इयुको कालोसूची प्रतिवेदन ढाँट्दै महानिर्देशक अधिकारी, प्राधिकरणको कमजोरी लुकाउन निगमलाई मात्र दोष

इयुको कालोसूची प्रतिवेदन ढाँट्दै महानिर्देशक अधिकारी, प्राधिकरणको कमजोरी लुकाउन निगमलाई मात्र दोष

काठमाडौँ : युरोपियन युनियनले नेपाली हवाई जहाजहरूलाई कालो सूचीमा राख्ने निर्णयलाई निरन्तरता दिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाल वायुसेवा निगमलाई दोष दिए।

नेपाल इयुको कालोसूचीमै रहेको सार्वजनिक भएपछि पहिला उनले सीमित पत्रकारहरूलाई भेला गरेर नेपाल वायुसेवा निगमकाकारण नेपाल इयुको कालोसूचीबाट नहटेको दाबी गरे। त्यही अनुसार समाचारहरू पनि सम्प्रेषण भयो।

यति मात्रै हैन, उनले शुक्रवार संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिमा पनि इयुले कालोसूचीबाट नहटाउनुको कारण नेपाल वायुसेवा निगम रहेको दाबी गरे।

तर इयुले प्रकाशित गरेको रिपोर्टमा यी निगमसँगै मूल कारण नागरिक उड्डयन प्राधिकरणको असक्षमता उल्लेख छ जसलाई अधिकारीले लुकाउँदै आएका छन्।

इयुको एयर सेप्टी कमिटीको अनुगमनपछिको प्रतिवेदनमा निगमसँगै श्री एयरलाइन्सको समेत कमजोरी उल्लेख नगरिएको हैन। तर प्रतिवेदन अनुसार कालोसूची नहट्नुको मूल कारण यी एयरलाइन्सभन्दा पनि प्राधिकरणको नेतृत्व बढी जिम्मेवार देखिन्छ।

संसदीय समितिमा प्राधिकरणका महानिर्देशक अधिकारीले जे दाबी गरे त्यो सरासर झुटो रहेको इयुले शनिवार सार्वजनिक गरेको प्रतिवेदनले नै पुष्टि गर्छ।

प्राधिकरणका महानिर्देशक अधिकारीले संसद्मा किन झुट बोले?  उड्डयनका प्रवक्ता जगन्नाथ निरौलाले भने’कालोसूचीमा पर्नुको कारण  मुख्य नेपाल एयरलाइन्सको कमजोरी भएको तर प्राधिकरणको पनि कमजोरी बताउनुभएको हो,’ उनले भने ‘म पनि त्यही थिएँ, ढाटेको हैन।‘

नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव  गौतम एउटा एयरलाइन्सकै कारण मात्रै कालोसूचीमा परेको देशै कालोसूचीमा नपरी सम्बन्धित एयरलाइन्स मात्र पर्ने बताए।

‘यदि महानिर्देशकज्यूले नेपाल एयरलाइन्सका कारण मात्र कालोसूचीमा परेको भन्नुभएको हो भने त्यो हास्यास्पद हो। अन्तर्राष्ट्रिय चलनअनुसार जुन एयर लाइसेन्सले गर्दा कालोसूचीमा परेको त्यो एयर लाइसेन्सलाई मात्र कालो सूचिमा राखिन्छ, पूरै सेवालाई राखिन्न। नेपाल एयर लाइसेन्सको कारण भएको भए नेपाल एयर लाइसेन्समात्र कालो सूचिमा पर्थ्यो। नेपालका सबै एयर लाइसेन्स हैन।‘

इयुको प्रतिवेदनमा के छ ?

मे २०२२ मा इयु हवाई सुरक्षा समितिको छलफलको फलोअपको रूपमा, आयोग, एजेन्सी र सदस्य राष्ट्रहरूका विज्ञहरूले ११ र १५ सेप्टेम्बर २०२३ मा नेपालको नागरिक उड्डयन प्राधिकरण युनियनको स्थलगत मूल्याङ्कन भ्रमण  गरेको थियो।

भ्रमणमा नेपालमा प्रमाणित दुईवटा हवाई सेवा प्रदायक श्री एयरलाइन्स र नेपाल वायुसेवा निगमको नमुना मूल्याङ्कन गरेका थियो।

मूल्याङ्कन भ्रमणले नेपालमा प्रमाणित हवाईजहाजहरूको निरीक्षण गतिविधिहरूमा प्राधिकरणको भूमिका र जिम्मेवारीलाई ध्यानमा राख्दै यसका गतिविधिहरूलाई केन्द्रित गर्यो।

मूल्याङ्कन टोलीले प्राधिकरणको सङ्गठनात्मक संरचना, शाखा, विभाग र कर्मचारीबारे समेत अध्ययन गरेको थियो।

हाल नेपालले हवाई सुरक्षाको क्षेत्रमा केही प्रगति हासिल गरे तापनि इयुको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू गर्ने जिम्मेवारी पूरा गर्ने वर्तमान क्षमतामा विश्वस्त हुन नसकिएकोले कालो सूचीबाट नेपाललाई नहटाउने निर्णय भएको प्रतिवेदनमा उल्लेख छ।

उड्डयन प्राधिकरणले कार्यसम्पादन अनुसार अनुगमन र सेवा प्रवाह एकैले गर्दै आएको छ। इयुले लामो समयदेखि यी दुवै जिम्मेवारी एकै निकायलाईदिँदा सेवा प्रवाह प्रभावित भएको भन्दै अनुगमन र सेवा प्रवाहका लागि अलग-अलग संरचना बनाउन सुझाव दिँदै आएको छ। तर प्राधिकरणको नेतृत्व यसमा सहमत भएको छैन।

यस पटक पनि इयुले प्रतिवेदनमा सङ्गठनात्मक संरचनाको व्यापक संशोधन आवश्यक रहेको उल्लेख गरेको छ।

‘यस्तो परिमार्जन एक बलियो र प्रभावकारी सुरक्षा निरीक्षण प्रणाली सुनिश्चित गर्न महत्त्वपूर्ण भएको’ इयुको टोलीले औँल्याएको देखिन्छ।

‘यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्वहरूसँग मिल्दोजुल्दो र  अन्ततः नेपालमा हवाईजहाजहरूको परिचालन दक्षता र सुरक्षा मापदण्डहरू वृद्धि गर्ने’ प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा प्राधिकरणको कर्मचारी इजाजत पत्र आवश्यकता र उडान परीक्षक प्रणालीहरूमा अपनाइएको हालको अभ्यासहरूले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरूको पालना नगरेको उल्लेख छ।

विशेष गरी उडान चालक दलको इजाजत पत्रको परीक्षकहरूको योग्यतामा उसले प्रश्न उठाएको छ।

हेलिकप्टर सञ्चालनको सन्दर्भमा उडान परीक्षकहरू र प्रशिक्षकहरूको पद  र अनुगमनको लागि बलियो ढाँचाको अभाव रहेको र मापदण्ड, विशेषाधिकार र परीक्षकहरूका लागि प्रभावकारी निगरानी संयन्त्र स्थापना गर्न प्राधिकरण चुकेको  प्रतिवेदनमा उल्लेख छ।

मूल्याङ्कनले प्राधिकरणको पर्सनल लाइसेन्सिङ इन्स्पेक्टर र सहायक निरीक्षकको भूमिकाका लागि तालिमको प्रभावकारी अनुगमन र दस्तावेजीकरण कमी रहेको समेत उल्लेख गरेको छ।

प्राधिकरणको उडान अपरेसन डिभिजनमा महत्त्वपूर्ण कमीहरू विशेष गरी कर्तव्य अवधिको सीमासँग सम्बन्धित थकानको निरीक्षण गर्ने र स्वीकृति प्रक्रियाको क्रममा व्यापक अनुपालन जाँचहरू सुनिश्चित गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

‘थकान व्यवस्थापन प्रोटोकलहरू लागू गर्न र तिनीहरूको प्राविधिक मूल्याङ्कन र स्वीकृति प्रक्रियाहरूलाई बलियो बनाउन प्राधिकरण चुकेको प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणले दिने निरीक्षकहरू बिचको विशेष तालिम र योग्यताको अभाव, विशेष गरी वायुसेवा सञ्चालकहरूद्वारा सञ्चालित विमानहरूको लागि प्रकारको मूल्याङ्कन सम्बन्धी, प्राधिकरणको प्रमाणीकरण र निगरानी गतिविधिहरूको प्रभावकारिताको बारेमा इयु चिन्तित रहेको प्रतिवेदनमा उल्लेख छ।

मूल्याङ्कन टोलीले  वायुसेवा सञ्चालकहरूको उडान सुरक्षा कागजातहरू र विशिष्ट अनुमोदनहरूको समीक्षा, मूल्याङ्कन र प्रमाणीकरण गर्ने उडान सञ्चालन डिभिजनको दृष्टिकोणमा प्रणालीगत समस्या समेत उल्लेख गरेको छ।

ट्राफिक कोलिजन एभाइडेन्स सिस्टम आवश्यकताहरू, इन्धन गणनाहरू, र उडान समय सीमाहरूको निरीक्षणमा गैर–अनुपालन जस्ता अवलोकन गरिएका विसङ्गतिहरूले उडान सुरक्षालाई असर गरेको इयुको प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणको निरीक्षण डिभिजनले लेखा परीक्षण नियन्त्रण, प्रशिक्षण कार्यक्रम पूर्णता, र कागजात समीक्षा लगनशीलता जस्ता महत्त्वपूर्ण पक्षहरूमा परिपक्वताको अभाव रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘प्राधिकरणले तालिम कार्यक्रमलाई बढाएर र थप कठोर लेखा परीक्षण दृष्टिकोण अपनाएर यी समस्याहरूलाई सम्बोधन गर्नुपर्दछ, र अझ प्रभावकारी डिजिटल रेकर्ड–किपिङ प्रणालीहरूमा परिवर्तन गर्न प्रयास गर्नुपर्ने देखियो’ प्रतिवेदनमा उल्लेख छ।

प्राधिकरणले अन्तराष्ट्रिय मापदण्ड पालना गरेन

प्राधिकरणले इयु हवाई सुरक्षा समितिमा एउटा सारांश प्रस्तुत गरेको थियो जसमा नेपालमा प्रमाणित हवाई सेवा प्रदायकहरूको सिंहावलोकन, नेपालमा दर्ता भएका विमानहरूको आइकाओ,  युसेप कन्टिन्युअस मोनिटरिङ अप्रोच (सिमए) अडिटबाट प्राप्त पछिल्लो नतिजा र नेपालको यसको कार्यान्वयन स्कोर सुधार प्रगति समावेश गरेको थियो।

इयुको मूल्याङ्कन प्रतिवेदनका सम्बन्धमा  प्राधिकरणले युनियनको साइटमा मूल्याङ्कन भ्रमण गरेपछि तुरुन्तै गरिएका विस्तृत कार्यहरू जानकारी गराइएको थियो।

यसमा सङ्गठनात्मक पुनर्संरचना र एकीकृत व्यवस्थापन पुस्तिकाको विकास समावेश थियो। केन्द्रित गरिएका मुख्य कार्यहरू लेखा परीक्षण विभागमा अनुपालन अनुगमन कार्यलाई समावेश गर्ने र गुणस्तर व्यवस्थापन प्रणाली म्यानुअलको मस्यौदा तयार पार्ने कार्यहरू थिए।

इयुले एयर सेप्टी कमिटीलाई प्राधिकरणको क्यापबारे युनियनको साइटमा मूल्याङ्कन भ्रमणको क्रममा उल्लेख गरिएका मुद्दाहरूलाई सम्बोधन गर्न सूचित गरिएको थियो।

प्राधिकरणले प्रत्येक अवलोकनको लागि तत्काल र दीर्घकालीन सुधारात्मक कार्यहरूको मूल कारण विश्लेषण गरेको थियो। तर इयुले प्रतिवेदनमा प्राधिकरणले सुधारात्मक कार्यको विश्लेषण गरेता पनि गहिरो मूल कारण विश्लेषण सिद्धान्तहरू लगातार लागू गरियो भनी स्पष्ट नभएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू लागू गर्न र यसको प्रमाणित वायु वाहकहरूद्वारा अनुपालन सञ्चालन सुनिश्चित गर्न प्राधिकरणको क्षमता अपर्याप्त छ भन्ने इयुको निष्कर्ष देखियो।

युनियनको स्थलगत मूल्याङ्कन भ्रमणका अवलोकनहरू लगायतका प्रमाणहरूले नेपालमा उड्डयन गतिविधिहरूको निरीक्षण गर्ने प्राधिकरण क्षमताहरूले लागू न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरूको पालना गर्दैनन् भन्ने देखाउने र यसले प्राधिकरणको पर्यवेक्षण क्षमता, कर्मचारी व्यवस्थापन, कर्मचारी तालिम र प्रमाणीकरण प्रक्रियाहरूमा थप सुधारको आवश्यकतालाई इयुले औँल्याएको छ।

श्री एयरलाइन्सलाई के भन्यो इयुले ?

नमुनाको रूपमा इयु टोलीले नेपाल एयरलाइन्स र श्री एयरलाइन्सको नमुना परीक्षण गरेको थियो।

इयुले    श्री एयरलाइन्सले आफ्नो सुरक्षा व्यवस्थापन प्रणाली (एसएमएस’) र सञ्चालन नीतिहरूलाई अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू र नेपाली कानुनहरूसँग मिल्दोजुल्दो बनाउन सुझाव दिएको छ।

यसमा सेप्टी म्यानेजमेन्ट म्यानुअल (एसमम), अडिट चेक लिस्टहरू, मर्मत सम्भार कागजात र कार्यविधिहरूमा त्रुटि देखिएको उल्लेख छ। प्रतिवेदनमा कार्य आदेश र उपकरण क्यालिब्रेसनमा त्रुटिहरू सम्बोधन गर्न भनिएको छ।

उसले  प्रशिक्षण प्रमाणपत्रहरूको वैधता र गुणस्तर व्यवस्थापनमा देखिएका कमजोरी, अस्पष्ट वा गलत प्रशिक्षण, चालक दलको दक्षता र प्रशिक्षण प्रभावकारितालाई अनुगमन र सुधार गर्न थप बलियो प्रणालीको आवश्यकता औँल्याएको छ।

नेपाल एयरलाइन्सबारे के भन्छ इयु ?

टोलीले १४ सेप्टेम्बर २०२३ मा युनियनको मूल्याङ्कन टोलीले नेपाल वायुसेवा निगमको समेत अनुगमन गरेको थियो।

निगमको मूल्याङ्कनले यसको एसएमएस र परिचालन अनुपालनमा कमी कमजोरी रहेको उल्लेख छ। समस्याहरूमा अपर्याप्त जोखिम पहिचान र व्यवस्थापन, वार्षिक लेखा परीक्षणमा दोहोरिने निष्कर्षहरू, र अपर्याप्त रूपमा विस्तृत गुणस्तर लेखा परीक्षण सूचीहरू समावेश छन्।

गुणस्तर, विभागको प्रभावकारिता, योग्यता, व्यवस्थापन, सङ्गठन र मर्मतमा जोखिम लगको अभाव, र जनशक्ति विश्लेषणमा कमजोरीबारे प्रतिवेदनमा उल्लेख गरिएको छ।

इयुले निगमको परिचालन निरीक्षणलाई कायम राख्न चुनौती देखाउँदै, प्रशिक्षण दक्षता, उडान समय सीमा, कागजात व्यवस्थापन र अनुगमन लगायतका विभिन्न क्षेत्रमा समस्या देखाएको छ।

उसले निगमको प्रणाली र प्रक्रियाहरूको पर्याप्त परिमार्जन आवश्यक रहेको सुझाव दिएको छ।

इयुको प्रतिवेदनको अनुवाद 

१७ मंसिर, २०८०, १८:२३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।