जलेश्वरमा आज सकिँदै रास्वपा बैठक

जलेश्वरमा आज सकिँदै रास्वपा बैठक

काठमाडौं : दुई दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज सकिँदैछ।

महोत्तरीको जलेश्वरमा जारी बैठकमा आज पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

प्रतिवेदनमाथि छलफल गर्ने र पारित गराउने बैठकको अन्तिम एजेण्डा रहेको पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

बैठक विहान १० बजे सुरु हुनेछ।

त्यसअघि १७ जनाको समूहमा नीति विचार मण्डलको बैठक बस्नेछ। उक्त बैठकमा सभापतिको राजनीति प्रतिवेदनमाथि छलफल हुनेछ।

पछिल्लो समय रास्वपाका एकपछि अर्को नेता गम्भीर घटनामा जोडिए पनि पार्टीले उनीहरूमाथि कारबाही गरेको छैन।

पार्टीका केन्द्रीय सदस्यहरू नै आफ्नै पार्टीका नेतृलाई यौन दुर्व्यवहार गरेको र आफ्नै सांसदसँग पैसा मागेको आरोपमा परेका छन्।

तर पार्टीले त्यस्ता नेताविरुद्ध छानबिन र कारबाहीभन्दा घटना गुपचुप राख्न केन्द्रित छ।

जानकारस्रोतका अनुसार बागमती प्रदेशमा पार्टीका केन्द्रीय सदस्य दीपक बोहराविरुद्ध यौन दुर्व्यवहार गरेको भन्दै बागमती प्रदेशकै एक नेतृले उजुरी दिए पनि कुनै कारबाही भएको छैन।

स्रोतका अनुसार प्रदेशमा परेको उजुरी प्रदेश प्रमुख अच्युतम लामिछानेले उजुरी प्रक्रियालाई अगाडि बढाएका छैनन्।

यौन दुर्व्यवहारको आरोप लागेका बोहोरा पार्टीको केन्द्रीय सदस्य हुन्। उनी पार्टी खुल्नु अगाडि देखि नै पार्टी सभापति रवि लामिछाने निकट छन्।

न्युज२४ देखि ग्यालेक्सीसम्म पनि उनी रविसँगै थिए। पार्टी खोलेपछि उनी पनि राजनीतिमा आए। रवि गृहमन्त्री हुँदा उनी मुख्य स्वकीय सचिव बनेका थिए।

उता मोहन थापाविरुद्ध मन्त्री बनाउने भन्दै आफ्नै सांसदसँग पैसा मागेको आरोप लागेपछि पार्टीले छानबिन गर्ने भनिए पनि छानबिनमा के आयो सार्वजनिक भएको छैन।

१३ मंसिर, २०८०, ०८:४५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।