पार्टीको राजनीतिक संकल्प यात्रालाई ओलीले ‘प्रतिभा प्रदर्शन’ अनि हिन्दुवादी बनाए

पार्टीको राजनीतिक संकल्प यात्रालाई ओलीले ‘प्रतिभा प्रदर्शन’ अनि हिन्दुवादी बनाए

काठमाडौँ : स्थानीहरूसँग पार्टीको सम्बन्ध बढाउँदै राष्ट्रिय सन्देश दिन अहिले एमाले अध्यक्ष झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रामा छन्। कार्यक्रम तीन हप्ता चल्दैछ। मंसिर १४ बिहीबार बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ।

संकल्प यात्राको लक्ष्य राष्ट्रिय सन्देश दिने उल्लेख छ। तर संकल्प यात्राले राष्ट्रिय चासो निर्माण गर्न सकेको छैन। बरु यो यात्रामा ओलीले देखाएको प्रतिभाबारे भने ‘चिया पसल’हरुमा राष्ट्रिय गफको माहौल बनाउन सफल भएको छ।

जहाँ पुग्यो त्यहीँ प्रतिभा देखाइहाल्ने ओलीको रहर पुरानै हो। उनले यो बीचमा कविता सार्वजनिक गरे, गितार बजाए, सारङ्गी बजाए। टेबल टेनिस खेले अनि क्रिकेट पनि खेलिसकेका छन्।

पार्टीको संकल्प यात्राको लक्ष्य राजनीतिक हो। उनले यो यात्रामा पाएका मञ्चहरू अन्य दलहरूप्रति आक्रमण गर्ने अवसरको रूपमा सदुपयोग गरेका छन् नै आफ्नो प्रतिभा देखाउन पनि उपयोग गरिरहेका छन्।

संकल्प यात्रालाई प्रतिभा यात्रा बनाउन उनी कतै डम्फु बजाइरहेका छन्, कतै सारङ्गी रेटिरहेका छन् त कतै माछा तारिरहेका छन्।

सोमबार उनी इन्द्रावती र भोटेकोसी नदीको सङ्गमस्थल दोलालघाट पुगेर उनी माछा तार्न थाले। उनले फेसबुकमा लेखे’ यात्राको क्रममा हामी दोलालघाटबाट ओर्लियौँ, मैले माछा तारेर साथीहरूलाई खुवाएँ।‘ उनले श्रीमती राधिकासँगै उभिएर मुसुक्क मुस्कुराउँदै माछा तारिरहेको तस्बिर र भिडियो अहिले सञ्जालमा भाइरल छन्।

यस अगाडि पोखरा पुगेका ओलीले सारङ्गी उपहार पाएका थिए। पोखराको लेखनाथस्थित तालचोकमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले ओलीलाई सारङ्गी उपहार दिइन्। हातमा सारङ्गी आएपछि ओली कसरी चुप बस्नु! लगत्तै ओलीले सारङ्गी बजाए र्याईर्याई पार्दै

आइतबार सिन्धुपाल्चोकको मेलम्ची पुगेका उनको हातमा डम्फु आइपर्यो। ओलीलाई पार्टी निकट लोकतान्त्रिक महासंघले सय किलोको माला लगाइदियो। अनि जनजाति महासंघका अध्यक्षले डम्फु उपहार दिए। एमाले मेलम्ची नगर कमिटीले ओलीलाई ढ्याङ्ग्रो उपहार दियो। उनले मञ्चमा आफ्नो अर्को वाद्यकला देखाउँदै डम्फु पनि बजाए अनि ढ्याङ्रो पनि ठटाए।

यात्रामा ओलीले दिएको हिन्दु धर्मको सन्देश

पछिल्लो समय हिन्दु राज्य बनाउने समूह सक्रिय छन्। धर्म निरपेक्षताबाट हिन्दु धर्ममा फर्कन उच्चतहका नेताहरू समेत दबाबमा परेको उनीहरूको बदलिएको अभिव्यक्तिबाट प्रस्टै देखिन्छ।

संकल्प यात्रामा हिन्दु धर्मका पक्षधरहरुलाई आफूतिर आकर्षित गर्न ओलीले भरमग्दुर प्रयास गरे। उनी जहाँ-जहाँ पुगे त्यहाँ रहेका मठ मन्दिरमा जाने छाडेनन्। एमाले पङतीबाट भएको प्रचारले यो केवल ओलीको एकल आस्थामात्र देखिएन।

संकल्प यात्रामा उनी डोटीको सिलगढी पुगेर शैलेश्वरी मन्दिरमा दर्शनका लागि पुगे। उग्रतारा, त्रिपुरासुन्दरी, बैतडीको गोठालपानीको निङालासइनी देवीको दर्शन गरे। अनि उनको दर्शनको यात्रा जारी देखिन्छ।

२५ मंसिर, २०८०, १७:१७:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।