बाल्यकाल कर्णालीमा घिस्रेर बिताएका डण्ड, जो मरिचमान प्रधानमन्त्री हुँदा हवाइजहाजमा सँगै काठमाडौं आए

बाल्यकाल कर्णालीमा घिस्रेर बिताएका डण्ड, जो मरिचमान प्रधानमन्त्री हुँदा हवाइजहाजमा सँगै काठमाडौं आए

डण्ड बहादुर बुढाथोकीको पूरै बाल्यकाल कर्णाली प्रदेशको डाडाकाँडा घिस्रेर बित्यो। आफ्नो शरीरको आधा भाग कसरी नचल्ने भयो उनले लामो समय थाहै पाएनन्।

उनलाई याद भएसम्म उनी गाउँमा घिस्रेरै हिँड्थे। चार घण्टा टाढा थियो स्कुल, उनी घिस्रिएरै स्कुल पुग्थे। तीन कक्षासम्म उनले त्यसरी नै पढे। तर, सधैँ त्यसरी जाने सम्भव थिएन। अनि पढाइ छुट्यो।

‘जाँदा त जसोतसो जान्थेँ। फर्किंदा अध्यारो हुने हुँदा आमा, फुपू लिन आउनुहुन्थ्यो। तर, सधैँ काम छोडेर मलाई लिन आउने कुरा भएन। उहाँहरूलाई पनि गाह्रो भयो अनि स्कुल जान छोडेँ,’ विगत सम्झँदै उनले भने, ‘बाल्यकाल अप्ठ्यारो नि! जहाँ जाँदा पनि घिस्रेरै जाने, चार हात खुट्टा टेक्ने त हो।’

त्यसरी हिँड्दा उनका कति कपडा फाटे, शरीरमा कति घाउ लागे भनेर अनि गनेर साध्य छैन। अहिले भने उनी आफू जस्तै अपाङ्गता भएकाहरूका लागि लागि व्हिलचेयर मर्मत गर्ने काम गर्छन् नेपाल अपाङ्ग संघ, जोरपाटीमा बसेर। त्यहाँ उनको आफ्नै सानो ‘वर्कशप’ छ। यहाँभित्र बस्ने सबैको व्हिलचेयर उनले नि:शुल्क बनाइदिन्छन्। आजकल बाहिरबाट पनि बनाउन आउने बढेका छन्।

उनले नि:शुल्कै काम गर्छन्। बाहिरबाट आएकाले ‘पकेट मनि’ दिन्छन्। त्यसैमा खुसी छन्।

पचास वर्षअघिको लाचार परिवार
जब उनी हुर्कँदै गए, आफ्नो बारेमा उनले थप बुझ्दै गए। उनी तीन वर्ष हुँदा दाइले पछाडि ओड्नेले बोक्दा लडेका रहेछन्। उनी पल्टेर सिस्नुघारीमा खसे। दाइ आत्तिएछ छोडेर टाप। आमाले कत्ति खोज्दा पनि उनलाई भेटिनन्। भोलिपल्ट फुपूले सिस्नुको झ्याङमा भेट्दा उनी बेहोसै रहेछन्।

अहिले त कर्णालीमा उपचार सहज छैन। ५० वर्ष अगाडि कस्तो होला! उनले उपचार सुविधा पाएनन्। गाउँमा धामीझाँक्रीको भर। उनको बुवा आफैँ पनि गाउँको प्रख्यात ‘धामी’।

केहि दिनसम्म उनको होस् आएन। त्यतिन्जेल उनको बुवाले अस्पताल नलगी जानेको सबै विधिले झारफुक गरे। परेवा काटे, नाग पूजा गरे, ढ्याङ्ग्रो ठटाए। उनको जिउ सुन्निएको थियो। घरेलु विधिबाटै उनको होस् आयो। तर, कम्मरभन्दा तलको भाग चलेन। सुकेर, लुलो भयो। अहिले दाहिने खुट्टा चलाउन मिल्छ। त्यसबाहेक कम्मरदेखि तल उनको शरीरले काम गर्दैन।

भोट माग्न आएका मान्छे प्रधानमन्त्री भएपछि...
यी सबै कुरा उनले गाउँमा हैन, काठमाडौंबाट गाउँ फर्केपछि थाहा पाए। उनको काठमाडौंको यात्रा रोचक रहेछ।

उनको गाउँमा एकदिन एक नेता भोट माग्न पुगे। त्यसबेला डण्डलाई देखेर उनले चुनाव जितेँ भने काठमाडौं लान्छु भनेका रहेछन्। ती थिए मरिचमान सिंह श्रेष्ठ।

‘मैले जितेँ भने तेरो छोरालाई काठमाडौं लगिदिन्छु भनेर बुवासँग कुरा गरेका रहेछन्। ठ्याक्कै जित्यो अनि ह्विलचियरप्रधानमन्त्री पनि भए भन्ने खबर आयो। त्यति भएपछि म ढुक्कै भइहालेँ’, उनले हाँस्दै भने।

मरिचमानले वाचा पूरा गरे। अनि २०४३ सालमा उनी तत्कालीन प्रधानमन्त्री मरिचमानसँग हवाइजहाज चढेर काठमाडौं आए। उनलाई बालुवाटारको पाहुना घरमा राखियो।

उनी तीन महिना त्यतै बसे। प्रधानमन्त्रीको मान्छे भन्दै गाडीमा राखेर कता-कता घुमाउन पनि लैजान्थे। पहिलो पटक काठमाडौं आएको, बहुत रमाइलो भयो उनलाई।

त्यसबेला अपाङ्गता भएकाहरू राख्न त्यति धेरै संघसंस्थाहरू थिएनन्। जोरपाटी पुलमा नेपाल अपाङ्ग संघको खगेन्द्र नवजीवन केन्द्र थियो। उनलाई त्यहीँ राखिने भयो। उनी तीन पटकसम्म संघमा बस्न आउँदा सिट नै भेटेनन्।

‘प्रधानमन्त्रीको मान्छे भनेपछि राखिहाल्यो नि! यहाँ आउँदा त अनौठो लाग्यो। कोही ह्विलचियरमा थिए। त्यसबेला त पनि पावर लगाउन सक्नेले मात्र चढ्थे। सानो खाटमा दुई जना सुत्नुपर्थ्यो। त्यति धेरै अपाङ्गता भएकाहरू यहाँ हुन्थे।’

प्रधानमन्त्रीको मान्छे भनेर सिट पाए पनि अन्य सुविधा भने उनले साधारण नै पाए। अन्य अपाङ्गता भएकाहरू जसरी नै खान, बस्न बाहेक उनले धेरै सुविधा पाएनन्। १५ वर्षको उमेर भइसकेको भए पनि उनले फेरि यहाँ पाँच कक्षादेखि पढ्न थाले। त्यसबेला संघमा धेरै सीप सम्बन्धी तालिमहरू हुन्थे। त्यसै क्रममा उनले गलैँचा बुन्ने काम गरे।

तालिमबाट सर्टिफिकेट पाए, काम पाएनन् !
‘स्कुल जानुभन्दा अघि र स्कुलबाट फर्किएपछि गलैँचा बुन्थेँ। खान र बस्न दिइनै हाल्थ्यो। गलैँचा बुन्दा त एउटा तान झारेपछि ३५ रूपैयाँ पाउँथे। त्यति भए के चाहियो र! अनि गाउँ जाने बेला प्लेनमा जाने-आउने सुविधा प्रधानमन्त्रीले दिनुहुन्थ्यो। चार वर्षसम्म यहाँ बस्दा तीन वर्ष त गलैँचा बुने। त्यसपछि त बस्न मन लागेन अनि संघबाटै निस्किए’, उनले सुनाए।

पछि उनी साथीहरूसँग बसेर पढ्न थाले। एसएलसी बिग्रेपछि उनको पढाइमा सधैँको लागि बिराम लाग्यो।

‘साथीहरूको झगडा परेपछि परीक्षा भन्दा तीन दिनअघि हामीलाई होस्टलबाट निकालियो। घर हुनेहरू घरमा गइहाले। म त काँ जाने-जाने भयो। त्यो बेला माघ महिनामा एसएलसी हुन्थ्यो। तनाब भयो। असाध्यै चिसो थियो। पानीमा रुझ्दै जाँदा लेख्ने सकिँन। एसएलसी मात्र पास गर्न सकेको भए अझै माथि पुगिन्थ्यो कि, जस्तो लाग्छ। फेल भएपछि फेरि पढ्ने आँट नै गर्न सकिन।’

त्यसपछि उनी संघमै बस्न फर्किए। तर, भागेर गएको भनेर उनलाई राखिएन। अनि उनी बाहिर-बाहिरै डेरा लिएर बसे। उनले त्यतिखेर बैशाखीको सहारा पाइसकेका थिए। बाहिरै गलैँचा बुने, घडी, टिभी, रेडियो बनाउन सिके, मोबाइल पनि बनाउन सिके। तालिम लिन उनी संघमा आउन चैँ पाउथेँ। त्यहि भएर उनले भ्याएसम्मको सीप सिकेका छन्।

‘सर्टिफिकेटको चाङ्ग छ। तर, काम लागेन।’
‘मोबाइल बनाउन पनि सिकेको, आँखा पनि बिग्रेको भएपछि छोडे। अहिले यहि ह्विलचियर बनाउँदै छु।’

उनी आफैँले ह्विलचियर चढ्न थालेको पनि धेरै भएको छैन। तर, बैशाखीभन्दा धेरै सजिलो भएको उनले अनुभव गरेका छन्।

अपाङ्गता भएकाहरूको लागि खेलकुदको सुरूवात पनि डण्ड लगायत साथीहरूले नै सुरू गरेका हुन्। बास्केटबल, क्रिकेट अन्तराष्ट्रिय स्तरमै पनि उनले खेलेका छन्। तर, त्यसलाई निरन्तरता भएन दिन सकेनन्।

उनी काठमाडौं आएपछि उनको दाइले पनि उनलाई भेट्न आए। त्यसबेला उनले दाइलाई भए भरको रिस पोखे। झगडासम्म पर्यो। दाइले लडाएको भनेर थाहा पाएको धेरै भएको थिएन।

‘दाइ त भेट्न यतै आयो। त्यसपछि मलाई त कस्तो रिस उठ्यो। मलाई लडाएको मात्र होइन नि, छोडेर पनि भागेको थियो। अनि तैँले गर्दा मलाइ यस्तो भयो भने। उ त चुप लागेर बस्यो। के गर्नु। अहिले त माया गर्छ। तराईमा खेती गर्छ। बेला-बेलामा भेट पनि हुन्छ हाम्रो’, उनले भने।

उनको आमा अहिले बितिसकिन्। बा भने अझै पनि छन्।

अनि संघभित्रै ह्विलचियर वर्कशप खोले
१९ वर्षसम्म उनले नारायणटारमा पसल पनि चलाए। मरिचमानको मृत्यु भएपछि उनको त्यहाँको सम्बन्ध पनि टुट्यो।

‘म मलामी गएँ। मलाई काठमाडौं ल्याएको मान्छे, सानोमा हरेको मान्छे भावुक पनि भएँ। यति धेरै भिडमा झन्डै कुल्चिएर मर्न लागेको थिएँ। उहाँको मरण देखेर पनि एक किसिमको नराम्रो लाग्यो। त्यसपछि उहाँको परिवारसँग नजिक भइनँ। बरु सल्यानमा जन्म घर हेर्न चैँ गए।’

काठमाडौं बस्दाबस्दा दिक्क लागेपछि उनी नेपालगञ्ज जाने भनेर योजना बनाउँदै थिए। साथीहरूले रोके। अनि त्यहिबेला फेरि ह्विलचियर बनाउने तालिम हुन लागेको र राम्रो तालिम गर्नेलाई वर्कशप खोल्न सघाउने थाहा पाए। ह्विलचियर बनाउने ठाउँ भएको समयमा त्यसमा केहि गर्न सकिन्छ कि भने उनले सोचे। अनि तालिममा सहभागी भए।

‘यहि वर्कशप गरौँ कि क्या हो भन्ने दिमागमा झट्का हान्यो। यतै बसियो।  तर, तालिम सक्केको एक वर्षसम्म पनि खुलेन। मैले त पसल पनि सब छोडेको थिएँ। सामानहरू बेच्दै खादैँ गरेँ। ७० हजार चानचुन त कोठा भाडा भइसकेको थियो। लास्टमा यता पनि नहुने उता पनि नहुने भन्ने भयो। त्यसपछि संघमै आएर कराएँ। गाह्रै भयो। तर, काम त बन्यो। अनि फेरि वर्षौंपछि यता बस्न पनि पाएँ’, उनले सुनाए।

वर्कशपको लागि संघले आफ्नै ठाउँ प्रयोग गर्न दियो। तर, सामान भने उनी आफैँले खोज्नपर्यो।

‘त्यत्तिकैमा यहि संघमै बस्दै आएका कृष्ण भाइले मिलाइदिनु भयो। त्यै भएर पनि यो वर्कशप मेरो भन्दा पनि हाम्रो हो। यहि बस्ने अपाङ्गता भएका हामीहरू सबैले यसलाई बनाउन योगदान दिनुभएको छ।’

त्यै भएर पनि उनले यहाँका सम्पूर्ण साथीहरूको ह्विलचियर नि:शुल्कमा बनाउने गर्छन्। आपत पर्दा मध्यरातदेखि सबेरैसम्म पनि उनी काम गर्न पछि हट्दैनन्।

सामान अहिले चैँ जसको बिग्रेको हो , उसैले ल्याउनपर्ने रहेछ। दिनमा पाँच/छ वटासम्म ह्विलचियर उनले बनाउने गर्छन्। अनि कहिले भने संघकै चौरमा घाम तापेर बस्ने गर्छन्। अहिलेसम्म कति ह्विलचियर बनाए भनेर उनले पहिला त टिपोट पनि गरेका थिए। तर, सधैँजसो यहि काम भएपछि टिपोट गर्न छाडिदिए।

५३ वर्षीय डण्डलाई अब ह्विलचियर मात्र नभएर सेतो छडी, बैशाखी लगायत अपाङ्गता भएका व्यक्तिहरू सबैलाई अति आवश्यक सामानहरू बनाउन मन छ। त्यसको लागि केही मान्छेहरूसँग कुरा पनि गरेका रहेछन्। तर, उनी सकेसम्म संघकै मान्छेले केही गरोस् भन्ने चाहन्छन्।

‘अहिले त यो संघमा केही तालिम पनि छैन। एकदम शून्य छ। सीप सिकेकाहरू सबै गफ गर्ने, घाम ताप्ने, पोट खेल्ने गर्छ। यसरी बस्दा त दिमाग ह्याङ भइहाल्छ नि!’

‘त्यहि भएर अहिले पनि केही तालिम दियो भने समन्वय चैँ गर्न चाहन्छु। तालिम त नगर्ने। यहाँ ह्विलचियर बाहेक अरू पनि बनाउने वातावरण बनाउने कोसिस गर्छु। मेरो त इच्छा पनि केहि छैन। ठूलो उदेश्य पनि केहि छैन। उदेश्य भएको भए त यसरी बस्दै बस्दिनथेँ होला। यहाँ यतिका समय गुजारी सकेँ, अब बाँकी जीवन यहिँका अपाङ्गता भएका साथीहरूको लागि दिने सोच छ।’

भुईँमान्छेका कथाहरु

१८ मंसिर, २०८०, १९:४१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।