डा. कमलराजको हिजोका कुरा : भारतबाट आएका चन्द्रशेखर लगायतकाले राजा वीरेन्द्रलाई धम्की दिँदा हाम्रा नेताले ताली बजाए, दिक्क लागेर राजनीति छाडेँ

डा. कमलराजको हिजोका कुरा : भारतबाट आएका चन्द्रशेखर लगायतकाले राजा वीरेन्द्रलाई धम्की दिँदा हाम्रा नेताले ताली बजाए, दिक्क लागेर राजनीति छाडेँ

तनहुँको दुलेगौंडामा जन्मिएका डाक्टर कमलराज शर्मा उमेरले ५९ वर्ष पुगे। गाउँमा जन्मिएका उनको बाल्यकालमै बुवा बिते। बाल्यकाल गाउँमै बित्यो अनि पढाइ पनि। अध्ययन गर्दागर्दै तत्कालीन वामपन्थी मालेको विद्यार्थी संगठनमा आबद्ध भएर पञ्चायतविरुद्ध आन्दोलनमा होमिए। सरकार र पञ्चायतबाट असुरक्षित भएपछि उनी भूमिगत भएका उनलाई प्रहरीले पक्रेर जेल हाल्यो तर गाउँका पञ्चसमेत रहेका काकाले भनसुन गरेपछि छ महिनामा जेलमुक्त भए।

तर उनी पञ्चहरूको शरणमा जान चाहेनन् र फेरि भूमिगत भएर आन्दोलनमा होमिए। पञ्चायतको ज्यादती देखेका उनले विद्यालयमा पढाए पनि नियुक्ति पत्र दिइएन। ज्यालादारीमा काम लगाइयो। नियुक्ति अर्कैले खाइदियो। त्यही हेपाइले लोकसेवामार्फत उपसचिव पदमा प्रतिस्पर्धा गरे। नाम पनि फ्याट्टै निकाले। त्यतिबेला नियुक्ति पत्र रोकिएन तर काम गर्न मन्त्रालय पुगेका उनलाई न बस्नलाई कुर्सी दिइयो, न गर्नलाई काम नै। भ्रष्टाचारविरुद्ध बोल्दा उनले उपहार पाए, त्यो पनि सरुवाको रुपमा। पञ्चायतको ज्यादती, भ्रष्टाचारको विरोध गर्दाका अनुभवलगायत समसामयिक विषयका हिजोका कुराहरू उनले उकेरासँग यसरी साटेका छन्।

वाल्यकालमा नै पञ्चायत ढलाउन निस्के
मेरो घर तनहुँको दुलेगौंडा बजारमा हो। पहिला गाविस थियो अहिले शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ भएको छ। छ वर्षको हुँदा बुवा बित्नुभो। हलो कुटो नचलाई खान लाउन कठिन अवस्था थियो। एक दाइ, एक दिदी र एक बहिनी छ मेरो। बुबाको सानैमा मृत्यु भएपछि आमाले बडो कठिन तरिकाले हामीलाई हुर्काउनुभयो। ग्रामीण परिवेश भएकाले कुटो कोदालो, मेलापात, गोठालो गरेरै समय बिताइयो। घर नजिकैको पञ्चमुनी देव प्राविमा कक्षा तीन सम्म पढेपछि कक्षा ४ मा भर्ना हुन अर्को गाउँको फर्कोदय माविमा भर्ना भएँ।

हामी स्कुल पढ्दा पञ्चायतविरोधी आन्दोलन चर्किरहेको थियो। कक्षा ६,७ मा पढ्दै गर्दा मैले पनि त्यो विरोधी आन्दोलनमा सहभागी भए। स्कुलमा अखिल र नेविसङ्घ संघ भन्ने थियो। देश बनाउने भनेर अखिलमा सहभागी गराए। त्यो बेला नेविसङ्घ संघलाई शोशक, सामन्ती र धनाढ्यको समूह अनि अखिल निम्न वर्ग, गरिब दुःखको समूह भन्थे। स्कुलमा दैनिकजसो नेविसङ्घ संघ र अखिलको ग्याङफाइड हुन्थ्यो।

म अखिलको भए पनि लडाइँबाट अलि टाढै बसेँ। हाम्रो स्कुलमा पोखराको पृथ्वीनारायण क्याम्पसका अखिलका मान्छेहरू आउँथे र आन्दोलन गर्न उचाल्थे। हामी उचालिन्थ्यौँ। त्यो बेला मैले कसैलाई पनि कुटिन बरु आफैँ कुटाइ खाए। अझ त्यहाँका लोकल डनहरू आफ्नो पार्टीका तर्फबाट लडाइँ गरेको धेरै देखिन्थ्यो। लडाइँ झगडाकै बीच मैले फर्कोदय माविबाट ३९ सालमा एसएलसी पास गरेँ।

एसएलसीपछि पोखरामा पिएन क्याम्पसमा पढ्न थाले। यहाँ पनि नेविसङ्घ र अखिल नै भन्ने थिए। म पनि अखिलतर्फ नै सहभागी भए। अहिले सम्झँदा घाँस खाएर लागिएछ भन्ने लाग्छ। क्याम्पसमा म प्रशासनको तारोमा थिएँ। मलाई देश बनाउन लागेको हो भन्ने मात्र सोच थियो। अरू केही आएन र थिएन पनि। पञ्चायत रहेसम्म देश बन्दैन र जसरी पनि पञ्चायत फाल्नुपर्छ भन्ने लाग्थ्यो।

आन्दोलनकै क्रममा ४४ सालमा प्रहरीले पक्रियो अनि छ महिना कस्टडीमा राख्यो। कस्टडीमा प्रहरीले यति चुट्यो कि भनिसाध्यै छैन। अहिले त्यो घटना सुनाए मान्छेलाई कहानी लाग्छ। प्रहरीले मलाई ‘राजकाजको अपराध मुद्दा’ लगायो। छ महिनापछि एक जना खुँखार पञ्च काकाले कता-कता भनसुन गरेर मलाई निकाल्नुभाको रैछ। पछि मात्र थाहा पाएँ।

आमसभामा प्रहरीले शिक्षक कुटेर मार्यो
जेलमुक्त भएपछि देश बनाउँछु भन्ने हुटहुटी झन् उर्लेर आयो र अझै सक्रिय भएर राजनीतिमा लागेँ। मदन भण्डारी, जीवराज आश्रित लगायतका नेताहरू हामीलाई प्रशिक्षण दिन आउँथे। ४६ साल फागुन ७ गते बहुदलका लागि आन्दोलन सुरू भयो।

त्यतिबेला म अखिलको जिल्ला सदस्य भइसकेको थिएँ। म जुन स्कुलमा पढेको थिएँ, त्यही स्कुलमा ठूलो आमसभा राखियो। उद्घोषण मैले नै गरेँ। कार्यक्रम चल्दाचल्दै दुलेगौँडाका प्रधानपञ्च, उप-प्रधानपञ्च र मण्डलेहरूको सहयोगमा प्रहरीले चारैतिरबाट घेरा हालेर हाम्रो कार्यक्रममा आक्रमण गर्यो। उपस्थित अधिकांशको भागाभाग चल्यो।

मसँगै बस्नुभएका निजी स्कुलका शिक्षक कृष्ण पौडेललाई प्रहरीले कुटेर मारे। मलाई मार्ने योजना बनाएर आएका रहेछन्, ती शिक्षकलाई उनीहरूको तारोमा परे। यस्तो नरसंहार भयो कि मैले सोच्नै सकिँन। एकै छिनमा कार्यक्रममा रक्तपात भयो। बहुदल आएपछि तिनै शिक्षकको नाममा स्कुल पनि खोलिएको छ। सहिद कृष्ण प्रावि। अहिले यो स्कुल उच्च मावि भएको छ।

बहुदल आएपछि देश बनाउँछु भन्ने कति कति!
म पञ्चायत फाल्नै भूमिगत भएकै बेला अर्थात् फागुन ७ अघि काठमाडौंको गणेशमान सिंहको चाक्सीबारीमा भारतबाट आएका चन्द्रशेखर, हरिकृष्ण सिंह सुरजित लगायत ५-६ जना नेताहरू आएर राजा वीरेन्द्रलाई धम्की दिए।

साम्यवाद, लोकतन्त्र अनेक भन्नेहरूले आफ्नो देशको राजालाई विदेशीहरूले धम्की दिँदा ताली बजाए। राजा कस्तो राख्ने?, राख्ने कि नराख्ने?, को राख्ने?, कसरी फाल्ने? भन्ने विषय हाम्रो निर्णय हो। बाहिरका मान्छे आएर धम्की दिएर शक्ति केन्द्रलाई धम्की दिनु राम्रो भएन भन्ने लाग्यो।

भारतले म लागेको पार्टीलाई सल्लाह दिँदै राजालाई धम्की दिएपछि मलाई गलत तत्वबाट परिचालित भएको रैछु भनेर आभास भयो भूमिगत अवस्थामै। म एकदम दुविधामा परेँ। विदेशी तत्वले चलाएको आन्दोलन छोडेर आत्मसमर्पण गरौँ कि झैँ पनि लाग्यो। दुविधाकै बीच म आन्दोलनमा होमिएँ।

म भूमिगत अवस्थामा नै देशमा बहुदल आयो। पहिला देश बनाउन लाग्छु भन्नेहरू थोरै थिए। बहुदल आएपछि देश बनाउँछु भन्नेहरू कति-कति? अब मैले देश बनाउनुपर्दैन। यत्रा मान्छेहरू आइहाले भनेर राजनीतिमा निष्क्रिय बन्न थालेँ।

राजनीतिबाट वाक्क भएपछि शिक्षण पेसा
राजनीतिक रूपमा विस्तारै ओझेल पर्न थालेपछि पाल्पाको साथीले स्कुल खोल्दैछौँ पढाउन आइदिनुपर्यो भन्नुभयो। त्यसपछि म पाल्पाको गौरीशंकर माध्यमिक विद्यालयमा बढाउन गएँ। त्यहाँ पढाउनका लागि शिक्षकलाई तलब दिने पैसो रैनछ।

गाउँमा १ रूपैयाँ उठाएर स्कुल चलाउने कुरा गरिरहेका थिए। त्यो बेला स्कुलको शिक्षकको तलब २९ सय रूपैयाँ थियो। पढाउन थालेको तीन महिनापछि म पढाउन सक्दिनँ। म त होटलमा भात खानुपर्छ। घर जाँदा गाडी भाडा चाहिन्छ भनेर मुखै फोरेर भने।

त्यो भनेपछि उहाँहरूले जसरी पनि दिन्छौं भने। विद्यार्थीहरूले पनि अनुरोध गरेपछि दुई वर्ष पठाए। एक वर्षको तलब त पाइयो, बाँकी एक वर्षको दिनै सकेन्।

विद्यार्थीको भविष्य बनाउन पाल्पा पुगेको मैले त्यहाँ आफ्नो भविष्य नदेखेपछि काठमाडौं आएँ। ब्याचलर सकिसकेको थिएँ, यहाँ एमएमा भर्ना भएँ। मास्टर डिग्री सकेपछि त्रिभुवन विश्वविद्यालयमा छ महिना ज्यालादारीमा पढाएँ, घण्टीको ५० रूपैयाँमा।

​​​​​मैले ​​दुई घण्टी सोसियोलोजी पढाउँथे। जति पढायो उति पैसा हुन्थ्यो। तर आन्दोलन चलिरहने हुनाले पढाए मैले महिनाको ६ सय रूपैयाँ मात्र कमाउन सकेँ। डेरा भाडा ३ सय ५० रूपैयाँ थियो। त्यसपछि दिक्क भएर पोखरा गएँ म।

किताबले घर ठडियो
पोखराको पृथ्वी नारायण क्याम्पसमा पार्टटाइम शिक्षक मागेको रैछ। घरको भात खाएर पढाउन थालेँ मैले। दिनको दुई घण्टी पढाउँदा सय रूपैयाँ हुन्थ्यो। त्यो पनि गुण्डाहरू आन्दोलन तोडफोड गरेपछि क्लास हुँदैन थियो। पैसा आउँदैनथ्यो। आएको पैसाबाट पनि भ्याट काटेपछि हातमा त कति नै बस्थ्यो र? वर्ष भरिको पैसा जम्मा ६ हजार रूपैयाँ बुझेको थिएँ।

विश्वविद्यालय र क्याम्पसहरूमा पनि पार्टीको मान्छे हुँदा नियुक्ति खान र स्थायी हुन सजिलो थियो। तर मैले कसैको गुलामी गरिँन। म भन्दा पाँच वर्ष जुनियरले दरबन्दी लिएर जाँदा म भने हेरेको हेर्यो भएँ। मलाई यो जागिरले बाँच्न गाह्रो भयो।

त्यसबेला भर्खर ब्याचलर र डिग्रीको नयाँ कोर्स लागू गरेको थियो। अनि मैले त्यसको किताब लेख्न थालेँ। किताब लेख्न थालेपछि मलाई पिएन क्याम्पसमा मन पराएनन्, किन हो उनीहरू नै जानून्। तर पनि मैले ब्याचलर तहको पाठ्यक्रममा आधारित भएर किताब प्रकाशन गरि छाडेँ।

मलाई यही किताबले खान लाउन सबै पुग्यो। अहिले मैले यहीँ बालाजुमा घर बनाएको छु, त्यही किताबको पैसाले हो।

मेरो दरबन्दी मण्डलले खाइदियो
पिएन क्याम्पसमा ५ वर्षभन्दा बढी समय पार्ट टाइम काम गरेँ। पार्ट टाइम काम गर्नेलाई त्यहाँका स्थायी भएका प्राध्यापकहरूले एकदम हेप्थे।

साह्रै अपमान र पीडाबोध भएपछि मैले लेखेको सात वटा किताब बोकेर काठमाडौं उपकुलपति(भीसी) कहाँ आएँ र सोधेँ, ‘पाँच वर्ष काम गरिसकेँ, यत्रो किताब समेत लेखिसकेँ, के कारणले मेरो दरबन्दी आएन?’

उपकुलपतिले एक महिनामा स्थायीको पत्र आउँछ भने। होला त नि भनेर पोखरा फर्किएँ। पढाउने काम रोकेको थिइँन। पढाउन थालेको तीन महिना बित्दा पनि दरबन्दीको पत्र नआएपछि फोन गरेँ।

फोनमा उहाँले चलानी भइसकेको जानकारी गराउनुभयो। क्याम्पसमा खोज्दा पो थाहा भो मेरो नाममा आएको दरबन्दी एउटा मण्डलले खाइसकेछ। उसले मेरो दरबन्दी हाइज्याक गर्यो। अहिले ठूलै पोजिसनमा पुगेको छ त्यो मान्छे।

पिएन क्याम्पसकै कुरा गर्ने हो भने कति वर्ष पुराना स्थायी भएका शिक्षकले नपढाइ नै तलबभत्ता खान्थेँ। हामी ज्यालादारीलाई तर्साउँथे। त्यहाँ पढाइ भन्दा पनि पार्टीका झोले र गुण्डाको राज चल्थ्यो।

पार्टीको कार्यकर्ता नहुँदा उपसचिवलाई कुर्सी विहीन पारे 
क्याम्पसबाट कतै केही नभएपछि लोकसेवा आयोगले उप-सचिवमा दरबन्दी मागेको थियो। ज्यालादारीमा काम गरेको मान्छे यता भिडम् न त भनेर लागेँ। क्याम्पसको दरबन्दी अरूले खाइदिएको झोकले फर्म भरेको थिएँ। नाम निस्कियो।

उप-सचिवको जागिर खाने कि नखाने भन्नेमा दोधारमा थिएँ। क्याम्पसमा ज्यालादारीको शिक्षक भए पनि एक खाल्को परिचय बसिसकेको थियो।

घरका र ससुरालीकाले खानैपर्छ भनेर खाएँ। मेरो मन्त्रालयमा पोस्टिङ गरिदिएको थियो। त्यहाँ मलाई २०/२२ दिन त्यतिकै काम नै नलगाइ राख्यो। त्यसपछि खानेपानी विभागमा पोस्टिङ गरिदियो। त्यहाँ गएपछि मेरो कुर्सी पनि छैन, काम पनि छैन। हाजिर गर्ने बाहेक केही काम नै भएन।

त्यहाँका इन्जिनियरहरूले कमिसन खान पाउनु नैसर्गिक अधिकार हो भनेर फुर्ती गरेर भन्थेँ। म त्यस्तो भ्रस्टहरूको ठाउँमा कसरी टिक्ने। मलाई यो ठाउँमा डेढ वर्षसम्म न कुर्सी दिए, न काम नै। मेरो काम हाजिर गर्ने जागिर पकाउने मात्रै भयो। नेपाल सरकारको अफिसर भएर पनि मैले तलब मात्र खाइरहेको थिएँ।

हाकिमलाई भनेको दिपायल सरुवा भएर जानुस् भन्ने अनि उता पठाइदिए। त्यहाँ पुगेपछि पनि मलाई कुर्सी र काम दिइएन। त्यहाँ पनि बदाम खाने बस्ने र गफ चुट्ने बाहेक काम भएन। काम किन नदिएको भनेर बुझ्दै जाँदा घुस खाँदैन भनेर रैछ। त्यसपछि मेलम्ची खानेपानीमा सरुवा गरिदिए। कहिले कता कहिले कता पारे।

मैले मन्त्रीसँग पनि झगडा गरेको हो, मलाई काम भएन भनेर। त्यसैको आधारमा मलाई कामबिना सरुवा गरेको गर्यै गरेर हैरान बनाए। अनि कति मुख छुचो पार्नु भनेर पिएचडीको तयारीमा जुटे र पास पनि गरे। मैले अवकाश पाएको पाँच वर्षभन्दा बढी भो।

अहिले केही किताबहरू लेखिरहेको छु। सायद केही हप्तामा नै सार्वजनिक हुन्छ होला। पछिल्लो समय गीत लेखनमा समेत सक्रिय हुन थालेको छु। हालै मेरो शब्द रचनामा रचना रिमाल र स्वरूपराज आचार्यको स्वरमा रहेको गीत ‘फुल्यो चमेली’ सार्वजनिक भएको छ।

२२ मंसिर, २०८०, १४:३९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।