कलाकार मुकुन्दको हिजोको कुरा : बाटोमा हिँड्दाहिँड्दै 'साइँली र माइली पोइल गएछन्' भन्ने गीत फुर्यो, उदीतनारायण पछि लागेर हत्तु पारे

कलाकार मुकुन्दको हिजोको कुरा : बाटोमा हिँड्दाहिँड्दै 'साइँली र माइली पोइल गएछन्' भन्ने गीत फुर्यो, उदीतनारायण पछि लागेर हत्तु पारे

बाल्यकालबाट नै अभिनयमा लागेका कलाकार हुन् मुकुन्द किशोर भट्टराई। स्कुल पढ्दाको समयमा घरमा जाँदा खान दिएको पैसा जम्मा गर्दै साथीभाइ जम्मा पारेर तिहारको समयमा सडक नै छेकेर स्टेज बनाउँथे अनि आफूले लेखेका नाटक मञ्चन गरेर मनोरञ्जन दिन्थे। 

घरमा बुबा आमाले छोरालाई पाइलट बनाउने सपना देखेका थिए। तर उनी भने साथी भेला बनाएर नाटकमा रम्न थाले। नाटक गर्दा गर्दै कहिलेकाँही अबेला घर पुग्थे। त्यो समयमा रिसले चूर भएका बुबा आमाले उनलाई घर पस्न दिँदैनथे। घरमा बास बस्न नपाएपछि नाटक खेल्ने साथीको घरमा सुत्थे।  

२०३२ सालमा प्रज्ञाप्रतिष्ठानले पहिलो पटक नाटक महोत्सव आयोजना गर्यो।  महोत्सवमा १४ अञ्चलका नाट्यकर्मीहरुले आ–आफ्नो नाटक मञ्चन गरे। महोत्सवमा मुकुन्दले पनि एकाङ्गी नाटक भत्किएको सपना मञ्चन गरे। उनी त्यो नाटकमा उत्कृष्ट कलाकार घोषित भए, गोल्ड मेडल समेत पाए। 

त्यसपछि उनले थुप्रै नाटक लेखेर मञ्चन गरे। नेपालमा टेलिफिल्मको भर्खर सुरुवात भएको थियो। केही टेलिफिल्महरूमा समेत अभिनय गर्ने मौका पाए। 

‘तिलहरी’, ‘कन्यादान’, ‘के घर के डेरा’, ‘देउकी’ लगायत थुप्रै फिल्ममा काम गरे। उनी अभिनयमा मात्र सीमित नभएर गीत लेखनमा पनि उतिकै सक्रिय थिए। उनले लेखेको गीत ‘साइँली र माइली पोइल गएछन्’ अहिले पनि स्रोता माझ लोकप्रिय छ। उनै कलाकार भट्टराईले आफ्नो हिजोको कुरा उकेरासामु यसरी सुनाए :

पढाइ भन्दा अभिनयमा ध्यान

म सामाखुसीमा ७८ वर्ष अघि जन्मिएको हो। मेरो बाल्यकाल सामाखुसी वडा नम्बर २९ मा नै बित्यो। २५ सालमा मात्रै हो हामी लाजिम्पाट आएको हो। अहिलेसम्म हामी यही नै छौँ। 

मैले श्री शान्ति विद्या गृह हाइस्कुलमा पढेको हो। म स्कुलमा पढ्दाको समयमा पनि अभिनय कला आफैंमा उत्पत्ति भइरहेको थियो जस्तो लाग्छ।  त्यो समयमा अभिनयलाई कसैले मन पराउँदैनथे। तर म चाहिँ स्कुलबाट आउने बित्तिकै ऐना अगाडि उभिएर अनुहार बिगार्न थालिहाल्थे। अरूको हाउभाउ नक्कली गर्न सिक्थेँ। 

मेरो उमेर बढ्दै गयो।  २०२० सालमा एसएलसी परीक्षा दिएँ। दुर्भाग्यवश! एसएलसीमा म फेल भएँ। फेल भएपछि बरालिएर विदेश घुम्न गएँ। भारतका विभिन्न स्थान र भुटानसम्म पुगेँ। मेरो धेरै बसाइ आसाममा भयो।  

मैले थाहा पाउँदा सुन तोलाको १ सय ५० रूपैयाँ थियो। तैपनि कतिका नाक-कान बुच्चै हुन्थेँ। पैसाको अभाव हुन्थ्यो। अहिले एक लाख २५ हजार सुन पुग्न लागिसक्यो। सुन लाउनेको यति मात्रा बढेको छ, कुरै नगरौँ। भनेर साध्य छैन।

त्यो (१२–१३ साल)बेलामा नै गंगबु जस्तो ठाउँमा पनि ४ सय रूपैयाँमा एक रोपनी जग्गा आउँथ्यो। कतिपयले त्यो बेला हजार रोपनी जग्गा बेचेका थिए। त्यति बेला पैसा धेरै महँगो थियो, अरू सस्ता थिए। अहिले पैसा सस्तो भो, अरू सबै महँगा भए।  

खाजा खान दिएको पैसा जोगाएर नाटकको स्टेज

मेरो पढाइमा भन्दा अन्यत्र बढी मन गयो। मलाई नाटकमा बढी रुचि हुन थाल्यो। बाटोमा हिँड्दा पनि नाटकका कथाहरू बनाउँदै हिँड्थेँ। 

स्कुल पढ्दाको समयमा केही साथीहरू मिलेर खाजाको पैसा जम्मा गर्थ्यौं। खाजा खान भनेर घरमा १० पैसा दिनुहुन्थ्यो। त्यो पैसाबाट  जोगाएर रकम जम्मा गर्थ्यौँ। अनि वर्षको एक पटक तिहारको समयमा सडकमा स्टेज बनाएर नाटक देखाउँथ्यौँ। 

त्यो समयमा १ रूपैयाँ हुने मान्छे त कति ठूलो हो कति! १० पैसामा खानेकुरा धेरै नै आउँथ्यो। अनि त्यसमा पनि अलि-अलि जम्मा गरेको पैसा तिहारको समयमा स्टेज बनाउने, नाटकका लागि चाहिने कपडाहरू किन्ने र, अरू पनि जे जे सामान चाहिन्छ त्यो सबै किन्ने गर्थ्यौँ। अनि नाटक देखाउँथ्यौँ।

त्यो बेलाको क्षण अहिले पनि मलाई उस्तै सम्झना छ।

२०३२ सालमा प्रज्ञा प्रतिष्ठानले पहिलो पटक नाटक महोत्सव सुरु गर्यो। त्यसका लागि प्रतिष्ठानले देशैभरिका १४ अञ्चलबाट नाटक मञ्चनका लागि आह्वान गरेको थियो। १४ अञ्चलबाट आफ्नो नाटक प्रतिस्पर्धा गर्नका लागि नाट्य टोली काठमाडौं आएका थिए। 

नाटक महोत्सवमा एकाङ्गी नाटक 'भत्किएको सपना' तयार पारेँ। त्यो नाटकलाई मेरो साथी राजन प्रतावसिंह बस्नेतले निर्देशन गरेका थिए। त्यो नाटकबाट फस्ट भएर गोल्ड मेडल पाएँ। 

यो महोत्सवमा जजको रुपमा बालकृष्ण सम, लैङ्सिङ वाङ्देल, सुर्यबिक्रम ज्ञवाली, सत्यमोहन जोशी हुनुहुन्थ्यो। पहिलो पटक स्टेजमा भएको नाटक पनि यही हो। यही नाटकबाट नै हो, मैले सर्वश्रेष्ठ कलाकारसँगै प्रमाण पत्र पाएको। त्यो मेरो लागि असाध्यै खुसीको क्षण थियो।

पहिलो फिल्मकै अभिनय मन पराए

२०३२ सालतिर नेपालमा पनि फाट्टफुट्ट टेलिफिल्म निर्माण हुन थालिसकेका थिए। पहिला शाही चलचित्र संस्थान भन्थे। त्यसले फिल्म बनाउँथ्यो।  

त्यो समयमा फिल्म बनाउन कलाकारको अडिसन लिएर छनोट गर्ने चलन थियो। अन्तवार्ता लिएर फिल्ममा फिट हुने कलाकार हो कि हैन भनेर छुट्याइन्थ्यो। अन्तवार्ता र अभिनयमा पास भएको खण्डमा मात्र फिल्म खेल्न पाउँथ्यो।  

संस्थानले त्यो बेला फिल्म ‘जीवन रेखा’को लागि कलाकारको आह्वान गर्यो। मैले पनि आवेदन दिएँ। अन्तवार्ता दिएँ, अभिनय पनि देखाएँ। म पास भएँ। त्यो फिल्ममा मेरो वैद्यको भूमिका थियो।  पहिलो फिल्मबाट नै मेरो चर्चा भयो। धेरैले अभिनयको तारिफ गरे। म मक्ख।

यो फिल्मपछि ‘तिलहरी’, ‘कन्यादान’, ‘के घर के डेरा’, ‘देउकी’ लगायत थुप्रै फिल्ममा काम गरेँ। मैले थुप्रै टेलिफिल्महरूमा पनि काम गरेँ।

चाकडीवाद पनि थियो

त्यो समयमा कतिपय कलाकारहरूले चाकडी पनि गर्थे। फिल्मका लागि मेरो मान्छे, काका, मामा यस्तै साइनो लगाएर पनि काम गरेको देखिन्थ्यो। कतिपयले निर्देशक, कथाकारको चाकडी गरेर भए पनि फिल्म, टेलिफिल्म खेलेका थिए। 

तर मैले कहिल्यै पनि अरूको चाकडी गरेर फिल्म, टेलिफिल्ममा काम गर्छु भनिँन। किनभने म नाटकमा राम्रो जमिसकेको थिएँ। मेरो अभिनय राम्रो थियो। मैले कसैको चाकडी गर्नुपर्ने अवस्था थिएन। 

एउटा मालीले बगैँचामा फुलहरू लगाउँछ भने कुन फूल कहाँ सुहाउँछ भन्ने कुरा त थाहा हुन्छ होला नि? फूलको महत्त्व मालीलाई थाहा हुनुपर्यो नि! कुन फूललाई मन्दिरमा चढाउने, कुनलाई माला बनाउने या ढोकामा सजाउने, कुन फूललाई कोटमा सिउँरिने भन्ने थाहा हुन्छ भनेजस्तै एउटा निर्देशकले कुन कलाकारलाई कुन भूमिकामा अभिनय गराउने भन्ने ज्ञान हुन जरुरी हुन्छ। कलाकारलाई छनोट गर्न सक्नुपर्छ। तब मात्रै फिल्म राम्रो बन्छ। 

यहाँ (फिल्मलाइनमा)  प्रोड्युसर खोज्ने निर्देशक हुन्छ। प्रोड्युसर खोज्ने राइटर हुन्छ। उनीहरूको हिसाब किताबमा सबैले मेरो मान्छेलाई चान्स दिनुपर्यो, मेरो मान्छेलाई यो गर्नुपर्यो भनेपछि निर्देशकले के सोच्छ? 

निर्देशकलाई लाग्छ, बल्ल-बल्ल आएको काम हो उनीहरूले भनेको मान्छे राखेन भने त मलाई निकालिदेलान्। त्यसैले निर्देशकले पनि आफ्नो काम जोगाउन अभिनय गर्न नआए पनि सिफारिस भएकालाई खेलाउँछन्। 

एकपटक मैले एक्टिङ सिकाउँदा खेरी यस्ता घटनाहरू भएका थिए।  

उदित नारायण झाले दाइ गीत चाहियो भनेपछि

मैले धेरै पछिमात्र गीत लेख्न थालेको हो। प्राय बाटोमा हिड्दा-हिँड्दै नै गीत फुर्थ्यो। अहिले पनि फुर्छ।

त्यो समयमा गाउँका केटीहरू पोइल जाने चलन थियो। लगनखेलदेखि बागबजार आइपुग्दा ‘साइँली र माइली पोइल गएछन्, गाउँघरलाई सुन्ने पारेर’ भन्ने गीत फुर्यो।

यो शब्द लेखेपछि म्युजिक पनि म आफैले तयार पारेँ। मलाई कुनै बाजा बजाउन आउँदैथ्यो। तर लय र धुन तयार पर्न सक्थेँ। अरू संगीतकारले ढोका थुनेर बाजा बजाएर संगीत भर्छन्। म त हिड्दा-हिँड्दै संगीत बनाउँथे। 

त्यो समयमा उदित नारायण झा संगीत क्षेत्रमा संघर्षरत थिए। उनले यो गीत मरिहत्ते गरेर मागेपछि गाउन दिएँ। यो गीतलाई उदित र मधु क्षेत्रीले गाए। गीत गाएपछि यस्तो हिट भयो कि कुरै छोडौँ। यही गीतबाट उनीहरूको पनि चर्चा चुलियो।

यता नाटक पनि जारी राखेको थिएँ। सन्तोष पन्त भाइ र म मिलेर हास्य नाटक ‘सुकुल गुण्डा’ बनाएका थियौँ। यो हिट पनि भयो। त्यसपछि ‘चमत्कार’ ‘जोईपोइ’, ‘भूतपूर्व ज्वाइँ’ लगायत थुप्रै नाटक गरियो। यी नाटकहरू प्रज्ञा भवन, राष्ट्रिय सभागृह, राष्ट्रिय नाँच घरमा देखाएको थिएँ। केही नाटकहरू प्रहरी क्लबमा पनि प्रदर्शन गरियो। 

बुबा आमाको सपना पाइलट बनाउने थियो

म अभिनयमा भिज्दै गएको थिएँ। यतै रमाइलो लाग्यो। तर बुबा आमा भने पाइलट बनाउन चाहने। नाटक गर्दै हिँड्दा बुबा आमा असाध्यै रिसाउनुभएको थियो। नाटक खेलेर घर जाँदा कति पटक बुबा आमाले ढोका नखोलिदिएर साथीको गएर सुतेको छु। 

उहाँहरु मलाई पढ्न जोड गर्नुहुन्थ्यो। म भने अभिनयमा रमाइरहेको थिएँ। स्कुलबाट घर आयो, ऐना हेर्यो, अभिनय सिक्यो। कहिलेकाँही बुबाले आमालाई 'हैन के गर्दैछ हौ तेरो छोरो' भनेर सोध्नुहुन्थ्यो। सुस्तरी आएर मैले हाउभाउ गरेको हेर्नुहुँदो रहेछ। अनि 'लु तेरो छोरो बौलाउन लाग्यो कि क्या हो' भन्नुहुन्थ्यो। यसले पढेर खाँदैन भनेर कराउनुहुन्थ्यो। तर, मलाई कहिल्यै पनि बुबा आमाले पिट्नु चाहिँ भएन। गाली चाहिँ असाध्यै गर्नुहुन्थ्यो। यो नौटंकी हुन्छ, यो काम नलाग्ने हुनेभयो भन्दै गाली गर्नुहुन्थ्यो। हामी तीन दाजुभाइमा म जेठो। त्यसैले पनि घरको जिम्मेवारी थामिदेओस् भन्ने आमाबुबाको चाहना थियो। 

अभिनय गर्दा केटी नपाइने, केटाले नै काम चलाउनुपर्ने

हाम्रो पालामा अभिनय गर्न केटी नै पाइँदैनथ्यो। अहिलेजस्तो समाज खुला भइसकेको थिएन। अब नाटकमा त केटी पनि पात्र भइहाल्छन्। केटी नपाएपछि अभिनय गर्न आएका केटालाई नै मेकअप गरेर केटी बनाएर अभिनय गराइन्थ्यो।  

कला क्षेत्रमा लागेको भनेपछि त त्यो बेलामा बिहे गर्न केटी पनि दिँदैनथे। अभिभावकले छोरीहरूलाई अभिनयमा लाग्न दिँदैनथे। रहर त होला नि तर गाली खाने भएकाले नाटक खेल्न रुचि राख्दैनथे। हेर्न भने आउँथे।  मैले केटी बनेर अभिनय गर्नु परेन। म हिरोको भुमिकामा हुन्थेँ अधिकांश।

फर्किएर ती दिन सम्झँदा त अहिले समाज कति बदलियो कति। अभिनय प्रतिष्ठित पेसा बन्यो। कलाकारलाई अल्लारे हैन सम्मानको नजरले हेर्छन्। त्यो समयमा त कला क्षेत्रलाई घृणाको रुपमा हेर्थ्यो समाजले। बिग्रिएका यस्ता काम गर्छन् भन्ने सोच थियो। अभिनय पनि व्यवसाय हो, पेसा हो भन्ने सोचै थिएन।

२८ मंसिर, २०८०, १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।