‘आमाले बाहुनी बिहे गर है भन्नुहुन्थ्यो, मैले त तामाङनी बिहे गरेँ’

‘आमाले बाहुनी बिहे गर है भन्नुहुन्थ्यो, मैले त तामाङनी बिहे गरेँ’

उमेरले ५७ वर्ष टेकेका अमर बान्तु भोजपुर दिल्पानागी गाउँ पञ्चायतमा जन्मिएका। ६ दाजुभाइमध्येका उनी काइँला। उनीभन्दा माथिका दाजु र भाइहरू भारतीय सेनामा भर्ना भए। उनलाई पनि दाजुहरूले लाहुरे नै बनाउने कोसिस नगरेका हैनन्। तर, सबै दाजुभाइ एउटै पेसामा हुने भइयो भनेर हेडमास्टर बन्ने सोच बनाए।

सानै उमेरमा स्कुल नपाइने। १० वर्ष पुगेपछि बल्ल गाउँकै नागी चण्डेश्वरी निम्न माध्यमिक विद्यालयमा भर्ना भए उनी। ७ कक्षासम्म यता पढेपछि उनी गाउँकै हाई स्कुल अन्नपूर्णमा ८ कक्षादेखि १० सम्म पढे। एसएलसी पनि पास गरे।

त्यो समयमा गाउँ गाउँमा पञ्चायती विरुद्धको आन्दोलन चर्किरहेको थियो। उनले पनि पञ्चायत विरुद्धमा हुने गोष्ठीहरूमा भाग लिन थाले। त्यो बेलाको वामपन्थी (माले)को प्रभाव परेको थियो उनमा। गोष्ठीमा कविता सुनाउने,जनवादी गीत गाउने गर्न थाले। तर पार्टीमै आबद्ध भने भएनन्।

गाउँमा कि हेडमास्टर कि लाहुरे बन्नेको इज्जत थियो। त्यसैले उनी हेडमास्टर बन्ने हेतुले धनकुटा बहुमुखी क्याम्पसमा आइएडमा भर्ना भए। पढ्दापढ्दै उनको सोच बदलियो। आइएड दोस्रो वर्ष पढ्दापढ्दै उनी काठमाडौँ लागे। काठमाडौँ आएपछि आदर्श कन्या निकेतन स्कुलमा शिक्षकका रूपमा काम गर्न थाले। स्कुलमा पढाए पनि उनले पढ्न भने छाडेनन्। उनले ट्युसन पढेर आइएडको परीक्षा दिए र पास भए।

स्कुलमा पढाउँदा पढाउँदै खान नपुग्ने भएपछि कोल्ड स्टोर,रेस्टुरेन्ट लगायतको व्यवसायमा पनि हात हाले। धेरैतिर उनको व्यस्तता बढेपछि रेस्टुरेन्टमा अकाउन्ट हेर्ने एक जना दार्जिलिङकी भावना तामाङलाई राखे। बिस्तारै उनी मन पर्न थाल्यो। प्रेम सम्बन्ध झाँगिएपछि उनैसँग विवाह गरे।

उनको कविता लेखन र गीत सिर्जना रोकिएको थियो। उमेर ५० वर्षमा प्रवेश गरेपछि उनले पुन लेखन यात्रा सुरु गरे। केही वर्ष उनको कविता सङ्ग्रह ‘परिभाषाका राँटाहरू’ र गीति एल्बम ‘अमर भावना’ एकसाथ विमोचन भयो। उनले आफ्ना बाल्यकाल, पञ्चायतदेखि जहिलेसम्मका अनुभवहरू यसरी उकेरासामु साटे :

गाउँमा लाहुरे र हेड मास्टरको ठुलो इज्जत

भोजपुरको पश्चिम खोटाङकै सिमानामा रहेको दिल्पानागी गाउँ पञ्चायत भनिन्थ्यो । अहिले टेम्केमैयुङ गाउँपालिका भएको छ। ६ जना दाजुभाइ १ दिदी गरेर हामी सात जनाको छोराछोरी हौँ। म भन्दा माथिको दिदी हो। म काइँलो छोरो। अहिले त काइँलो दुर्लभ भइसक्यो।  अब काइँलो भन्ने जन्मिँदैनन् होला।

मैले थाहा पाउँदा मेरो दाजुहरू त्यो समयमा स्कुल जानुहुन्थ्यो। हामी चाहिँ सानै भएकोले स्कुल जानै पाएनौँ। १० वर्षको भएपछि मात्रै स्कुल जान थालेको हो। गाउँमा हुँदा निकै ठुलो सपना देखिँदो रहेछ। म भन्दा माथिका सबै मेरो दाजुहरू इन्डियन लाहुरे हुनुहुन्थ्यो। मेरो भाइ पनि लाहुरे भयो। मलाई पनि लाहुरे बन्न जोड थियो तर शिक्षक बन्छु भन्ने थियो। लाहुरे बन्नै मन लागेन।

गाउँमा लाहुरेहरू घडी, रेडिया, क्यासेट बजाउँदै आउँदा चाहिँ  लाहुरे नै बन्नुपर्ने रहेछ भन्ने मनमा लाग्थ्यो।

गाउँमा लाहुरे र हेडमास्टरको राम्रो इज्जत थियो। त्यही भएर मेरा दाजुहरूले लाहुरेमा लानु खोज्नुभएको थियो। लाहुरे बन्न नाम पनि लेखाइयो। तर,मैले धेरै सोचेँ। सबै एकै खाल्को भइन्छ भनेर धनकुटा बहुमुखी क्याम्पसमा पढ्न थालेँ।  पढ्दापढ्दै आइएडसम्म पढियो। त्यो भन्दा उता पढ्न सकिएन।

हेडमास्टर बन्ने सपना पुरा भएन तर शिक्षक चाहिँ भए। काठमाडौँ आएपछि मान्छेको जटिल समस्या दालभात रैछ भन्ने थाहा भयो। दालभात त जल्ले पनि खाइहाल्छ नि भन्छन्। तर, त्यो होइन। सबैभन्दा ठुलो समस्या नै दालभातको समस्या समाधान गर्नु हो। जसले दालभातको समस्या समाधान गर्छ त्यसपछि मात्र उसले प्रगति गर्छ।

काठमाडौँ आएपछि मेरो दालभातको समस्या जटिल भयो। त्यो समाधान गर्न आदर्श कन्या निकेतन स्कुलमा शिक्षक भएँ। त्यो स्कुलमा करिब ६ वर्षसम्म शिक्षक भएँ। हेडमास्टर हुने चाहाना थियो तर,साधारण निमावि लेबलको शिक्षक भए म। त्यसैमा चित्त बुझाएँ।

त्यहाँ पढाउँदा तलब ९ सय रुपैयाँ थियो। त्यो तलबले २२ दिनसम्म दालभात खान सकिन्थ्यो। त्यसपछि भने धौधौ।

शिक्षक बन्न अहिले जस्तो गाह्रो थिएन। एसएलसी दिएको मान्छे खासै नभेटिने भएकाले आइएड पढेको मान्छेलाई जागिर मजाले नै पाइन्थ्यो। मैले पनि पाएँ। म अस्थायी शिक्षक थिएँ। २०४६ सालको  आन्दोलनपछि स्थायी बनाइदिए।

जागिर स्थायी भए पनि आर्थिक समस्याको समाधानको बाटो अस्थायी नै भयो। अनि कोल्ड स्टोर खोलेँ। त्यसपछि रेस्टुरेन्ट, होटेल थुप्रै व्यवसायमा हात हालेँ।

पञ्चायतमा हवलदार गाउँ छिर्दा थरथर काम्नु पर्थ्यो

स्कुलमा प्रत्येक शुक्रवार कोही गीत गाउने,कोही कविता भन्ने साहित्यिक गोष्ठीहरू हुन्थेँ। त्यस्तै कार्यक्रममा म पनि सहभागी हुन्थेँ। मैले त्यो बेला नै कविता लेखेर सुनाउने गर्थेँ।

कहिलेकाहीँ गीतहरू पनि गाएँ। पछि कलेज पढ्न २०३६ सालको आन्दोलनमा राजनीतिको प्रभाव पर्यो। हाम्रो गाउँमा काठमाडौँबाट कम्युनिस्ट वामपन्थी ठुला दाइहरू प्रशिक्षण दिन आउनुहुन्थ्यो।

गाउँमा प्रशिक्षण मण्डल अध्ययन संस्था भन्ने खुलेको थियो। राति राति हामी त्यो अध्ययन मण्डलमा जान्थ्यौँ। त्यहाँ धेरै कुराहरूको प्रशिक्षण हुन्थ्यो। प्रशिक्षण दिँदा क्रान्तिका कुरा हुन्थेँ। स्वतन्त्रताको कुरा हुन्थ्यो।

त्यो समयमा प्रहरीले भेट्यो भने सबैको छाला काढ्थ्यो। गोप्य राख्नुपर्थ्यो यस्तो प्रशिक्षण। दिउँसो गाउँ चकमन्न जस्तै हुन्थ्यो। राति मिटिङहरू चल्थ्यो। राती करिब ३-४ घण्टा प्रशिक्षण हुन्थ्यो।

हामीलाई जेबी टुहुरेका ‘आमा दिदी बैनी हो’जस्ता जागरण जगाउने खाल्का गीतहरू गाउन लगाइन्थ्यो। मैले पनि यस्ता गीत खुब गाएँ। तर पार्टीमै भने लागिन।

अहिले हामी जसरी बोलिरहेका छौँ त्यो बेलामा कहाँ सक्नु! पञ्चायत व्यवस्थामा एउटा प्रहरी हवलदार गाउँमा छिर्यो भने सबै थर्कमान हुन्थे।

क्याफेमा एकाउन्ट हेर्नेलाई नै बिहे

मेरो विवाह भारतको दार्जिलिङमा भयो। यसको चैं लामै कथा छ। म शिक्षक मात्र नभएर म्युजिक सिक्न जाने, ट्युसन पढ्न जाने, पढाउन पनि जाने। क्याफे पनि चलाउँथे।

म व्यस्त भएकाले क्याफेका लागि एकाउन्टेन्ट चाहियो। भावना तामाङ पाइयो।  उहाँ दार्जिलिङबाट त्यही दालभातको समस्या समाधान गर्न काठमाडौँ आउनुभएको रहेछ।

उहाँलाई रेष्टुरेण्टको एकाउन्ट हेर्न राखेँ। उहाँ एकाउन्टेन्ट, म मालिक भइहाले। म त्यो बेला भर्खरको ठिटा केटा। पढाउन र बिजिनेस धेरैतर्फ भएपछि यता पनि कुद्ने उता पनि कुद्ने।

मोटर साइकलमा ढुइयाँ पारेर चारैतिर भ्याउनुपर्ने थियो। मेरो जताततै बिजनेस र बाइकमा कुद्ने भएकोले होला उहाँ (भावना) लपक्कै भइहाल्नुभयो। म पनि उहाँसँग लपम्कै भइहाले। अनि त्यसरी नै हाम्रो मायाप्रेम बस्यो र हामीले बिहे गर्यो।

आमाले बाहुनी बिहे गर भन्नुहुन्थ्यो

अरू प्रेममा जति तड्पिएको कुरा गर्छन् मैले त्यति तड्पिनु परेन। घरमै आए,आएपछि घरमा नै  राखियो। अन्तर्जातीय विवाह गर्दा कोही कराउने मान्छे पनि भएन।

दुई जना मस्त जवानीमा थियौँ। अनि हामीलाई के चाहियो र? त्यही भएर मेरो विवाह सजिलै भयो। अरूको जस्तो प्रेमको पिँडा बोक्नु परेन।

अन्तरजातीय विवाह गर्दा आमा बुबाको गाली पनि खानु परेन। किनभने उहाँहरू त्यो समयमा पनि बुज्झकी हुनुहुन्थ्यो। । मेरो आमाले त गाउँमा हुँदा बाहुनी बिहे गर है भन्नुहुन्थ्यो। अब बाहुनी त ल्याउन सकिएन। मैले त तामाङ्नी ल्याएँ।

अहिले एउटा छोरी, एउटा छोरा छन्। छोराछोरी पिएचडी गर्ने तरखरमा छन्।

बुढेसकालमा साहित्य लेखन

साहित्य लेखन पञ्चायतकलामा नै सुरु भए पनि किताबै निकाल्ने काम गरिन। त्यो चैँ ५० वर्षको उमेरमा भयो। स्कुल पढाउने,व्यापार पनि गर्ने भएकाले लेखनतिर सक्रिय हुन सकिन। त्यो बेलामा सम्पत्तिले तान्यो। कमाउनुपर्छ भन्ने भयो।

जति सम्पत्ति जोडे पनि  मनभित्रको रहर मरेको हुँदैन नि। आफूभित्रको रहरलाई मार्नुहुँदैन भन्ने भयो। अनि लेख्न सुरु गरेँ। गीत लेखेँ, एल्बम निकालेँ। अनि कविता सङ्ग्रह पनि आएको छ। 

१४ मंसिर, २०८०, १८:५५:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।