इजरायल-हमासबीचको युद्धविराम सकियो, दक्षिणी गाजामा एयर स्ट्राइक सुरू

इजरायल-हमासबीचको युद्धविराम सकियो, दक्षिणी गाजामा एयर स्ट्राइक सुरू

एजेन्सी : हमास र इजरायलबीचको युद्धविराम सकिएको छ। सम्झौताको अवधि सकिएसँगै इजरायलले दक्षिणी गाजामा एयर स्ट्राइक सुरू गरेको छ।

हमासको आन्तरिक एवं राष्ट्रिय सुरक्षा मन्त्रालयले आफ्नो टेलिग्राम अकाउन्टमा दक्षिणी गाजामा एयर स्ट्राइक भएको पुष्टि गरेको हो।

उत्तरी गाजामा पनि कयौं विस्फोटका आवाजहरू आएका छन् भने गाजाको उत्तर पश्चिममा पनि गोलीबारी भएको छ।

हमास र इजरायलबीच सुरूमा चार दिन र त्यसपछि थप तीन दिन युद्धविरामको सम्झौता भएको थियो। बिहीबार सम्झौताको सातौं दिन थियो।

सम्झौता समाप्त हुनु केही समयअघि गाजाबाट रकेट प्रहार भएको र त्यसलाई आफूहरूले खसालेको इजरायली सेनाको दाबी छ।

इजरायली सेना सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘हमासले इजरायलमा फायरिङ गर्न थालेको छ। यो युद्धविराम सम्झौताको उल्लङ्घन हो।’

युद्धविराम अझै लम्बिने आश गरिएकोमा दुवै पक्षबाट एयर स्ट्राइक भएपछि अब त्यो सम्भावना पनि सकिएको हो। अमेरिका, कतार र इजिप्टले निरन्तर युद्धविरामको मध्यस्थता गर्दै आएका छन्।

हमास र इजरायलबीच भएको युद्धविराममा हमासले इजरायलका ११० बन्धक रिहा गरेको छ।

मंसिर १५, २०८० शुक्रबार १३:३६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।