयका ५ सय प्रति त्यस्ता चिठी मैनालीले पढे। लडाइँका पुस्तक कि त अंग्रेजको तर्फबाट लेखियो कि त नेपालीको।

मैनाली पत्रकार न परे, दुवैतिरको पत्र केलाएर उनकै भाषामा भन्दा २ सय ७ वर्ष (किताब लेख्न सुरू गर्दाको समय)अघिको लडाइँको ‘रिपोर्टिङ’ गरे। अनि तयार भयो मुकाम रणमैदान पुस्तक।

१८७१ साल कार्तिकमा १० गते बिहान नालापानीमा थालिएको लडाइँ १८७२ साल फागुन २५ गते सकियो। यो लडाइँलाई कतिले नेपालीहरू वीर भएर बाँकी भू-भाग जोगिएको त कतिले अंग्रेजले ‘दया’ गरेर छाडिदिएको जसरी व्याख्या गर्छन्।

खास कुरा के हो त? पत्रले के भन्छ? हामीले इतिहासलाई कसरी हेर्नुपर्छ? यही सेरोफेरोमा रहेर उकेराकर्मी प्रजु पन्तले मैनालीसँग गरेको कुराकानीको सम्पादित अंश।

गाउँ-गाउँ पुगेर समाचार लेख्ने खोज पत्रकार इतिहासप्रति कसरी आकर्षित हुनुभयो?
नालापानी लडाइँका बारेमा यतिविघ्न चिठी छ होला भन्ने मलाई लागेको थिएन। अलि-अलि पहिला देखेको थिएँ। तर उस्तो ख्याल गरेको थिइँन। स्नातक तहमा इतिहासको विद्यार्थी त थिएँ। तर, यसरी २०७ वर्षअघिका चिठी छन् भन्ने त सोचेकै रहेनछु।​​​​​​

केही चिठी ऐतिहासिक जर्नल पूर्णिमामा छापिएको त रहेछ। तर मैले ख्याल गरेको थिइन। जब देखेँ, लाग्यो यो विषयमा एकीकृत रूपमा लेखिएकै पो छैन! म सक्छु की जस्तो लागेर पत्र पढ्न थालेँ। त्यसैको परिणाम किताबै बन्यो।

त्यतिबेला नेपालीमै लेखिएता पनि सबै अक्षर जोडिने अनि व्याकरण नै नभए जस्तो रहेछ। लेख्दा-लेख्दै छोडौँ-छोडौँ लागेन?
२५ हजार खर्च गरेर अभिलेखालयबाट चिठी त लिएँ तर यति अप्ठ्यारो होला भन्ने सोचेकै थिइँन। शब्द नछुटिने मात्रै होइन वाक्य पनि नछुटिने रहेछन् त्यो बेलाका। छोडौँ-छोडौँ नलागेको होइन तर केही साथीहरूसँग सल्लाह गरेपछि सकिन्छ की त भन्ने आँट आयो। अर्को, खर्च भइसकेको पैसा पनि त थियो। काम त जसरी पनि गर्नुपर्छ भन्ने लाग्यो।

कति वटा जति चिठी पढ्नु भयो?
मैले ५ सय जति चिठी पढेँ। यो सबै किताबमा त काम लागेनन् तर किताबमा काम लाग्दैनन् भन्ने थाहा पाउन पनि पढ्नै पर्ने थियो, पढियो। पहिलो लटमा केही शब्द बाहेक मैले पढ्न सकेँ।

नेपालमा कुनै ऐतिहासिक दस्तावेज नै छैनन् भन्ने दाबीहरू पनि सुनिन्छ। हामी पत्रकारलाई पनि इतिहासमा चासो राख्नेले भनेपछि हो क्यारे भन्ने लाग्छ नै। तपाईँ आफूले पनि यस्तो चिठी छ भन्ने सोचेको थिइँन भन्नुभयो। भेट्दा कस्तो महसुस भयो?
जे कुरा छैन होला भन्ने सोचिन्छ तर त्यो पाउँदा खुशी भइन्छ। यति रोमाञ्चित भएँ की सायद त्यही रोमाञ्चक भएर नै होला चिठी पढेँ, चिठी सारेँ। काम गरुन्जेल अति रमाएँ पनि। पहिलो लट किनेँ, दोस्रो लट त्यहीँ बसेर सारेँ।

बिहान ११ बजेदेखि साढे ४ बजेसम्म सारेँ। त्यहाँ बसेर काम गरुन्जेल खाजा खानै पनि बिर्से। ५०-६० वटा चिठी पढेपछि त मैले धेरै पढ्न सक्ने भइसकेको थिएँ, केही शब्द बाहेक। एउटा शब्द थियो ‘बलनपुगी’ भन्ने। के रहेछ? यो बुझ्दै बुझिँन।

डिको छुट्टिएको नहुने। ४ दिनपछि हेर्दा फेरि त्यो चिठी दोहोर्याएर पढेँ। ‘बलनपगी’ भनेर पढेको थिएँ सुरुमा। तर, यो त ‘बल नपुगी’ रहेछ। यस्ता धेरै भए चिठी पढ्ने क्रममा।

५० वर्ष त कट्नुभयो होला, ५० वर्ष नकट्दै देशका धेरै भू-भाग हिँडेरै पुग्नुभयो। समाचार मात्रै लेख्नुभएन किताब पनि लेख्नुभयो। अब गोडा थाक्ने बेला अभिलेखालय छिर्नुभयो, पुस्तक लेख्नुभयो। काममा यो खालको प्यासन चाहिँ कसरी आउँछ?
(हाँस्दै), ५०  किन नकट्नु! कटिसकेँ। कान्तिपुर दैनिकमा आबद्ध थिएँ, खोजखबर पृष्ठको लागि। सिनियरहरूलाई मैले पनि केही गर्दैछु है भन्नु नै थियो। पत्रकारितामा अन्तिम धक्का दिनुपर्छ भन्नेमा थिएँ। दिनको १४ घण्टा खट्न तयार थिएँ। ५-५ वटा रिपोर्ट ५ जना पत्रकारलाई मेन्टर दिएर सिकायो भने पनि उसले जहाँसुकै गएर काम गरि खान सक्छ भन्ने आत्मविश्वासका साथ काम सुरु भएको थियो।

तर कोरोनाले  दिएन। त्यो काम गर्न नपाएपछि समय बचत भयो। यो बचतमा पुस्तक लेखियो। मलाई के लाग्छ भने जान्ने हो भने पत्रकारलाई कामको खाँचो हुँदैन। त्यसैले त काम गर्दा जहिले विभिन्न बाटोहरू बनाउनुपर्छ। पत्रिकामा काम गरिएन किताब लेखियो।

त्यसमाथि इतिहास पढ्न मज्जाको विषय हो। दुई तिहाइ भूमि गुमाएको कुरा लेख्न पाउनु आफैँमा राम्रो अवसर थियो। २०७ वर्षअघिका पत्र, जसलाई यसभन्दा अघि कसैले पल्टाएकै थिएनन्, एक पत्रकारलाई यो सबै दस्तावेज प्राप्त गर्नु त राम्रो अवसर थियो नि! एक किसिमको चुनौती पनि थियो। तर, सफल भइन्छ भन्ने लागेर नै म यतातिर लागे।

तपाईँका किताबका नाम अलि अनौठा हुन्छन्, ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ राख्नुभयो। अहिलेको किताब ‘मुकाम रणमैदान’। नाम चाहिँ कसरी जुर्यो?
अन्य किताबका यसअघि नै भनिसकेको छु। मुकाम रणमैदान चाहिँ जहाँ-जहाँ युद्ध भएका छन्, त्यहाँबाट लेखिएको पत्रको मुनि मुकाम अनि युद्धस्थलको नाम लेखिँदोरहेछ। अनि मैले पनि मुकाम रणमैदान राखेँ।

किताब बजारमा गइसकेको छ। कस्तो प्रतिक्रिया आइरहेको छ?
पाठकले यो कुरा थाहा पाउनुपर्छ भनेर यति धेरै मिहिनेत गरेको छु। मैले सामाजिक सञ्जालमा मेरो बलबुताले भ्याएसम्म गरेको छु है भनेर लेखिरहेँ। एकजना पाठकले किताब हेरेपछि भन्नुभयो, ‘तपाईँले त्यसरी भन्नै पर्दैन किताबको केही पाना पढेपछि नै थाहा भइहाल्छ।’ त्यसपछि मैले भनेको छैन। अर्थात् प्रतिक्रिया राम्रो पाएको छु।

अब किताबको कुरा गरौँ,
तपाईँले किताबको लेखकीयमा पनि लडाइँबारे लेखिएका धेरै सामग्री लडाइँ भएको धेरै वर्षपछि उडन्ते कुरा सुनेर त्यसमा थप कथा घुसाएर लेखिएका रहेछन् भन्नुभएको छ। इतिहासकारले हारेको लडाइँमा पनि गौरव गरे भनेको देखिन्छ। तपाईँले पाँच सय चिठी पढ्नुभयो। यसको आधारमा भन्दा हाम्रो इतिहासकारलाई हार स्वीकार्न कठिन भएको की आत्मरतिमा रमाएको?

चिठी पढ्दै गर्दा मलाई के लाग्यो भनेँ, हारेको लडाइँ भए पनि त्यति बहादुरीपूर्ण लडाइँ अन्त भएको थिएन। कहिलेकाँही हारेको लडाइँमा पनि गर्व गर्नुपर्छ। इष्टइण्डीया कम्पनीको जसले नेतृत्व गरेका थिए उनीहरू काँतर थिएँ। अंग्रेजहरूलाई कहाँ पुग्नुपर्छ भन्ने पनि थाहा थिएन। शुरूमै उनीहरूको कमान्डर रर्बट रोलो जिलेष्पी मारिए। कर्णेल मोबिले अंग्रेजको तर्फबाट कुशलतापूर्वक लड्यो। लडाइँमा कहिलेकाहिँ कुन मर्काको विपक्षीसँग लडिँदैछ भन्ने कुराले पनि प्रभाव पार्दो रहेछ।

लडाइँ जितिन्छ की हारिन्छ तर कुनै-कुनै लडाइँ यस्ता हुन्छन् जुन लडाइँ हारे पनि गर्व गर्नुपर्ने हुन्छ। नालापानीको लडाइँ त्यही हो। टिस्टादेखि सतजलसम्मको लडाइँका चिठी पत्रहरू पढेपछि लाग्यो, यो लडाइँ गर्व गर्न लायक छ। त्यसैले नालापानी किल्लाको लडाइँमा गर्व गर्नु ठीक थियो।

त्यसो भए यसअघि इतिहासकारहरूले जसरी इतिहास लेखे त्यो ठीक थियो ?
अलिकति चाहिँ बढाइँचढाइँ गरेकै हुन्। ऐतिहासिक आख्यानमा त तथ्य तोडमरोड गर्नुहुँदैन भने ऐतिहासिक किताबमा नै बढाइँचढाइँ नगरिदिएको भए हुन्थ्यो। तर त्यतिधेरै स्रोत र साधन भएको इष्टइण्डीया कम्पनीलाई नेपालबारे त्यति धेरै थाहै थिएन। उनीहरूसँग भिड्नु सानो साहसको काम चाहिँ थिएन।

नेपाली इतिहासका टिप्पणीकारले नेपाली इतिहासकारले हुँदै नभएको कुरा विदेशी लेखकको किताबमा यस्तो छ भनी रेफ्ररेन्स लिएको देखिन्छ। तपाईँको किताबमा पनि ह्यामिल्टनलाई अंग्रेजहरूले नेपालबारे सोधेको त्यस्तै कर्कप्याट्रिकको पनि नाम उल्लेख छ। उनीहरूले आफ्नो स्वार्थको लागि नेपाली इतिहास र भूगोलबारे लेख्नु युद्धलाई सघाउनु थियो या स्वतन्त्र लेखाइ?
बेलायतीहरूले हरेक काम गर्दा आफूलाई के फाइदा हुन्छ भनेर त्यतिबेला पनि हेर्थे र अहिले पनि हेर्छन्। मेरो साम्राज्यलाई के फाइदा हुन्छ भनेर उनीहरूले विश्लेषण त गर्ने नै भए, चाहे त्यो इतिहास लेखून् या भुगोलबारे नै। उनीहरूले निरपेक्ष भएर विशुद्ध विद्तजनमा आउने कौतूहलता मेटाउन मात्रै लेखे भन्ने चाहिँ मलाई लाग्दैन।

पछिल्लो समय इतिहासमा टिप्पणी गर्नेहरूले विदेशीले लेखेको आधारमा नेपालीहरूले बढाइँचढाइँ गरे भन्छन् पनि। तर के विदेशीले लेखेको आधारमा मात्रै इतिहासको व्याख्या गर्न सकिन्छ?
विदेशीले लेखेको मात्रै हेर्नु र नेपालीले लेखेको मात्रै हेर्दा एक पक्षीय हुन्छ। इतिहास बुझ्नलाई दुवै पक्षले लेखेको हेर्नुपर्छ। युद्ध भइरहेको छ, दुई पक्षको अनि एक पक्षको मात्रै हेरेर विश्लेषण त गर्नै भएन नि!

विदेशीको मात्रै भर परेर आफ्ना प्राथमिक स्रोतमा पुग्न अल्छी गर्न पाइँदैन। अर्काले तयार पारेको ज्ञानलाई यताउती पारेर किताब त के लेख्नु र? दुई समूहबीचको फुटबल प्रतियोगिताबारे लेख्दा एउटा समूहको मात्रै लेख्यो भने पूर्ण हुन्छ र! दुई पक्षबीच झगडा भएको छ भने दुवैतर्फ पढ्न जरुरी छ।

सूर्यविक्रम ज्ञवालीले दार्जिलिङमा बसेर इतिहास लेखे। जब पूर्णिमा पत्रिका निस्कियो त्यसपछि त पूराना चिठीहरू छापिएका छन्। त्यसकारण दुवै पक्षको हेर्न सकिन्छ। विदेशीले लेखेका आधारमा इतिहास टिप्पणी गर्दा एक पक्षलाई त अन्याय हुन्छ। त्यो हेर्ने त टिप्पणी गर्नेले हो।

भनेपछि सीमित स्रोत र साधनका बीच नेपालीले जसरी लडाइ लडेँ त्यो बहादुरीपन नै थियो भन्दा हुन्छ?
मैले भेटेको पत्रको आधारमा भन्न सकिन्छ, त्यो लडाइँ साहसपूर्ण थियो र हारे पनि गर्व गर्न लायक थियो।

नेपाल युद्धमा दुई तिहाइ भूमि गुमायो। बाँकी नेपाल कसरी जोगियो होला?
एउटै कारण भन्दा यसका केही कारण केलाउनुपर्ने हुन्छ। अंग्रेजले यो लडाइँ जित्नको लागि लडेकै थिएनन्। एउटै कारण थियो नेपाललाई साइजमा राख्नु। नेपालले आँखा-आँखा जुधाउन नसकोस् भन्ने थियो उनीहरूमा। अनि अंग्रेजले आफ्ना पत्रमार्फत भनेका छन्- नेपालीलाई जित्न गाह्रो छ कारण एक त भौगोलिक अवस्था, दोस्रो नेपालीको जित्ने चाहना। नेपालीको अदम्य साहसको उनीहरूले कदर गरेको देखिन्छ।

त्यस्तै उनीहरूले जितिहाले पनि शासन गर्न सकिँदैन भन्ने थियो। किनभने नेपालीहरू त्यो सहँदैनन् भन्ने कुरा उनीहरूले चिठीमा लेखेको देखिन्छ। अर्को कारण भनेको इष्टइण्डीया कम्पनी त कम्पनी न थियो। उसले खर्च तुलना गर्यो। आफ्नो लगानी डुब्छ अन्य लगानीकर्ताले विरोध गर्छन् भन्ने भय पनि थियो। उनीहरूको मासिक ७ लाख ८४ हजार खर्च भइरहेको थियो। यसले पनि उनीहरू पछि हटे अनि नेपाल जोगियो।

नेपालले लड्नै सक्दैनथ्यो। अंग्रेजलाई यो थाहा थियो। त्यसैले उनीहरूले छाडिदिएका हुन् भन्ने पनि छन् नि!
माथिका कारण पत्रको आधारमा भन्न सकिन्छ। उनीहरूले नेपालीलाई जित्न सकिँदैन भन्ने नै छ। अब त्यतिबेला लडाइँमा अंग्रेजको नेतृत्व लिने भन्दा पनि बढी अंग्रेज किन भइ टोपलिनुपर्यो अहिलेकालाई?

अंग्रेजको मनोबल चाहिँ किन गिरेको रहेछ?
उनीहरूलाई नालापानीमा सानो टुकडीले पाटपुट पारेर लिइन्छ भन्ने लागेको थियो। तर, पहिलो पटक त हारे उनीहरूले। सोचेभन्दा धेरै क्षति पनि भयो उनीहरूको। नेपालीहरूसँग लडाइँ लड्ने कौशल भएको देखे उनीहरूले। अर्को उनीहरूले नेपालको भुगोल चिन्दै चिनेनन्, जसकारण बाटो बनाएर हतियार ल्याउनुपर्ने अवस्था आयो। उनीहरू काँतर देखिए।  एक त धेरै खर्च, अर्को नेपालीको डट्ने क्षमताले पनि उनीहरूको मनोबल गिरेको देखिन्छ।

तोप चलिरहेको ठाउँमा पनि तरबार चलाउँदै नेपालीहरू गएका छन्। मुडे बुद्धि थियो या देश जोगाउनुपर्छ भन्ने भावना?
त्यतिबेला त ढुंगो भन्दा रहेछन् देशलाई। सायद सिपाहीलाई देश जोगाउनुपर्छ भन्ने भावना थियो। राजाको नुन खाएका छौँ, राजाको ढुंगो डुबाएर आफू बाँच्नु हुँदैन भन्ने उनीहरूको धारणा देखियो।

केही त भागेर इष्टइण्डीया कम्पनीमा पनि गए है?
गएको देखियो सानो संख्यामा।

लडाइँमा महिला तथा बालबालिकाको पनि शव देखियो भनेर अंग्रेजले लेखेको पत्रमा छ। नेपालको तर्फबाट युद्धमा महिला तथा बालबालिका उपस्थित कसरी भयो होला?
त्यतिबेला स्थायी क्याम्पमा श्रीमती र बालबच्चा समेत बस्ने चलन रहेछ। अहिले क्वार्टरमा बसे जस्तो। त्यसकारण नालापानीको युद्धको स्थायी क्याम्पका महिलाहरूले पनि ढुंगामुढा गरेका होलान्। तर, लडाइँमा नै गएको भने देखिँदैन।

पाल्पा राज्यका व्यक्ति कनकनिधि तिवारीले अंग्रेजलाई नेपालीबारे कुरा लगाइदिएको देखिन्छ। उनी अंग्रेजको दलाल या अन्य केही?
उनी पाल्पाका राजाका मान्छे हुन्। गोर्खालीले उनको राज्य जितेको थियो। त्यही रिसले उनले अंग्रेजलाई सघाएको हुनसक्छ। अर्को हिसाबबाट हेर्दा पाल्पा राज्यको लागि त उनी राष्ट्रवादी पो देखिन्छन्।

हामीले किताब पढ्दा भक्ति थापाको विरगाथा पढियो। तर तपाईँको किताब पढ्दा उनलाई जति वीर भनियो त्यतिबेलै विवाद भएको थाहा हुन्छ है!
भक्ति थापाबारे जसरी टिप्पणी भयो सहयोद्धा सन्तुष्ट रहेनछन् भन्ने देखिन्छ। सायद लडाइँको विभिन्न स्थानको नेतृत्व लिने र अलि वरिष्ठ भएर पनि हुनसक्छ उनको नाम ज्यादा आएको। सहयोद्धाले उनको योगदानमा प्रश्न उठाएको देखिन्छ।

बलभद्र कुँवर लाहुर गए क्यारे। यसलाई कसरी लिन सकिन्छ?
युद्ध हारेपछि धेरै सैनिकहरू त्यतै लडाइँमा लागेको देखिन्छ। बलभद्र कुँवर लाहोर गए पनि  उनीहरूको समूहले चिठी पत्र आदानप्रदान भएको देखिन्छ। जे भए पनि हामी नेपाली हौँ त्यहीँ काम गर्नुपर्छ भनेर लेखेको देखिन्छ।

भीमसेन थापालाई कतिले खलनायक बनाएका पनि छन्। युद्ध हार्नुमा, भूमि गुम्नुमा भीमसेन थापाको नेतृत्व कति सफल कति असफल?
नेपालको अंग्रेजसँग लड्ने तागत नै थिएन। जति लडे तागत भन्दा बढि लडेका हुन्। भीमसेन थापा प्रधानमन्त्री भए तापनि उनले पठाउने गोलीगट्ठा नै थिएनन्। हतियार नै नभइ के गरून् उनीहरूले!

अंग्रेज १८ एमएम गोला खाने तोप लिएर आएका छन्, त्यसलाई रोक्ने भनेका छन्। धेरै भूमि गुमेको अवस्था थियो। अंग्रेजलाई पनि नेपाल चिढाउन हुँदैन भन्ने त थियो नै।

त्यसैले होला युद्ध भएको कोशीदेखि राप्तीसम्मको भू-भाग फिर्ता दिए उनीहरूले। भारदारहरूको मन दुखाउन हुँदैन भनेर उनीहरूले त्यो जग्गा फिर्ता दिए। अर्को वार्षिक २ लाख रुपैयाँ तिर्नुपर्नेमा अंग्रेजले पैसा फिर्ता पनि दिए।

राजाले देश जोगाउँछन् भन्ने भाष्य छ के रे। तपाईँको किताब पढ्दा तत्कालीन राजा गिर्वाणयुद्ध विक्रम शाहले धेरै भूमि गुमाएर पनि सम्झौता गर भनेका छन्। अंग्रेजले सुगौली सन्धि गर्ने भन्दा नेपालले उनीहरूले जे भन्छन् त्यसैमा मोलमोलाइ नगरी सही छाप लगाएको देखिन्छ। कूटनीतिक क्षमता चाहिँ नभएको हो?
त्यसमा चाहिँ अलि चुक्यो नेपाल। भारदारहरूको मन दुखेको भए केही जमिन दिने पक्षमा उनीहरू देखिन्छन्। त्यसैले त नेपाली पक्ष हस्ताक्षर गर्न जाँदा पनि सन्धि तयार नै थिएन। यसमा कूटनीतिक क्षमता नभएको भन्दा पनि सायद युद्धमा यस्तै भयो होला। (हाँस्दै...)

अन्त्यमा, यो किताब लेख्नुअघि इतिहासप्रतिको तपाईँको दृष्टिकोण र अहिलेको दृष्टिकोण?
इतिहासमा हावादारी कुरा घुसाइँदो रहेछ। हामीसँग डकुमेन्ट छन्। हाम्रो लागि इतिहास गर्व गर्नलायक छ। त्यो हामीसँगै भएका दस्तावेजले बोल्छन्। चिठी नै नपल्टाइ जथाभाबी व्याख्या गर्नुहुँदैन। दस्तावेज हेरौँ, भुलभुलैया भन्दा यथार्थमा रहेर हेर्दा इतिहासप्रति न्याय हुन्छ।

२९ मंसिर, २०८०, ११:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।