संयुक्त राष्ट्रसंघद्वारा गाजामा शक्तिशाली धारा ९९ लागू, गुटरेसले भने-‘गाजा अब कहिल्यै पहिलाजस्तो हुन सक्दैन’

संयुक्त राष्ट्रसंघद्वारा गाजामा शक्तिशाली धारा ९९ लागू, गुटरेसले भने-‘गाजा अब कहिल्यै पहिलाजस्तो हुन सक्दैन’

एजेन्सी : संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव एन्टोनियो गुटरेसले इजरायल र हमासबीच चलिरहेको युद्धको गम्भीरतालाई मध्यनजर गर्दै गाजामा संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन्।

यस धारालाई संयुक्त राष्ट्रसंघको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली धारा मानिन्छ।

संयुक्त राष्ट्रसंघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा खतराको महसुस गरेमा कुनै पनि विषयलाई सुरक्षा परिषद्को ध्यानाकर्षण गराउन सक्ने प्रावधान यस धारामा छ।

संयुक्त राष्ट्रसंघको इतिहासमा अहिलेसम्म नौ पटक मात्र यो धाराको प्रयोग गरिएको छ। दशकौंसम्म यो अनुच्छेदको प्रयोग भएको थिएन।

संयुक्त राष्ट्रसंघले कयौं हप्तादेखि गाजामा भइरहेको मानवीय संकटको बारेमा चेतावनी दिँदै इजरायल र हमासलाई युद्ध रोक्न अपिल गरिरहेको छ।

तर दुवै पक्षले संयुक्त राष्ट्रसंघको कुनै पनि कुरा मानिरहेका छैनन्। बुधबार गुटरेसले धारा ९९ लागू गरेर सदस्य देशहरूको ध्यान यसमा केन्द्रीत गर्दै मानवीय युद्धविराम लागू होस् भन्ने चाहन्छन्।

संयुक्त राष्ट्रसंघका अधिकांश सदस्य युद्धविरामको समर्थनमा छन् तर इजरायलको घनिष्ठ सहयोगी अमेरिका भने युद्धविराम चाहिरहेको छैन। उसले संयुक्त राष्ट्रसंघको बैठकमा ‘भिटो’ प्रयोग गरेर युद्धविरामको विपक्षमा उभिएको छ।

गुटरेसले सदस्य राष्ट्रहरूलाई भनेका छन्, ‘गाजामा रहेका हरेक व्यक्ति गम्भीर खतरामा बाँचिरहेको छ, त्यहाँको कुनै पनि स्थान अब सुरक्षित छैन।’

गाजाको अस्पतालहरू युद्धभूमिमा परिणत भएसँगै त्यहाँको सम्पूर्ण स्वास्थ्य प्रणाली ध्वस्त भएको विषय समेत उनले सदस्य राष्ट्रहरूलाई जानकारी गराएको पत्रमा उल्लेख छ।

मानिसहरू बाँच्नका लागि खाद्यान्न नभएको र यी सब समस्याका बीच इजरायलल गाजामा बमबारी जारी राखेको अवस्था छ। गुटरेसले गाजाको सार्वजनिक व्यवस्था सम्पूर्ण रूपमा खत्तम भएको स्पष्ट पारेका छन्।

अहिले भइरहेको विनाशका कारण गाजा पहिलेको जस्तो अवस्थामा फर्किन निक्कै गाह्रो भएको संयुक्त राष्ट्रसंघका महासचिवको भनाइ छ।

गुटरेसले यस संकटलाई अरु बढ्न नदिन र अन्त्यका लागि आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्, साथै उनले युद्धविरामको लागि सहमत भइदिन सबैसँग दोहोर्याएर आह्वान गरेका छन्।

मंसिर २१, २०८० बिहीबार ०९:०६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।