जन्मकैदको फैसला सुनेपछि आमाहरूको आश,‘छोराको आत्मा पनि खुसी भयो होला!’

जन्मकैदको फैसला सुनेपछि आमाहरूको आश,‘छोराको आत्मा पनि खुसी भयो होला!’

सुर्खेत : २०७७ जेठ १० गते अन्तर्जातीय प्रेमको विषय बनाएर मारिएका २१ वर्षीय नवराज विकसहित ६ जना युवाको आमाहरू चार दिनदेखि जिल्ला अदालत रुकुम पश्चिमको गेटमा पालमुनि बसिरहेका थिए।

आइतबारदेखि सुरु भएको अन्तिम सुनुवाइ अन्तर्गतको बहस मङ्गलवार सकियो। तर, पीडित परिवार भने शनिबारदेखि नै जिल्ला अदालतको गेटमा धर्नामा थिए।

छोरा मरे पनि न्याय नमरोस् भनेर उनीहरू काठमाडौँसम्म पुगेका थिए। अदालतबाट फैसला आउन ढिला भइरहेको थियो। उनीहरूमा शंका थियो कतै मुद्दा नै ढुस हुने त हैन!

तर भएन। मङ्गलवार अदालतले फैसला सुनाउँदै २४ जनालाई जन्मकैदको सजाय सुनायो। प्रेमीका, उनको आमा अनि दाइ जातीय छुवाछुतमा दोषी ठहर भएर दुई वर्ष कैद सजाय पाए।

आमाहरू खुसी भए। नवराजकी आमा उर्मिला विश्वकर्माले उकेरासँग भनिन्'छोरो मरे पनि न्याय मरेन।'

‘बहुत खुसी लागेको छ। छोराको आत्माले शान्ति पायो। अब ढुक्क भयौँ। न्यायमा केही चलखेल हुन्छ की भन्ने लागेको थियो। तर, सम्मानित अदालतले हामीलाई न्याय दियो,’ ४१ वर्षीया उर्मिलाले भनिन्, ‘एक्लो छोरो गुमाउँदा जुन पीडा थियो अदालतको फैसलासँगै पीडा खुसीमा बदलिएको छ।’

नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही सो घटनामा मारिएका थिए।

हत्या भएको लामो समयपछि न्याय पाउँदा दुःख खुसीमा बदलिएको गणेशकी आमा राधिका बुढामगरले बताइन्।

‘साढे तीन वर्षसम्म पनि हामीले न्याय कुरिरहेका थियौँ। त्यो पर्खाइको समय अदालतको फैसलाले समाप्त पारेको छ,’राधिकाले भनिन् ‘यो खबर सुनेर छोराहरूको आत्मा पनि खुसी भएको होला।’

हत्या भएको दिनदेखि नै विभिन्न व्यक्ति र राजनीतिक दलले गरेको चलखेलले आफूलाई चिन्तित बनाएको लोकेन्द्रकी आमा ५२ वर्षीय लक्ष्मी सुनारले बताइन्।

‘न्याय पाउने आशा थिएन। ठुला–ठुला मान्छेहरू घटना दबाउन लागेका थिए। हामी जस्ता सानाको कुरा कसले सुन्छ भन्ने लागेको थियो,’ लक्ष्मीले भनिन्, ‘चार दिनदेखि अदालतको गेटमा भोकै बसेका थियौँ। आजको फैसलाले हामीलाई खुसी बनाएको छ। अहिले त भात खाइरहेका छौँ।’

जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जना र तारेखमा रहेका एक जना गरी २४ जनालाई जन्मकैद सजाय सुनाएको थियो।

त्यस्तै, नवराजकी प्रेमीकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा दुई वर्षको कैद तोकियो। साधारण तारेखमा छुटेका ११ जनामध्ये ८ जनाले सफाइ पाएको रुकुम जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।

‘कसुरमा रहेका २३ जना र साधारण तारेखमा रहेका एक जना गरी २४ जनालाई जन्मकैदको सजाय सुनाइएको छ। ११ मध्ये ८ जनालाई सफाइ दिइएको छ,’सूचना अधिकारी कोइरालाले भने, ‘ठहरिएका सबैलाई जातीय छुवाछुतको सजाय सुनाइएको छ।’

उनका अनुसार सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेसमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, बिराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित् भन्ने सविन पुन र मोहन पुन मगर छन्।

परिवर्तित नाम ५४, ३६ (१) र (३) सहित तीन जनालाई जातीय छुवाछुतको मुद्दामा दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना तोकिएको छ।  त्यसैगरी अरू दुई जना नाबालकलाई जातीय छुवाछुतमा दुई वर्ष कैदको सजाय तोकिएको छ।

यो मुद्दामा सफाइ पाउनेहरूमा तुलाराम घर्ती, डिल्ली घर्ती, क्यापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द रहेका छन्। 

तीन दिनको सुनुवाइका क्रममा सरकारी वकिलसहित १८ जनाले वादी तर्फबाट बहस गरेका थिए। पाँच जना निजी वकिलहरूले प्रतिवादीको तर्फबाट बहस गरेका थिए।

के हो घटना ?

२०७७ जेठ १० गते  भेरी नगरपालिकास्थित राना गाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमीकासँग विवाहको कुरा गर्न पुगेका थिए।

दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लखेटेर हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए।

मृतकहरूको शव भेरी नदीमा भेटिएको थियो। नवराजलाई साथ दिन पुगेका १८ जनामध्ये १२ जना घाइते अवस्थामा जीवितै भेटिएका थिए।  उनीहरूलाई घेरा हालेर लखेटी–लखेटी घरेलु हतियारले प्रहार गरेका थिए।

मृतक र घाइतेलाई हातखुट्टा बाँधेर भेरी नदीमा बगाइएको थियो। उनीहरूमध्ये नवराजको शव त्यसै दिन राति घटनास्थलभन्दा दुई किलोमिटर टाढा भेटिएको थियो। सबैभन्दा अन्तिममा जेठ २० मा गोविन्दको शव घटनास्थलभन्दा २२ किलोमिटर तल भेरी किनारमा फेला परेका थियो।

नवराजका बुवा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी नगरपालिका–८ का तत्कालीन वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जना विरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।

तीमध्ये किशोरीकी आमा धरौटी र अन्य ११ अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए भने २३ जना पुर्पक्षका लागि कारागारमा थिए।

३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत कसुरको अभियोग लागेको थियो भने एक जनालाई मतियारको अभियोग लागेको थियो।  

१९ मंसिर, २०८०, २१:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।